‘सरकारमा जाने कांग्रेसको रहर छैन, तर बाध्यता आउन सक्छ’ – Nepal Press

‘सरकारमा जाने कांग्रेसको रहर छैन, तर बाध्यता आउन सक्छ’

सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसलालगत्तै विपक्षीहरू केपी ओली नेतृत्वको सरकार ढाल्ने तयारीमा जुटेका छन् । भावी प्रधानमन्त्रीका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई अघि सारिएको छ ।

पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखक भने अहिलेकै अवस्थामा आफ्नो पार्टी सरकारमा जान आतुर नभएको बताउँछन् । नेकपा अहिलेसम्म कानूनी रूपमा एक रहेको भन्दै औपचारिक विभाजन नआएसम्म कांग्रेस नहतारिने उनले प्रष्ट पारे ।

अर्काेतर्फ नेपाली कांग्रेसको यही फागुन ७ गतेबाट शुरु हुने तय भएको १४औं महाधिवेशन फेरि सरेको छ । अब भदौमा महाधिवेशन गर्ने गरी कांग्रेसले तयारी अघि बढाएको छ । भदौभित्र महाधिवेशन गर्न नसकेमा पार्टीको वैधानिकता नै समाप्त हुने खतरा रहेको छ । महाधिवेशनको छलफल गर्न नेता लेखक धनगढी पुगेका थिए ।

क्रियाशील सदस्यता वितरण छानबिन समितिका संयोजक समेत रहेका नेता लेखकसँग नयाँ सरकार निर्माण र कांग्रेस महाधिवेशनको सेरोफेरोमा नेपाल प्रेसका लागि भानुभक्त आचार्यले गरेको कुराकानीः

संसद पुनःस्थापनासँगै कांग्रेसका लागि सत्तामा जानका निम्ति अवसरको ढोका खुलेको छ । तत्काल कांग्रेस सरकारमा जाने सम्भावना तपाईं कत्तिको देख्नुहुन्छ ?

कांग्रेस प्रतिपक्षी दल हो । त्यसैले जनताको म्यान्डेटअनुसार पाँच वर्षसम्म हामी प्रतिपक्षमा बस्न तयार नै थियौं । जनताले नेपाल कम्युनिष्ट पार्टीलाई विश्वास गरेर सरकारमा पठाएका थिए । तर, उसले नयाँ सरकार बनाउन सकेन भने मुलुकलाई सरकारविहीन राख्ने त कुरा भएन ।

यस्तो अवस्थामा ‘वेटिङ गभर्मेन्ट’ त हो नि कांग्रेस । त्यसैले कांग्रेस सरकारमा जान धेरै प्रयत्न गर्नुपर्छ जस्तो लाग्दैन मलाई ।

नेकपा विभाजन भएर दुई चोइटा भएको अवस्थामा कांग्रेस सरकारमा कुन समूहसँग मिलेर जान्छ त ?

कोसँग मिलेर जान्छ भन्ने कुरा परिस्थितिले बताउने हो । पहिला उहाँहरूको परिस्थिति के हुन्छ त्यसले निर्धारण गर्छ ।

भन्नाले, कस्तो खालको परिस्थितिको पर्खाइमा हुनुहुन्छ तपाईंहरू ?

पहिलो कुरा त सरकार बनाउने पार्टी सरकार बनाउने कुरामा असफल हुनुपर्‍यो । ऊ असफल भएपछि र कांग्रेसको आवश्यकता देखिएपछि सरकारमा जाने कुरा हुन्छ । अहिले कांग्रेसको सरकार बनाउने कुरा रहर र चाहना दुवै होइन, बाध्यता हो ।
बाध्यात्मक अवस्थामा कांग्रेसले सरकार बनाउनुपर्ने हुनसक्छ । त्यस्तो स्थिति आयो भने कांग्रेस भाग्नुहुँदैन ।

त्यो स्थिति कहिले कसरी आउँछ त ?

अहिले त नेपाल कम्युनिष्ट पार्टी सिंगै छ । उसको संसदीय दल छ । त्यसमा उसको बहुमत छ । अहिले उसले सरकार फाल्छ र आफूले सरकार बनाउँदैन भन्ने कुरा कसरी अनुमान गर्न सक्छौं ?

भन्नाले नेकपा कानूनी रूपमा नफुट्दासम्म कांग्रेस सरकार ढाल्नेतिर नलाग्ने अवस्था हो ?

नेकपा वैधानिक ढङ्गले विभाजित हुने अवस्था अथवा सरकार बनाउन नसक्ने अवस्थामा मात्रै कांग्रेस अगाडि बढ्ने हो ।

नेकपाको प्रचण्ड–नेपाल समूहले संसद पुनःस्थापना भएकै भोलिपल्ट कांग्रेस सभापतिलाई भेटेको थियो । त्यो बेला जुन उत्साह प्रचण्ड–नेपाल समूहमा थियो, अहिले त्यो छैन भनिन्छ । सभापतिले ‘ग्रिन सिंग्नल’ नदिएकै हो ?

हामीले अहिले कोसँग मिलेर अघि बढ्ने भन्ने निर्णय गरेका छैनौं ।

विगतमा कांग्रेस केन्द्रीय समितिको बैठकले ‘ओली सरकार असफल भएको र शासन गर्ने अधिकार नभएको’ ठहर गरेको थियो । त्यही ‘असफल’ भनिएको सरकारलाई कुन नैतिकताले समर्थन गर्ने भन्ने समस्या हो कांग्रेसमा ?

हामीले नेपाल कम्युनिष्ट पार्टीको सरकार असफल भयो र यो सरकारलाई शासन गर्ने अधिकार छैन भनेका थियौं । त्यो आज पनि भन्दैछौं ।
नेपाल कम्युनिष्ट पार्टी यो देशमा शासन गर्न असफल भएकै हो । अयोग्य देखिएको छ । यो कांग्रेसले भनिराख्न पर्दैन, सबै जनताले बुझिसकेका छन् । समग्रमा नेकपाको सरकार असफल भएको हो ।

तर, भित्रभित्र प्रधानमन्त्री ओली र सभापति देउवाबीच केही न केही समझदारी भएको चर्चा पनि छ नि !

होइन त्यस्तो केही छैन । हामी कसैको निकट अथवा कसैको टाढा हुनुपर्ने त्यस्तो कारण के छ र !

संवैधानिक नियुक्तिमा भागबण्डा गरेकाले देउवा केपी ओलीलाई नै साथ दिने मूडमा छन् भन्ने पनि बुझाइ कतिपयको छ नि !

भागबण्डाको कुरा होइन । कुरा के हो भने, प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताका केही संवैधानिक कर्तव्य हुन्छन् । दायित्व र सीमा हुन्छन् । संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष हुने व्यवस्था छ । प्रतिपक्षी दलको नेता एक जना सदस्य हुन्छन् । हाम्रो संविधानले कतिपय अवस्थामा प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताका बीचमा कुनै न कुनै सम्बन्धहरू स्थापित गरेको छ । अनि त्यो सम्बन्धलाई भागबण्डाकै रूपमा व्याख्या गर्नुहुँदैन ।

त्यो बेला भागबण्डा भएकै कारण कांग्रेसलाई ओलीविरुद्ध कदम चाल्न नैतिक संकट परेको होइन र ?

त्यस्तो होइन । हामी कुनै संकटमा बाँधिएका छैनौं । हामी अहिलेको राजनीतिक परिस्थितिलाई गम्भीर र सूक्ष्म रूपले हेरिरहेका छौं । त्योअनुसार आफ्नो भूमिका निर्वाह गर्ने विषयमा हामी तयार छौं ।

त्यसो भए तपाईंहरू ‘पर्ख र हेर’ को अवस्थामा हो ?

हामी दुवै कुरामा छौं । पर्ख र हेरको अवस्थामा पनि छौं । अर्काे, आगामी दिनमा उत्पन्न हुने राजनीतिक परिस्थितिमा आफ्नो भूमिकालाई निर्धारण गर्न पनि तयार छौं ।

अहिले परिस्थिति सामान्य हो र ?

होइन । विषम परिस्थिति त कम्युनिष्टहरूले ल्याइहाले । तर, त्यही कम्युनिष्ट पार्टी आज पनि प्रतिनिधिसभाभित्र बहुमतमा छ । कम्युनिष्ट पार्टी एउटै छ । कम्युनिष्ट पार्टीकै सरकार छ ।

तर, आधिकारिकताको त विवाद आइसक्यो नि ?

त्यो विवाद उहाँहरूको हो । अहिले संविधानले चिनेको, कानूनले जानेको, हामीले बुझेको यो देशमा नेपाल कम्युनिष्ट पार्टी भन्ने एउटा मात्र छ । त्यो पार्टीको प्रतिनिधिसभामा बहुमत छ ।

त्यस पार्टीले अलोकतान्त्रिक र गैरसंवैधानिक काम गर्छ । तर पनि त्यो पार्टी हो । आगामी दिनमा उहाँहरूको भूमिका के हुन्छ भन्ने सुनिश्चित छैन । तबसम्म हामी पनि यसै बस्छौं ।

अहिले कांग्रेसले जुन समूहलाई साथ दियो त्यही समूह बलियो बन्ने अवस्था छ । पार्टीले प्रधानमन्त्री पाउने अवसर पनि छ । यस्तो बेला किन कांग्रेस अनिर्णयको बन्दी बनेको ?

हामीले कसैलाई साथ दिनुपर्ने अवस्था आउनुपर्‍यो नि त !

जसले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्छन्, कांग्रेस त्यसैसँग मिल्छ भन्ने पनि सुनिन्छ । देउवा फेरि प्रधानमन्त्री बन्नुहुन्छ त ?

मैले अघि पनि भनें, सरकार बनाउनु वा सरकारमा जानु कांग्रेसको रहर र चाहना दुवै होइन । तर, नेपाली कांग्रेस एउटा राजनीतिक पार्टी हो । कांग्रेसले जीवनमा कहिल्यै पनि सरकार बनाउँदैन भनेर कसम खाएको छैन ।

संसद पुनःस्थापनापछि पहिलोपटक २३ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ । त्यो बैठकमा कांग्रेस कसरी प्रस्तुत हुन्छ ?

अहिले नेपाल कम्युनिष्ट पार्टीले तीनवटा तमासा गर्दैछ । एउटा तमासा प्रतिनिधिसभा विघटन गरेर गर्‍यो । अर्काे तमासा सडकमा झगडा गरेर गर्‍यो । अब केही दिनमा उहाँहरू प्रतिनिधिसभाभित्र तमासा गर्नुहुन्छ । उहाँहरूको तमासाले कुन रूप लिन्छ त्यसअनुसार हामी आफ्नो भूमिका निर्वाह गर्छाैं ।

नेकपाको प्रचण्ड–माधव पक्षले कांग्रेसलाई प्रधानमन्त्री दिन तयार भयो भने कांग्रेसले ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजान्छ ?

त्यसका बारेमा अनुमान, चर्चाहरू छन् । तर, कांग्रेसले अहिलेसम्म कांग्रेसले कुनै निर्णय गरेको छैन ।

प्रसंग बदलौं । नेपाली कांग्रेसको महाधिवेशनको नयाँ तिथि घोषणा भएको छ । तर, यो पनि फेरि सर्ने नै त होला नि ?

(हाँस्दै) अब त सर्ने ठाउँ नै छैन नि ! संविधानअनुसार पनि अब सर्ने ठाउँ छैन । त्यसकारण समयभित्रै आफ्नो काम गरौं भनेर म यहाँ आएको हुँ ।

नेतृत्वको लागि हानथाप छ । पुरानै नेतृत्वले नै कांग्रेस हाँक्छ कि नयाँले अवसर पाउँछन् ?

नेतृत्वमा धेरै नेताले आकांक्षा राख्नुभएको छ । अब महाधिवेशनले निर्धारण गर्छ को नेता बन्ने भन्ने कुरा ।

यसपटक विगतको भन्दा धेरै आकांक्षी देखिएका छन् । कांग्रेसमा पनि तीन÷चार गुट हुने भए है ?

प्रतिस्पर्धा त हुन्छ नि ! अब कति जना उम्मेदवार बन्नुहुन्छ त्यो म अहिले भन्न सक्दिनँ । तर, निर्विरोध हुँदैन ।

१३औं महाधिवेशनकै गुटले निरन्तरता पाउँछ कि नयाँ समीकरण बन्छ ?

दुवै सम्भावना छ । अहिले धेरैजना उम्मेदवार देखिनुभएको छ । पहिलेको भन्दा फरक छ ।

विप्लवसँगको सम्झौतालाई कांग्रेसले कसरी हेरेको छ ?

विप्लव समूहसँग सरकारले वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्ने पहल गर्नु सकारात्मक छ । नेपाली कांग्रेस कुनै पनि समस्याको समाधान वार्ता वा संवादबाट गर्नुपर्छ भन्ने मान्यता राख्छ । त्यो परीक्षण हामीले गरी पनि सकेका छौं ।

राजनीतिक वार्ता र संवादबाट समस्याको समाधान गरौं तर, हामीले जुन राजनीतिक व्यवस्था र प्रबन्धलाई अँगालेका छौं, त्यसमा सम्झौता हुँदैन । बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थामा हामी छौं । त्यसको परिधिभन्दा बाहिर रहेर कुनै पनि सम्झौता कांग्रेसलाई स्वीकार्य हुँदैन ।

नेकपा फुटेको मौकामा निर्वाचनमा जान कत्तिको आतुर छ कांग्रेस ?

हामी चुनावमा जान तयार छौं । हामी प्रतिनिधिसभा विघटन हुँदा पनि चुनावमा जान तयार थियौं ।

अब सर्वोच्च अदालतले संसद पुनःस्थापना भनेपछि हामीले त्यो पनि मान्नैपर्ने हुन्छ । अब जुनसुकै बेला चुनाव हुन्छ, हामी चुनावका लागि तयार छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर