५ दिनअघि शून्य, अहिले भरिभराउ संक्रमित ! (भिडियाेसहित) – Nepal Press
स्थलगत रिपोर्ट :

५ दिनअघि शून्य, अहिले भरिभराउ संक्रमित ! (भिडियाेसहित)

अस्पतालमा भर्ना भएका ९५ प्रतिशतको अवस्था गम्भीर

पोखरा । बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रांगनमा बनाइएको ‘कोभिड आइसोलेनस’ पुग्दा संक्रमितले बेड भरिभराउ थियो । संक्रमितका आफन्तहरु आइसोलेसनबाहिरै लहरै सुतिरहेका थिए भने भित्र पिपिई लगाएका स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमै व्यस्त देखिन्थे ।

आइसोलेसन वार्डभन्दा केही अगाडि अक्सिजन ‘फ्लो’ गर्ने छुट्टै कोठा बनाइएको थियो । त्यहींबाट अक्सिजन गम्भीर भित्र बेडमा उपचाररत बिरामीलाई दिइएको थियो । जम्मा ५० बेड क्षमताको वार्ड बुधबारसम्म भरिइसकेको छ । तर, ५ दिन अगाडिसम्म आइसोलेसन वार्डको अवस्था यस्तो थिएन ।

कोरोना महामारीको पहिलो चरणमा मध्य भागतिर बनेको उक्त आइसोलेसन वार्ड खाली थियो । स्वास्थ्यकर्मीका दौद्द थिएन । भेटिएका केही संक्रमित पोखरा लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल पुग्थे । किनकी प्रदेश सरकारले कोभिड बिरामीकोमात्रै उपचार गर्न तोकेको एकमात्र अस्पताल हो, त्यो । तत्कालीन सामुदायिक लायन्स अस्पताललाई गत असारमा प्रदेश सरकारले आफ्नो मातहतमा ल्याउँदै कोभिड अस्पताल बनाएको थियो ।

कोभिड अस्पतालमा बिरामीको चाप बढेर थेग्नै नसक्ने भएपछि नयाँ संक्रमितहरु पश्चिमाञ्चल स्वास्थ्य क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा आउन थालेका हुन् । त्यहाँ बिरामीको उपचार गर्न थालेको जम्मा ५ दिन भएको छ । तर, ५ दिनको अवधिमै अहिले त्यहाँ संक्रमितले बेड भरिभराउ भइसकेका छन् । फेरि गम्भीर प्रकृतिका कोरोना संक्रमित थपिए के गर्ने ? त्यहाँ कार्यरत स्वास्थ्यकर्मी नै अन्यौलमा छन् ।

आइसोलेसन वार्ड परिसरमा भेटिए, अस्पतालका मेडिकल अधिकृत डा. शरदचन्द्र बराल । उनैले ‘ब्रिफ्रिङ’ दिए, आइसोलेसनमा कोभिड बिरामीको ५ दिनअघिको अवस्था र आजको अवस्था । यही रफ्तारमा कोरोना संक्रमितको संख्या थपिँदै गए प्रदेशले २ दिन पनि धान्न नसक्ने उनले चेतावानी दिए ।

‘५ दिनअघि २ जना बिरामीबाट यहाँ कोभिड उपचार सुरु गरेका थियौं । ती २ जना बिरामी संक्रामक रोग अस्पतालबाट क्रिटिकल अवस्थामा यहाँ आइपुग्नु भाको थ्यो,’ डा बराल जम्मा ५ दिनअघिको समयमा पुग्छन्, ‘उहाँहरुलाई अहिले आइसियूमा राखेर उपचार गरिरहेका छौं । हिजोमात्रै दोस्रो पिसिआर परीक्षणका लागि पठाएका छौं । रिजल्ट आएको छैन ।’

पोखरा क्षेत्रीय अस्पताल प्रमुख डा अर्जन आचार्यका अनुसार अहिले त्यहाँ त्यहाँ ४८ जना कोभिडका बिरामी उपचाररत छन् । जसमध्ये ९५ प्रतिशतभन्दा बढी बिरामीको अवस्था गम्भीर छ । र, उनीहरुलाई अक्सिजनको दिएर उपचार गरिँदैछ । जबकी १९ गतेमात्रै त्यहाँ जम्मा २७ जना बिरामी उपचाररत थिए ।

गण्डकीमा बैशाख यताको तथ्यांकमात्रै नियाल्ने हो भने पनि डरलाग्दो छ । पछिल्ला २२ दिनमा प्रदेशभर कोरोनाबाट ३४ जनाको मृत्यु भइसकेको छ । यसबीचमा कोरोना संक्रमित हुनेका संख्या करिब ४ हजारले बढिसकेको छ ।

बुधबारसम्म प्रदेशका कोरोना संक्रमितको संख्या २० हजार नाघिसकेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार बुधबारसम्म कोरोना संक्रमितको संख्या २० हजार २८४ जना छ । बुधबारमात्रै स्याङजा र पर्वतका २ जना संक्रमितले ज्यान गुमाए ।

अघिल्लो चरणको महामारीमा दीर्घ रोगीहरु बढी प्रभावित भएपनि दोसो लहरमा भने युवाहरुकै संख्या भएको मेडिकल डा. शरदचन्द्र बराल बताउँछन् । ‘अहिले दीर्घरोगीमात्रै होइन । सायद उहाँहरुले खोप लगाएको भएर पनि होला !’ भन्छन्, ‘दीर्घ रोग नभएका २० देखि ४० वर्षभित्रका पनि धेरै प्रभावित हुनुहुन्छ ।’

डा. बरालले पहिलेको अहिलेको केभिड प्रकृतिमा धेरै फरक देखिएकाले पनि त्यसले ठूलो असर गरिरहेको बताए । ‘पहिलेको र अहिलेको रोगको प्रकृति एकदमै फरक छ । मैले सामान्य किसिमका बिरामीहरु आउनुहुन्थ्यो । कममात्रामा अक्सिजन लगाउनुपर्ने अवस्था थियो,’ डा बराल भन्छन्, ‘अहिले यहाँ हामीले भर्ना गरेका बिरामीमध्ये ९५ प्रतिशत बिरामी अक्सिजनमै हुनुहुन्छ । यहाँले अनुमान गर्न सक्नुहुन्छ कति भयावह स्थिति छ ।’

दैनिक ठूलो मात्रामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा पछिल्लो समय देशका धेरै ठाउँमा बेड नपाउने अवस्था आइसकेपछि तनहुँ, बुटवल, दाङ लगायत जिल्लाबाट पनि उपचारका लागि पोखरा आउन थालेका छन् । डा. बरालले पोखराका बेड पनि पूर्ण मात्रामा भरिइसकेकाले पोखराका उपचारका लागि आउँदा सम्पर्क गरेर अवस्था बुझेरमात्र आउन आग्रह गरे ।

आइसोलेसन वार्ड प्रांगनमा कुरागर्दै डा बरालले कतै फोन घुमाए । बुझियो – अस्पतालमा आवश्यक अक्सिजन सकिनै लागेको रहेछ । र, उनी त्यसैको फलोअपमा रहेछन् । उनका अनुसार आइसोलेसन वार्डमा दैनिक ६० सिलिन्डर अक्सिजन खपत भइरहेको छ । अस्पतालले पोखरा अक्सिजन ग्यास सप्लाई सेन्टरबाट अक्सिजन परिपूर्ति गरिरहेको छ ।

दिनानुदिन कोरोना महामारी बढ्दै गएको अवस्थामा अक्सिजन पनि एकदमै आवश्यक पर्ने डा बराल बताउँछन् । उनी संक्रमितको संख्या अझै बढ्ने र भयावह स्थिति आउन सक्ने भन्दै सरकारलाई छिटोभन्दा छिटो आइसोलेसन कक्षहरु विस्तार र बेडहरु बढाउन सुझाव दिए ।
मानव संसाधनकोे कमीले एकै ठाउँमा सामान्य विरामी र कोभिड बिरामीको उपचार गरिरहनुपरेको यथार्थ डा बरालले सुनाए ।

‘हामीलाई चुनौती पनि छ । एकातिर कोभिड बिरामीको पनि उपचार, नियमित उपचार सेवा गरिराख्नु पर्छ । थोरै मानव संसाधनले सबैतिर भ्याउनु परिरहेको छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर