तुलसीपुरमा ड्रोनबाट नक्साङ्कन हुने – Nepal Press

तुलसीपुरमा ड्रोनबाट नक्साङ्कन हुने

रुपन्देही । दाङको तुलसीपुर उपमहानगरपालिकाले ड्रोन क्यामेराबाट भूमि नक्साङ्कन गर्ने भएको छ । सुकुम्बासी, दलित भूमीहिन तथा अब्यवस्थित बसोबासीहरुको लागि लगत संकलन कार्य सम्पन्न भइसकेको र अब नक्साङ्न गर्नको लागि ड्रोन क्यामेरा प्रयोग गरेर उपमहानगरपालिका भित्रका १९ वटै वडामा सर्वेक्षण गर्ने भएको छ ।

उपमहानगरका प्रमुख घनश्याम पाण्डेले ड्रोनबाट नक्सा सर्वेक्षण गरिने बताए । उनले उपमहानगरपालिकाको सम्रग भूमी व्यवस्थापन र योजनाको अनुगमन कार्यलाई छिटो छरितो बनाउन ड्रोनको सेवाले थप मद्दत गर्ने समेत उल्लेख गरे । प्रमुख पाण्डेले ड्रोन क्यामेराको माध्यमबाट भू–सूचना प्रणालीलाई व्यवस्थित गर्ने कामलाई सहज हुने दावी गरे ।

‘अहिले भूमीहीन सुकुम्बासी र अव्यवस्थित रुपमा बसोबासीहरुको लगत संकलन गर्ने काम भइरेहको छ र अब तत्कालै हामी त्यसको लागि जग्गा नापजाँच गर्ने कामको सुरुवात गर्ने छौँ,’ उनले भने, उक्त कामलाई छिटो छरितो बनाउनका लागि ड्रोन सेवाबाट त्यसको नाप जाँच गर्ने र छिटो भन्दा छिटो भूमीहीन दलित, सुकुम्बासीलाई लालपुर्जा प्रदान गर्ने काम अघि बढाउने छौँ ।’

तुलसीपुरको स्मार्ट सिटीको रणनीतिक योजना अनुसार कामहरु अघि बढाएको उपमहानगरले जनाएको छ । त्यस्तै नापी अधिकृत प्रदिप ज्ञवालीले भूमि प्रशासन, भूमि व्यवस्थापनका चुनौती र रुपान्तरणकारी योजनाका बारेमा जानकारी दिए ।

उनले कानूनी निर्देशिका अनुसार उपमहानगरपालिकामा ड्रोनबाट नक्साङ्कन गर्ने योजना बनाइएको समेत बताए । ‘ड्रोन क्यामेरा, चालक सवारी विना सञ्चालन हुने यन्त्र हो,’ उनले भने,‘यसले झन्डै ८ हजार मिटर टाढाको स्थानमा रहेर ड्रोनबाट तस्बिर, भिडियो लिन सकिने छ ।’ उनका अनुसार यो ड्रोन क्यामेरालाई १ सय २० मिटर माथिसम्म उडाउन सकिने छ ।

उनले उपमहानगरपालिकाको कामलाई छिटो छरितो बनाउन साढे ३ लाख बढी मूल्यमा उक्त ड्रोन क्यामेरा किनेर ल्याइएको बताए । उनका अनुसार कुनैपनि एक जनाको काम गर्दा २÷३ जना कर्मचारीहरु आवश्यक पर्ने गर्दथ्यो । त्यो पनि करिब एक हप्तासम्म सयम लाग्ने गर्दथ्यो ।

तर, अब ड्रोन क्यामेराबाट काम गर्दा एक जना मात्र भए हुने र एक दिनमा धेरैको काम गर्न सकिने छ । त्यस्तै, उनले ड्रोन क्यामेरालाई भूमि सम्बन्धि काममा मात्र नभइ कृषि, स्वास्थ्य, पर्यटकीय क्षेत्रमा समेत प्रयोग गर्न सकिने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर