पेट्रोल पम्पमा सेवाग्राहीको भिडभाड, आयल निगम भन्छः आपूर्तिमा कुनै समस्या छैन् – Nepal Press

पेट्रोल पम्पमा सेवाग्राहीको भिडभाड, आयल निगम भन्छः आपूर्तिमा कुनै समस्या छैन्

काठमाडौं । काठमाडौं उपत्यकामा बिहिबारदेखि निषेधाज्ञा जारी भएपछि पेट्रोल पम्पमा पेट्रोल र डिजेलका लागि लाइन लागेको छ । पेट्रोल पम्पमा सेवाग्राहीको भिड लागेपछि निषेधाज्ञाको समयमा पेट्रोलियम पर्दाथ आपूर्तिमा समस्या हुने हल्ला चलिरहेका बेला नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थ आपूर्तिमा कुनै समस्या नहुने दावी गरेको छ ।

निगमका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र कुमार पौडेलले पेट्रोलीयम पदार्थ आपूर्तिमा कुनै पनि समस्या नहुने नेपाल प्रेसलाई जानकारी दिएका छन् । उनले भने, निषेधाज्ञा भयो भनेर सेवाग्राहीले जम्मा गरेर राख्नका लागि पनि लाइनमा बसेका हुनसक्छन् र केहि समस्या हुन्छ कि भनेर भिड लागेको पनि हुनसक्छ । तर त्यस्तो केहि पनि हुदैँन । पेट्रोलियम पदार्थ आपूर्तिमा कुनै समस्या छैन ।’

आपूर्तिमा मात्र  नभई निगमसँग पर्याप्त पेट्रोलीयम पदार्थ माैज्दात रहेकाले पनि कुनै समस्या नहुने पौडेललकाे भनाइ छ ।

आजै निगमले एक विज्ञप्ती जारी गरेर पनि पेट्रोलियम पदार्थको सहज र सरल ढंगबाट आपूर्ति तथा विक्री वितरण्को व्यवस्था मिलाउनका लागि निगमको बागमती प्रादेशिक कार्यालय, थानकोट खुल्ला नै रहने पनि जानकारी गराएको छ ।

‘निषेधाज्ञाको समयमा समेत पेट्रोलियम पदार्थ सहज र सरल रुपमा विक्री वितरण गर्न निगमका तिने जिल्लामा रहेका आधिकारिक विक्रेता पनिखुल्ला नै रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।’ निगमका प्रवक्ता विनित मणि उपाध्यायले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *