माधव नेपाललाई अध्यक्ष बनाउनु प्रचण्डको ठूलो गल्ती: प्रभु साह – Nepal Press

माधव नेपाललाई अध्यक्ष बनाउनु प्रचण्डको ठूलो गल्ती: प्रभु साह

गौर। शहरी विकास मन्त्री एवम् ओलीपक्षीय नेपाल कम्युनिष्ट पार्टीका नेता प्रभु साहले माधव नेपाललाई अध्यक्ष बनाएर प्रचण्डले ठूलो गल्ती गरेको बताएका छन् ।

परोहा नगरपालिकाको तेजापाकडमा आयोजित रौतहट निर्वाचन क्षेत्र नम्बर २ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका मन्त्री साहले पटक-पटक धोका दिंदै आएका माधव नेपाललाई विश्वास गर्ने प्रचण्डको भुल भएको टिप्पणी गरे ।

पराजित भएर पनि सोही पदको लालसाले जे पनि गर्न पछि नपर्नेले भविष्यमा केही गर्दैन भनेर विश्वास गर्ने आधार नभएकोले माधव नेपालजस्ता अनैतिक व्यक्तिलाई पुनः मौका दिनु प्रचण्ड मात्रको लागि नभई समग्र कम्युनिष्ट आन्दोलनका लागि घातक भएको मन्त्री साहले बताए ।

यसअघि माधव नेपाललाई सांसद बनाउँदा प्रचण्डलाई नै अपदस्त गरी प्रधानमन्त्री बनेको स्मरण गराउँदै मन्त्री साहले विभिन्न षड्यन्त्र गरेर पार्टीमा भाँडभैलो मच्चाउनेलाई अध्यक्ष बनाएर ठूल्ठूला क्रान्तिका कुरा गर्नु हास्यास्पद रहेको मन्त्री साहको टिप्पणी छ ।

‘तपाईंहरू साक्षी हुनुहुन्छ, दुई-दुई स्थानबाट पराजित भएको व्यक्तिलाई प्रचण्डजीले सांसद बनाउनुभयो, अनि प्रधानमन्त्री पदबाट अपदस्त हुनुपर्‍यो । प्रधानमन्त्री बन्न ती व्यक्तिले प्रचण्डजीलाई पदबाट मात्र हटाएनन्, तथानाम आरोप लगाएर गाली समेत गरे’, मन्त्री साहले भने, ‘पराजित भएर पनि पुनः त्यही पदको लालसामा जे पनि गर्ने मान्छेले भविष्यमा केही गर्दैन भने विश्वास गर्ने कुन आधारमा गर्ने ? त्यस्ता व्यक्तिमा कुनै किसिमको नैतिकता हुँदैन ।’

“त्यस्ता अनैतिक व्यक्तिलाई प्रचण्डजीले पुनः अध्यक्ष बनाउनुभएको हो । त्यो प्रचण्डको लागि मात्र होइन सिंगो कम्युनिष्ट आन्दोलनका लागि घातक सावित हुनेछ” मन्त्री साहले भने, “षड्यन्त्र र जालझेल गर्ने मान्छे जहाँ भए उसले गर्ने भनेको त्यति नै हो । आज पदलोलुपताका लागि आफ्नै पार्टी र पार्टीको सरकारको विरुद्ध विभिन्न षडयन्त्र गरेवापत प्रचण्डजीले अध्यक्ष पदले जुन प्रकारले पुरस्कृत गर्नुभएको छ, त्यही अनुपातमा तिरस्कृत हुनुपर्ला सचेत रहनुहोला ।”

मन्त्री साहले थपे, “निर्वाचन आयोगले अमान्य भनिसकेको अवस्थामा समेत आफूलाई अध्यक्ष भन्न पछि नपर्ने कुन हदसम्म पदको स्वार्थमा डुबेको होला अनुमान लगाउन सक्नुहुन्छ ।”

कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहा, मौलापुर नगरपालिकाकी प्रमुख एवम् नेकपा प्रदेश कमिटी सदस्य रीनाकुमारी साह, नेकपाका प्रदेश सदस्यहरु त्रिभुवन साह एवम् मनोज यादव, नेता किरण साह, चन्देश्वर बैठालगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर