गत वर्षको तुलनामा ३८ करोडले बढ्यो खेलकुदमा बजेट – Nepal Press

गत वर्षको तुलनामा ३८ करोडले बढ्यो खेलकुदमा बजेट

काठमाडौं । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुदको बजेट ३८ करोडले वृद्धि भएको छ । शनिबार अर्थमन्त्रीले बजेट भाषणमार्फत युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रूपैयाँ विनियोजन गरेको जानकारी दिए ।

यसअघि चालु आर्थिक वर्षमा ४०% प्रतिशतले कटौती भएर २ अर्ब ३६ करोड मात्र बजेट विनियोजन भएको थियो । त्यसअघि घोषित ३ अर्ब ९९ करोड बजेटबाट ४० प्रतिशत कटौती भएको थियो ।

सक्रिय खेल जीवनबाट निवृत भएका खेलाडीलाई सहुलियत कर्जा उपलब्ध गराउने, प्रादेशिक रंगशाला, हाइ अल्टिच्युड स्पोर्ट्स सेन्टर तथा नवौं राष्ट्रिय खेलकुदको आयोजना लगायतका विषयलाई समेटेर उक्त रकम विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

‘झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिने छ,’ उनले भने, ‘मोरङको वैदनाथपुर, काठमाडौंको मूलपानी, दाङको लमही, रूपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।’

आगामी वर्ष पोखरा रंगशाला निर्माण सम्पन्न गरिने जानकरी दिँदै उनले भने, ‘सक्रिय खेल जीवनबाट निवृत खेलाडीलाई व्यवसाय सञ्चालन सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था मिलाएको छु । धनगढी, विरेन्द्रनगर, नेपालगञ्ज, वीरगञ्ज, जनकपुरधाम र इटहरीमा प्रादेशिक रंगशाला निर्माण कार्य अगाडि बढाइने छ ।’

आगामी वर्ष सबै स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिने मन्त्री पौडेलले जानकारी दिए ।

आगामी आर्थिक वर्षमा १६८ स्थानीय तहमा खेलग्रामको निर्माण गर्न रकम छुट्याएको र सोलुखुम्बु, मनाङ मुस्ताङ र जुम्लामा हाइ अल्टिच्युड स्पोर्ट्स सेन्टर निर्माण गर्न आवश्यक रकम व्यवस्थासमेत गरिएको उनले बताए ।

‘आगामी आर्थिक वर्षमा नवौं राष्ट्रिय खेलकुद आयोजना गरिनेछ । अन्तर्राष्ट्रिय स्तरमा पदक हासिल गर्न सम्भाव्य खेल पहिचान गरी प्रोत्साहन गरिनेछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता वृद्धि गरिनेछ । नेपाललाई खेल पर्यटनको उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्न अन्तर्राष्ट्रिय स्तरको खेल विद्यालयको सम्भाव्यता अध्ययन गरिने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *