ओलीको सन्देश- समानान्तर गतिविधि गरिए माधव नेपालमाथि कारबाही (भिडियो रिपोर्ट) – Nepal Press

ओलीको सन्देश- समानान्तर गतिविधि गरिए माधव नेपालमाथि कारबाही (भिडियो रिपोर्ट)

प्रचण्डसँग मिलेर आफूमाथि चलाइएको बहुमतको डण्डा ओलीले फर्काउलान् ?

काठमाडौं । प्रतिनिधिसभा विघटनका एक दिनअघि प्रधानमन्त्री तथा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली अचानक प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनले अन्तिमपटक प्रचण्डलाई आफूमाथिको अभियोगपत्र फिर्ता लिए पार्टी एकता जोगिने बताए ।

वामदेव गौतम साक्षी रहेको सो भेटमा ओलीले प्रचण्डले आफ्नो आग्रह नमाने अर्को स्टेप चाल्न बाध्य हुने संकेत पनि दिएका थिए । ओलीले आफूले प्रधानमन्त्री छाड्ने र वामदेवलाई बनाउने सार्वजनिक प्रतिबद्धता जनाउने भन्दापनि प्रचण्डले अहिल्यै राजीनामा चाहिन्छ र बहुमतले कारबाही गर्छ भनेपछि ओली खुमलटारबाट बाहिरिएका थिए ।

त्यसको भोलिपल्ट पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरे । प्रचण्ड हस्याङ्-फस्याङ् गर्दै बालुवाटार पुगेर यो रोक्नुस्, सहमति गरौं भन्दै थिए । तर, ओलीले आफूविरुद्ध अविश्वास प्रस्ताव तयार भइसकेको थाहा पाएकाले प्रचण्डले भनेको मानेनन् र नेकपा पनि फुट्यो ।

ओलीले पार्टी जोगाउन र प्रतिनिधिसभा विघटन नगर्न आफूले अन्तिमपटक प्रयास गरेको र खुमलटारमै पुगेर आग्रह गर्दा प्रचण्डले नमानेपछि अरु विकल्प नभएको कुरा बताउँदै आएका छन् । अब नेकपा नै नरहेपछि त्यो प्रसंग टुंगिएको छ ।

लगभग त्यस्तै प्रकृतिको दृष्य सोमवार धुम्बाराहीमा देखियो । बिहान अचानक एमालेका दुवै पक्षबीच धुम्बाराहीमा वार्ता हुने खबर आयो । ओली आफैं बालुवाटारबाट निस्केर पार्टी कार्यालय पुगे । माधव नेपाललाई आफूसँगै ससम्मान राखेर वार्ता पनि गरे तर असहमतिको वार्ता ।

दुई घण्टा १० मिनेटको वार्तापछि दुवै पक्षका अभिव्यक्तिहरू सुन्दा कतै एमाले मिलाउन ओलीले सोमवार अन्तिम प्रयास गरेका त होइनन् ? यो प्रश्नसमेत उठेको छ । ओलीले मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा दिएका अभिव्यक्तिले माधव नेपाल पक्षले राष्ट्रिय भेलामार्फत समानान्तर गतिविधि चलाएमा हिजो ओलीमाथि चलाइएको बहुमतको डण्डा आज तीनै नेताहरूमाथि फर्किने संकेत देखिएको छ ।

ओलीले प्रष्टरूपमा भनेका छन्- ‘जंगलको राज चलाउने अनि विधि पद्धतिका कुरा गर्ने ? लोकतान्त्रिक मुल्य मान्यता, पद्धति, विधि, नियम, कानुन, देशको संविधान केहीको पनि कुनै मतलब छैन । अंहकार स्वेच्छाचारिता । अब पार्टी २०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिसहरू छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन् । निहुँ खोजिरहेका छन् । ७ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । उहाँहरू भोलि राष्ट्रिय भेला बोलाउने राष्ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने अरे । राष्ट्रिय भेलाबाट के-के समानान्तर कमिटी बनाउने अरे । समानान्तर होइन अर्को कमिटी बन्ला । कसैले पनि अर्को कमिटी बनाउँछ कि पार्टी बनाउँछ कि त्यो त के गर्न सकिन्छ ? तर, यो एउटै पार्टीमा बसेर यस पार्टीमा अब उप्रान्त अराजकता , अनुसासनहिनता, उछृंखलता जस्ता कुराहरू , विधि विधानविपरीतका कामकारबाहीहरू, पार्टीको एकताविरोधी क्रियाकलापहरूमा छुट हुनेछैन । ती कुराहरू मान्य हुन सक्तैन । त्यस्ता कुराहरूलाई हामी सहेर बसिरहन सक्दैन । पार्टीलाई पार्टीको रूपमा चल्न नदिने । भाँडभैलो मच्चाउने । जहिले पनि भाँडभैलो मच्चाउने कुरा चाँही हुन सक्तैन ।’

ओलीले चियापान बहिष्कार गर्नेहरूप्रति कटाक्ष गरे । उनले भोलिको राष्ट्रिय भेलामा को-को जान्छन् नजर लाइनेछ भनेर कारबाहीको चेतावनी दिएका छन् ।

ओलीले भनेका छन्, ‘एकथरि अनुहारका साथीहरू चियापानमा देखिनुभएन । हिजो बेलुका मैले सुनेँ बैठक बसेर निर्णय गर्नुभयो अरे । पार्टीको चियापानमा नजाने । कसका चियापानमा पाए जानुहुन्छ ? पार्टी अध्यक्षको प्रधानमन्त्रीको निमन्त्रणामा नजाने कसको निम्ता पाए जानुहुन्छ ? हुन त सबैलाई थाहा छ तर नभनौ । थाहा त छ नि सबैलाई कसको निम्ता पाए जानुहुन्छ भनेर ? एकथरि अनुहारहरू देखिएन आज । राम्रो लक्षण होइन । कुनै कारणवस आउन भ्याउनुभएन होला भन्ने म ठान्छु । उहाँहरूले त्यस्तो निर्णय गर्नुभयो भन्ने होइन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ । भोलीको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरू र कति तमासा गर्नुहुन्छ । एक नजर चाँही त्यता राखेको छु । पार्टीलाई धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने सोच्या छ भने त्यस्तो होइन । पार्टी विधि विधान र तरिका अनुसार चल्छ । नचाहिने कुराको अगाडि लत्रिने कुरा छैन । सत्यसंग नलड्ने निहुँ खोजुवाहरूसंग नझुक्ने । हाम्रो नीति त्यही हो ।’

प्रधानमन्त्री ओली सभामुखप्रति पनि असन्तुष्ट देखिएको छ । आफूले जुन कारणले प्रतिनिधिसभा विघटन गरेको हो, त्यसको औचित्य पुष्टि हुने चरण शुरू भएको ओलीले बताए । मुद्दा लडेर प्राप्त गरेको प्रतिनिधिसभा बैठक झगडियाहरूले नै सञ्चालन गर्न नदिएबाट आफूले प्रतिनिधिसभा विघटन गर्नुको औचित्य पुष्टी हुँदै गएको ओलीले बताए ।

ओलीले भने, ‘अधिवेशन प्रारम्भ भएको पहिलो दिनको बैठकमा नै अध्यादेश प्रस्तुत गर्नुपर्छ । संविधान अनुसार । त्यो सरकारलाई प्रस्तुत गर्न दिइएन । अथवा संविधान कार्यान्वयन गर्न दिइएन । संविधान कार्यान्वयन गर्न व्यवधान खडा गरियो । कार्यसूची बदलेर सभामुखजीले मन्त्रीजी एकछिन पख्नुहोस् भनेर रोकेर पछि एकछिन स्थगित भनेर , फेरि एकछिन पछि अर्को दिनलाई सर्‍यो भनेर संविधानले संविधानले पहिलो दिन नै पेश गर्नुपर्ने संबैधानिक दायित्व पनि सरकारले पुरा गर्न पाएन । त्यो जिम्मेवारीबाट सरकारलाई व्यवहान खडा गरेर बञ्चित गरियो । संविधानको कार्यान्वनयप्रति सभामुखको जुन प्रतिवद्धता हुन पथ्र्यो । संविधान कार्यान्वयन प्रति उहाँको जुन कर्तव्य थियो त्यसभन्दा पर भिन्न प्रकारका सहमति, भिन्न प्रकारका सेटिङ्गबाट संविधानको कार्यान्वन हुन नदिनु, अझ एसिड आक्रमणका विरुद्ध, त्यो पर्खिरहन नहुने, कडा कानून ल्याउनुपर्ने पीडीतहरूको माग , सम्पूर्ण महिला समुदायको माग अनुसार कडा कानून ल्याउनुपर्ने माग र संसदबाट कानून ल्याएर प्रक्रियाबाट जाँदाखेरी ‘तुरुन्तै गर्नुपर्ने कुरालाई ध्यानमा राखेर अध्यादेश ल्याइएको थियो । त्यो पेश गर्न दिइएन भनेपछि संसदलाई कति कामकाजी कति प्रभावकारी बनाउन खोजिएको रहेछ भन्ने त्यसबाट स्पष्ट हुन्छ । संसदलाई निष्प्रभावी बनाउने चेष्टा भईरहेको छ ।

ओलीले माधव नेपाल पक्षप्रति नरम हुन नसकिने संकेत बुधबारबाट गरेका छन् । ठाउँ पाउँदा आफूलाई सिध्याउन कुनै कसर बाँकी नराखेको र अध्यक्ष तथा महासचिवलाई बाटोबाटै निष्कासन गरिएको प्रसंगसमेत उनले उठाएका छन् ।

ओलीले भने, ‘एकढंगले पार्टी फुटाईएको थियो । अध्यक्ष निष्कासन गरिएको थियो । महासचिव निष्कासन गरिएको थियो । संसदीय दलको नेताबाट हटाइएको थियो । कहाँबाट हटाएको हो ? बाटाबाट हटाएको । उहाँहरू पद्धति, विधि अनुसार चल्ने मान्छे भएको हुनाले बाटैमा विधि पुर्‍याइदिनुहुन्छ । बाटैमा पद्धति पुर्‍याइदिनुहुन्छ । बाटैमा विधान पुराईदिनुहुन्छ । बाटैबाटैबाट अध्यक्ष हटाइदिनुभयो । बाटबाटैबाट दलको नेता हटाइदिनुभयो । बाटैबाटैबाट दलको उपनेता हटाइदिनुभयो । बाटैबाटैबाट अनेक आदेश फरमानहरू ……म त कति विचरा भएको हुँला हेर्नुहोस् त ? म त साधारण सदस्यताबाट पनि निष्कासित । तपाईंहरू त कमसेकम पार्टी सदस्य त हुनुहुन्छ होला । म त साधारण सदस्यताबाट पनि निष्कासित । बाटैबाटैको विधि पद्धति अनुसार । ”

आज नेकपा एमालेको केन्द्रीय कमिटीमा ओलीको बहुमत छ । संसदीय दलमा दुई तिहाई बहुमत छ । हिजो नेकपामा ओली सबै कमिटीमा अल्पमतमा थिए । माधव नेपाल पक्षले राखेका कुनैपनि शर्त ओलीले नमान्ने संकेत गरिसकेका छन् । यसले गर्दा ओली र माधव नेपाल पक्ष तीन महिनाको बीचमा दोस्रोपटक फुट्ने संकेत देखिन थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर