मन्त्री बनेपछि दंग दीपक मनाङेले भने- भिजन अलमोस्ट रेडी छ, आज खोल्दिँन (भिडियो) – Nepal Press

मन्त्री बनेपछि दंग दीपक मनाङेले भने- भिजन अलमोस्ट रेडी छ, आज खोल्दिँन (भिडियो)

पोखरा । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएपछि स्वतन्त्र सांसद दीपक मनाङे दंग देखिएका छन् । मन्त्रीको सपथग्रहणअघि पत्रकारसँग केहीबेर गफिँदा उनी प्रफुल्लित मुद्रामा थिए ।

निलो कोट, दौरा सुरुवाल र कालो फ्रेमको चश्मामा ठाँटिएका मनाङेलाई झट्ट हेर्दा ‘पूर्व गुण्डानाइके’ हुन् भन्ने झल्को आँदैनथ्यो । उनले गफ पनि ठूलै गरे । आफूसँग मन्त्रालय हाँक्ने ‘विजनेस प्लान’भएको भन्दै त्यो अनुसार काम भएमा युवाहरू विदेश जानु नपर्ने मनाङेले दावी गरे ।

आफूसँग भएको भिजन चाहिँ उनले खोल्न मानेनन् । त्यो भोली सुनाउने उनले बताए ।

पत्रकारसँग मनाङेको संक्षिप्त प्रश्नोत्तर यस्तो थियो

‘तपाईंले युवा तथा खेलकुद मन्त्रालय नै किन रोज्नुभएको हो ?’

मनाङेले जवाफ दिए, ‘पहिलेदेखि गरिराख्या भयो नि त । सजिलो हुन्छ क्या । अहिले अर्थमा गएर के गर्ने ? चारजना पीएचडी डाक्टर खोज्नुपरो । युवा तथा खेलकुदमा पहिलेदेखि नै हामीले रोजगार दिइराख्या कुरा भो । विजनेस प्लानहरू पनि छँदैछ । स्पोर्टस लागि हामीसँग टिम पनि राम्रो छ ।’

भनेपछि तपाईंसँग भिजन पनि छ ?

अँ, भिजन अलमोस्ट रेडी नै । किनभने धेरै कुरा छैन गर्नुपर्ने ।

के-के छन् तपाईंका भिजन भन्दिनुस् न ?

अहँ, अहिले भन्दिनँ । भोलि सबैलाई एक-एक कपि दिन्छु । त्यसमा चैं ५-६ किसिमका कुरा छन् । हाम्रो सरकारले युथहरूलाई सपोर्ट गर्नुपर्छ । त्यो भयो भने मान्छे विदेश जानु खासै पर्दैन क्या ।

त्यसो भए तपाईंको पहिलेदेखिकै तयारी थियो ?

यो त मेरो पहिलेदेखिको विजनेस हो नि त ।

मन्त्री तपाईंले माग्नुभएको कि मुख्यमन्त्रीले अफर गर्नुभएको ?

काम गर्ने वातावरण मिल्यो भने गरौं भन्नुभयो । मैले हुन्छ दाइ भनेँ । मुख्यमन्त्रीज्यूले दौरा सुरुवाल किन्न जाउ भन्नुभाथ्यो, गएँ ।

कस्तो अनुभव भइरहेको छ त मन्त्री बन्दा ?

मलाई त निद्रा लागिरा’छ । सुत्न पाएको छैन क्या ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर