माधव पक्षधर तीन नेता एमाले बैठकमा सहभागी, फर्केर आउनेलाई उपयुक्त जिम्मेवारी दिइने – Nepal Press

माधव पक्षधर तीन नेता एमाले बैठकमा सहभागी, फर्केर आउनेलाई उपयुक्त जिम्मेवारी दिइने

नेकपा विवादको बेला ओली पक्षले बनाएका सबै कमिटी र नेतृत्व एमालेमा यथावत रहने

काठमाडौं । नेकपा एमालेले गत पुसमा नेकपा विभाजनपछि बनेका कमिटी र नेताहरूलाई एमालेको कमिटीकै रुपमा यथावत राख्ने भएको छ ।

महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा पेस गरेको संगठनात्मक प्रस्तावमा ती कमिटीहरुलाई आम रुपमा यथावत राखिने उल्लेख छ ।

नेकपाको विवादका बेला प्रचण्ड-माधव पक्षमा लागेका नेता कार्यकर्तालाई एमालेको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र उनीहरूलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने संगठनात्मक प्रस्तावमा उल्लेख छ ।

प्रस्तावमा भनिएको छ, ‘पार्टीभित्रको अन्तरविरोध कटुतापूर्ण बन्दै जानेक्रममा गठन गरिएका संगठनात्मक संरचना र तिनको नेतृत्वलाई आम रुपमा यथावत राख्ने । ती कमिटीका अन्तरविरोधको पल्लो किनारामा उभिएका कमरेडहरुलाई पार्टीको मूल प्रवाहमा फर्काउन अधिकतम पहल गर्ने र त्यसरी फर्किने कमरेडहरुलाई आवश्यकता र योग्यता अनुरुप उपयुक्त जिम्मेवारी दिने ।’

सोमवारको बैठकमा यसअघि माधव नेपाल पक्षमा रहदै आएका केन्द्रीय सदस्यहरू विष्णु रिजाल, तिलकुमार मेन्याङ्बो र सोम मिश्र सहभागी भएका छन् । यसअघि नै नेपाल पक्षधर नेताहरु लालबाबु पण्डित, शेरबहादुर तामाङ, कृष्णभक्त पोखरेललगायत संस्थापन पक्षमा लागिसकेका छन् ।

एमाले बैठकमा असारभित्र पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने कार्ययोजना महासचिव पोखरेलले पेस गरेका छन् । नेकपाबाट माओवादी नभई एमाले बनेका तत्कालीन माओवादी सदस्यहरू पनि अब एमालेको सदस्य स्वतः हुने भएका छन् ।

जेठ मसान्तभित्र प्रदेश कमिटी, जिल्ला र स्थानीय तहका सबै कमिटीहरुको पुनर्गठन गरी अधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने र जनवर्गीय संगठनहरूको पनि पुनर्गठन गर्ने योजना पेस भएको छ ।


प्रतिक्रिया

One thought on “माधव पक्षधर तीन नेता एमाले बैठकमा सहभागी, फर्केर आउनेलाई उपयुक्त जिम्मेवारी दिइने

  1. पार्टी फुटहुनबाट बचाउनु आज सबै पार्टी नेता तथा कार्यकर्ताको अहम जिम्मेवारी हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर