आइसोलेसनबाट हात झिक्दै होटल, क्वारेन्टाइन यथावत् – Nepal Press

आइसोलेसनबाट हात झिक्दै होटल, क्वारेन्टाइन यथावत्

काठमाडौं । होटललाई आइसोलेसन बनाएर कोरोना संक्रमित राखिरहेको ‘एल्लो प्यागोडा’ ले अब कोभिड बिरामीलाई नराख्ने बताएको छ । होटलका म्यानेजर कृपेश महर्जनका अनुसार आधारभूत मापदण्ड लागू गर्न नसकेकोले होटलबाट आइसोलेसन हटाउन लागिएको हो ।

मेडिकल टिमसहित सो होटलले केही समयअघि आइसोलेसन बनाएको थियो । तर, अहिले कोभिड पोजेटिभ देखिएका बिरामीलाई तत्काल अक्सिजन चाहिन सक्ने कुरालाई मध्यनजर गर्दै होटलले आइसोलेसन बन्द गरेको हो । महर्जनका अनुसार अहिले एल्लो प्यागोडामा १९ जना आइसोलेसनमा थिए । तीमध्ये ७ जनालाई विभिन्न अस्पताल पठाइएको हो । बाँकीलाई पनि अस्पताल पठाउने तयारी भइरहेको छ ।

संक्रमितको व्यवस्थापन गर्दै आएपनि सरकारले कुनै सहयोग नगरेको होटलको गुनासो छ । होटेलले सिंगल बेडमा बस्नेलाई खानासहित ७ हजार र डबल बेडमा दैनिक पाँच हजार लिँदै आएको थियो ।

‘हामीले आइसोलेसनमा बस्नेसँग लिएको पैसा निकै कम हो । जसमा खाना बस्नका साथै मेडिकल टिम पनि स्ट्याण्डबाई थियो । तर, होटलले मात्र यो सबै कुरा गर्न सम्भव भएन,’ महर्जनले भने ।

आइसोलेसनमा कोभिड विरामी नराखे पनि होटलमा ‘क्वारेन्टाइन’ यथावत राखेको उनले जानकारी दिए । यहाँ गत वर्ष पनि वीर अस्पताल र ट्रमा सेन्टरका डाक्टर र नर्स बस्न न्यूनतम शुल्कमा चार महिना ‘क्वारेन्टाइन’ राखिएको थियो ।

केही सयमअघि स्वास्थ्य मन्त्रालयबाट आइसोलेसनका लागि आधिकारिक मान्यता प्राप्त गरेको ठमेलको टिम्बर हाउस होटलले आइसोलेशनमा मानिस राख्न नपाउँदै हात झिक्ने संकेत गरेको छ । असहज परिस्थितिका कारण आइसोलेसन हटाउने बारेमा सोचिरहेको एक संचालकले बताए ।

रवी भवनस्थित होटल क्राउन इम्पेरियलले पनि कोरोनाको पहिलो लहरमा नै होटललाई आइसोलेसन बनाएको थियो । तर, आइसोलेसनमा आफूले सोचे अनुरुपको रुम अकुपाई नभएपछि दोस्रो लहर आएसँगै आइसोलेसन हटाइएको होटलकी फ्रन्ट डेस्क कर्मचारी नेहा भगतले जानकारी दिइन ।

क्वारेन्टाइन यथावत

केही होटलले अहिले पनि ‘क्वारेन्टाइन’ लाई यथावत नै राखेका छन् । काठमाडौंस्थित हिमालयन स्वीट होटलले अझै पनि भारतीय नागरिकलाई ‘क्वारेन्टाइन’ मै राखेको छ । अहिले त्यहाँ ३५ भारतीय छन् । होटलका अनुसार नेपालमा निषेधाज्ञा शुरू हुनुअघि भारतबाट साउदी अरब जानका लागि धेरै नै भारतीय नागरिक होटल आएका थिए । तर, तीमध्ये केही अन्य मुलुक गएका छन् भने केही अरब जाने फ्लाइट क्यान्सिल भएसँगै होटलमा नै छन् ।

ठमेल होटलमा पनि केही ग्राहक ‘क्वारेन्टाइन’ मा बसेका छन् । साँग्रिलाले पनि क्वारेन्टाइन यथावत राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर