विश्वकप छनोटः चिलीसँग बराबरीमा रोकियो अर्जेन्टिना – Nepal Press

विश्वकप छनोटः चिलीसँग बराबरीमा रोकियो अर्जेन्टिना

एजेन्सी । फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र चिलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले अर्जेन्टिनालाई छनोट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिने अवसर गुमेको छ ।

नेपाली समयअनुसार आज विहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको पेनाल्टी गोलमार्फत २४ औं मिनेटमा अग्रता बनाएको थियो ।

तर चिलीका सुपरस्टार तथा कुनै समय बार्सिलोनामा मेस्सीका टिममेट रहेका एलेक्सिस सान्चेसले ३६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन ।

छनोट प्रतियोगिताको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले बराबरीपछि ५ खेलबाट ११ अंक पु¥याएको छ । शीर्ष स्थनमा रहेको ब्राजिलको १२ अंक छ भने उसले एक खेल कम खेलेको छ ।

यता चिली भने कठिन स्थितिमा छ । उसले ५ खेलबाट ५ अंक भएको छ । चिली छनोट प्रतियोगिताको छैटौं स्थानमा छ ।

दक्षिण अमेरिकाबाट छनोट प्रतियोगितामा १० देशको प्रतिस्पर्धा छ । राउण्ड रोविन प्रतियोगितामा शीर्ष ४ टोलीले सिधै विश्वकप खेल्नेछ भने पाँचौं स्थानमा रहने टोलीले इन्टरकन्टिनेन्टल प्लेअफ खेल्नेछ ।

यसअघि आज विहान नै भएको अर्को खेलमा उरुग्वे र पाराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । समान ५ खेलबाट ७ अंकसहित पाराग्वे चौथो र उरुग्वे पाँचौं स्थानमा छन् ।

अर्को खेलमा बोलिभियाले भेनेजुएलालाई ३–१ गोलले हराएको छ । छनोट प्रतियोगितामा बोलिभियाको यो पहिलो जित हो । ५ खेलबाट बोलिभियाको ४ र भेनेजुएलाको ३ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर