सभामुखले बोलाएको पूर्वसभामुखको बैठकमा सुवास नेम्वाङ नजाने – Nepal Press

सभामुखले बोलाएको पूर्वसभामुखको बैठकमा सुवास नेम्वाङ नजाने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गर्दै छन् । मंगलबार दिउँसो संसद भवन बानेश्वरमा उनले पूर्वसभामुखहरूसँग छलफल गर्न लागेका हुन्।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले संसद विघटनबारे पूर्वसभामुखहरुसँग छलफल गर्न लागेको जानकारी दिए । ‘अहिले फेरि संसद विघटन भएको छ, यसबारे पूर्वसभामुखको धारणा बुझ्न छलफल गर्न लाग्नु भएको हो,’ उनले नेपाल प्रेससँग भने, ‘संसद विघटन हुँदाका बेला पूर्वसभामुखहरूको अनुभव जान्न पनि हो ।’

सभामुख सापकोटाले संसद विघटन असंवैधानिक भएको भन्दै यसविरुद्ध उभिन अपील गरिसकेका छन् । उनी पहिलो पटक संसद विघटन हुँदा पनि यसविरुद्ध उभिएका थिए।

न्यौपानले सबै पूर्वसभामुखलाई छलफलको लागि निम्ता गरेको जानकारी दिए । सुवास नेम्वाङ, कृष्णबहादुर महरा, ओनसरी घर्ती, रामचन्द्र पौडेल, तारानाथ रानाभाट र दमननाथ ढुंगाना पूर्वसभामुख हुन् ।

नेम्वाङ नजाने सभामुख सापकोटाले बोलाएको बैठकमा पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ भने नजाने भएका छन् । आफ्नो पूर्वनिर्धारित कार्यक्रम रहेकाले आउन नसक्ने जानकारी गराएको नेम्वाङले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘व्यक्तिगत रूपमा तपाईं र म अलग्गै छलफल गरौंला केही समस्या छैन । आज मेरो पूर्वनिर्धारित कार्यक्रम भएकाले आउन सक्दिन भनेको छु । कुरा बुझिहाल्नु हुन्छ नि उहाँ जस्तो मान्छेले ।’

पछिल्लो समय सभामुखले सरकारविरुद्ध मुद्दा मामिला गरेर हिँडेको र पार्टीको झण्डा बोक्न थालेको भन्दै नेम्वाङ असन्तुष्ट बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर