लुम्बिनीले कोरोना अस्पताललाई पठाउने भयो थप ७ करोड बजेट – Nepal Press

लुम्बिनीले कोरोना अस्पताललाई पठाउने भयो थप ७ करोड बजेट

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेका कार्यालयहरुलाई दोस्रो लहरको कोरोना नियन्त्रण तथा रोकथाम गर्नका लागि थप ७ करोड ७४ लाख बजेट पठाउने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष समितिको केही दिनअघि बसेको बैठकले बजेटको सुनिश्चिता गर्दै बजेट छुट्टयाएको थियो । निर्णयसँगै बजेट निकासाको प्रक्रिया शुरु गरिएको प्रादेशिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिएका छन् ।

उक्त बजेट प्रदेश आपूर्ति केन्द्र, कोरोना अस्पताल, आयुर्वेद चिकित्सालय, जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य कार्यालयहरुलाई कोरोना रोकथाम र नियन्त्रणका लागि पठाइएको हो ।

मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार बैठकले प्रदेश आपूर्ति केन्द्र, बुटवलका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उक्त बजेटबाट केन्द्रले अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्टर किट्स्, पिपिई र कोभिड १९ परीक्षणका लागि आर एन ए एक्सटक्सन किट्स, रिएजेन्टस, केमीकल लगायतका सामग्री खरिद गर्न सक्नेछ ।

त्यसैगरी बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवाका लागि कोभिड १९ परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट कन्ज्युमेबल्सका लागि २० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

प्राविधिक कार्यदलको सिफारिस अनुसार लुम्बिनी प्रदेशमा रहेका तराईका ३ अस्पतालहरु पृथ्वीचन्द्र अस्पताल, परासी, बर्दिया अस्पताल, गुलरिया र कपिलवस्तु अस्पताल, तौलिहवालाई १५ लाखका दरले ४५ लाख बजेट उपलब्ध गराउने निर्णय भएको छ ।

त्यसैगरी बैठकमा पहाडका ७ अस्पतालहरु पाल्पा अस्पताल, तानसेन, रामपुर अस्पताल, रामपुर, गुल्मी अस्पताल, तम्घास, अर्घाखाँची अस्पपताल, सन्धिखर्क, प्यूठान अस्पताल, बिजुवार, रोल्पा अस्पताल रेउघा र रुकुमपूर्व अस्पताल, सिस्नेलाई १० लाखका दरले ७० लाख बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यसैगरी संक्रमितहरुको परिक्षण एवं पहिचान गर्न, समुदायमा थप संक्रमण फैलन नदिनका लागि जनस्वास्थ्य अभियान संचालन गर्न प्रदेशमा रहेका १२ वटा स्वास्थ्य कार्यालयहरुलाई ५ लाखका दरले ६० लाख उपलब्ध गराएको छ ।

प्रदेशमा रहेको ९ वटा आयुर्वेदहरुलाई एक लाखका दरले ९ लाख र लुम्बिनी आयुवेद चिकित्सालय र प्रदेश आयुर्वेद चिकित्सालय, बिजौरीलाई २ लाख ५० हजारका दरले ५ लाख गरी जम्मा १४ लाख उपलब्ध गराउने निर्णय भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियु भवनको लिफ्ट र जेनरेटर खरिदका लागि ५० लाख र भीम अस्पताल भैरहवामा आइसोलेसन अस्पताल संचालन तथा व्यवस्थापनका लागि १५ लाख बजेट उपलब्ध गराउने निर्णय भएको छ ।

संघीय सरकारले पनि केही दिन अगाडि लुम्बिनीमा रहेका विभिन्न अस्पतालमा अक्सिजन प्लान्ट राख्नका लागि बजेट व्यवस्थापन गरिसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर