प्रचण्डको टिप्पणी- ओलीले मलाई त दुईनम्बरी बनाइदिए (भिडियो) – Nepal Press

प्रचण्डको टिप्पणी- ओलीले मलाई त दुईनम्बरी बनाइदिए (भिडियो)

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतापछि केपी ओलीले आफूलाई दुईनम्बरी बनाइदिएको टिप्पणी गरेका छन् । विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल पक्षधर शिक्षकहरुको भेलालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले ओलीले बैठकको अध्यक्षता गर्न समेत आफूलाई नदिई दुई नम्बरमा झारेको बताए ।

भेलामा प्रचण्डले भने- अध्यक्षता आलोपालो गर्ने भनेको तर उनले एक दिन पनि मानेनन् । तीनवटा भोटो बढी फटाएको भनेपछि भैगो त भनेर म फकिईहालेँ । पछि त उहाँले मलाई दुईनम्बरी बनाइदिनुभयो । उहाँ एक नम्बरी, म दुईनम्बरी ।

अर्को प्रसंगमा प्रचण्डले पार्टी एकता गर्ने बेला ओलीले आफूलाई एकमात्र नेता भन्दै एमाले सम्हाल्ने मान्छे तपाईं नै हो भनेर ल्याएको बताए । तर त्यो जालझेल आफूले तत्कालै बुझ्न सफल भएको समेत सुनाए ।

उनले भने- अहिले भ्रम फिँजाइँदैछ कि एमाले भनेको हामी हो, उता प्रचण्डसँग जानेहरु भनेका माओवादी हुन् । हिजो ओली नै हुन् एमाले सम्हाल्ने मान्छे तपाईं नै हो भनेर मैले ल्याएको हुँ भन्थे । त्यो जालझेल त एक महिनामै देखियो ।

ओलीले आफूलाई उपयोग गरेर माधव नेपाललाई चार जिल्लामा सीमित पार्न खोजेको समेत बताए । तर आफूले माधव नेपाललाई साथ दिएर २४ जिल्लाको नेतृत्व माधव पक्षलाई दिलाएको दावी समेत उनले गरे ।

प्रचण्डले भने- माधव र माधवलाई समर्थन गर्नेलाई निचोर्ने र त्यसपछि प्रचण्डलाई त किचिक्कै पार्ने भन्ने कुरा मैले एक महिनामै बुझिहालेँ । बडो षड्यन्त्रकारी मान्छेको फेला परिएछ भन्ने लाग्यो । तुरुन्तै झगडा गर्न पनि के थालौं, जनताले के ठान्लान् भनेर सहेँ ।

प्रचण्डले एमाले भनेको केपी ओलीको नेतृत्व हो भन्ने भ्रमलाई तलैदेखि तोड्न शिक्षकहरुलाई आग्रह समेत गरे । ओलीले जेलमा बस्दा चाणक्य नीति र महाभारत मात्र पढेको भन्दै शकुनि खेलमा ओलीलाई कसैले नसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर