सरकारबाट बाहिरिएपछि पोखरेलले भने- महासचिवको हैसियतमा पार्टी बलियो बनाउन केन्द्रित हुन्छु – Nepal Press

सरकारबाट बाहिरिएपछि पोखरेलले भने- महासचिवको हैसियतमा पार्टी बलियो बनाउन केन्द्रित हुन्छु

काठमाडौं । निवर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू अब एमाले महासचिवका रुपमा पार्टीको काममा केन्द्रित हुने बताएका छन् ।

सरकारबाट बाहिरिएपछि आइतवार वक्तव्य जारी गर्दै पोखरेलले पार्टी कसरी सञ्चालन गर्ने भन्ने बारे आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरिसकेको र अध्यक्षका आशयलाई आफूले बुझ्ने प्रयत्न गर्दै आएको बताएका छन् ।

पोखरेलले तत्कालीन नेकपा एकताप्रति व्यंग्य गर्दै भनेका छन्,  ‘म नेकपा (एमाले) को महाधिवेशनबाट निर्वाचित महासचिव, तर ‘महान र ऐतिहासिक’ भनिएको एमाले-माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिन । तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले-माओवादी पार्टीहरूको पूर्व स्थिति कायम रहन पुगेका कारण म पुन: एमालेको महासचिव रहन पुगेको छु । यो अवस्थामा मैले बुझेको छु, म पार्टीको महासचिव भएर पुन: भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ ।

पोखरेलले अहिले सबैतिर पार्टी छ तर कहिँ पनि पार्टी छैन जस्तो अवस्था रहेको भन्दै यसलाई बदल्नुपर्ने चुनौती रहेको बताएका छन् । पोखरेलले पार्टीभित्रको एकतासमेत अहिले संकटमा रहेकाले यसलाई जोगाउन आफू लाग्ने बताएका छन् ।

पोखरेलले मन्त्री हुँदा आफूले सुबिधाबापत प्राप्त गरेका सबै दायित्वहरु राज्यलाई बुझाइसकेको र मन्त्री क्वार्टर शनिवार नै खाली गरिसकेको बताएका छन् ।

पोखरेलले कोभिड संक्रमितको उपचारका लागि सात महिनाको पारिश्रमिक बराबर ४ लाख ५६ हजार ४ सय रुपैयाँ कोभिड कोषमा बुझाएका छन् । त्यस्तै पार्टीको कोषमा लेवीबापत ६ लाख ५ हजार रुपैयाँ बुझाएको पोखरेलले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर