दिल्लीमा महामारीका कारण अवरूद्ध मेट्रो रेल सेवा सोमबारदेखि सञ्चालन – Nepal Press

दिल्लीमा महामारीका कारण अवरूद्ध मेट्रो रेल सेवा सोमबारदेखि सञ्चालन

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा महामारीका कारण अवरूद्ध शहरी रेल सेवालाई सोमबारदेखि पुनः सञ्चालन गरिएको छ ।

कोरोनाभाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।

कोरोना संक्रमण बढेपछि लगाइएको लकडाउन बिस्तारै खोल्ने क्रममा गत १० मे मा रोक लगाइएको मेट्रो सेवा फेरि शुरु गरिएको हो ।

यद्यपि, अहिले भने ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउन अनुमति दिइएको छ । जोर बिजोर बार पारेर पसलहरु पनि खोल्न दिइएको तर सुरक्षाका उपायहरु भने पालना गर्नुपर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जनाएका छन् ।

दिल्लीमा गत अप्रिलमा दैनिक १० हजार नयाँ संक्रमित फेला परेकोमा आइतबार ३८१ जनामा मात्रै संक्रमण फेला परेको जनाइएको छ ।

विगत २४ घण्टामा भारतभर एक लाख ६३६ जनामा संक्रमण देखिँदा दुई हजार ४२७ जनाको मृत्यु भएको छ ।

भारतमा कुल कोभिड संक्रमितको संख्या अहिलेसम्ममा दुई करोड ८९ लाख पुगेको छ भने तीन लाख ४९ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रबासीको नाममा गरेको सम्बोधनमा भारतमा कुल २३ करोड २७ लाखलाई खोप लगाइसकिएको जानकारी दिएका छन् । उनले यो संख्यालाई आगामी दिनमा थप तीब्रतासाथ वृद्धि गरिने जानकारी पनि दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर