‘अर्थविद् नभए पनि प्रधानमन्त्रीलाई उचित सल्लाह दिन सक्षम छु’ – Nepal Press
नेपाल टक

‘अर्थविद् नभए पनि प्रधानमन्त्रीलाई उचित सल्लाह दिन सक्षम छु’

केपी ओलीको सरकारमा उद्योग राज्यमन्त्री बन्न पाउँदा निकै उत्साहित थिए, उद्योगी मोतिलाल दुगड । तर राज्यमन्त्रीको कुर्सीमा उनी लामो समय टिक्न सकेनन् ।

ओली मन्त्रिपरिषदमा भएको पछिल्लो हेरफेरका क्रममा दुगड बहिर्गमनमा परे । राज्यमन्त्री भएको १३ महिनापछि सिंहदरबारबाट निस्किएका दुगडले केही समयमै अर्को जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आफ्नो विशेष आर्थिक सल्लाहकार बनाएपछि दुगड फेरि उत्साहित छन् ।

मन्त्रालयमा रहँदा उनले के–के काम गरे ? हाल प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रूपमा आएपछि उनको भूमिका के छ ? यी यावत् विषयमा नेपाल प्रेसका लागि राजाराम न्यौपानेपवित्रा ढकालले गरेको कुराकानी :

१३ महिना उद्योग राज्यमन्त्रीको कुर्सीमा बस्दाको अनुभव कस्तो रह्यो ? एउटा उद्योगीलाई मन्त्री पदको जिम्मेवारी बहन गर्न कत्तिको सहज हुने रहेछ ?

मन्त्री बन्दाको अनुभव सुखद नै रह्यो । मैले गरेका कामबाट सबै खुशी छन् । सानादेखि ठूला उद्योगीले मबाट ठूलो आशा गर्नु भएको थियो । एउटा उद्योगीले उद्योग मन्त्रालयको जिम्मेवारी लिंदा यस क्षेत्रको लागि केही काम गर्छ भन्ने थियो । मैले उहाँहरूको आशा अनुरूप नै काम गरें । उद्योग तथा उद्योगीका समस्यालाई नजिकबाट बुझ्ने कोशिश गरें ।

जुनियर मन्त्री भएर पनि मैले चारैतिरबाट प्रशंसा पाएँ । उद्योग मन्त्रालयलाई एक नम्बर मन्त्रालय बनाउनमा मेरो ठूलो हात रह्यो । १३ महिनाको समयमा मैले उद्योग–व्यवसायका लागि राम्रो काम गर्ने प्रयास गरें । १३ महिना धेरै लामो समय पनि हैन । छोटो समयमा पनि धेरै काम भयो ।

राज्यमन्त्री हुँदा के गर्न सकिएन जस्तो लाग्छ ?

मन्त्रालयमा रहेर धेरै काम गरें मैले । बस्तु आपूर्ति, मूल्य नियन्त्रण, देशमा भएका उद्योगका समस्या समाधानका लागि काम गरें ।

कोरोना महामारीका समयमा पनि हामीले उपभोक्ताको घर–घरमा दैनिक उपभोग्य बस्तु पु¥याउने काम गरेका थियौं । उद्योगी–व्यापारीहरूले धेरै राहत पाए । कोरोनाको समयमा पनि उद्योगधन्दा सञ्चालनका लागि अनुमति दिएका थियौं । हिजो उद्योग मन्त्रालयमा गरेको कामले नै आज म प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार भएको छु ।

साथै, उद्योग र व्यापारको क्षेत्रमा धेरै नै काम गरें । तर, छोटो समय राज्यमन्त्री भएकाले सरकारी संस्थानहरूलाई नाफामा लैजाने, संस्थानलाई पीपीपी मोडलमा लैजाने लगायतका काम बाँकी नै रहे ।

मैले उद्योग मन्त्रालयमा रहेर काम गर्ने गतिलाई बढाइदिएँ । मन्त्रालयमा पहिला एउटा काम गर्नका लागि तीन महिनासम्म झुलाएर राख्ने गरिन्थ्यो । अहिले तीन दिनभित्रमा सबै काम हुने गरेको छ ।

तपाईंले मन्त्री हुनासाथ सरकारी संस्थानलाई नाफामा लैजाने भन्नुभएको थियो । तर त्यो त गफै भयो नि ?

त्यसमा पनि मैले शुरू गरेको कामले पूर्णता पाउँछ । पहिले राज्यमन्त्रीको रूपमा थिएँ । अहिले म प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार भएको छु । अब म यता रहेर पनि पहिलेका अधुरा काम पूरा गर्न तल्लीन रहनेछु ।

अहिले देशको राजनीतिक अवस्था उथलपुथल भएको छ । तपाईं प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारका रूपमा आउनुभएको छ । यस्तो परिस्थितिमा काम गर्न कत्तिको सहज होला ?

मैले प्रधानमन्त्रीको निर्देशनअनुसार नै काम गर्छु । मेरो काम प्रधानमन्त्रीलाई यो काम गर्दा देशको अर्थतन्त्र सुधार हुन्छ भनेर जानकारी गराउने हो ।

मसँग आर्थिक क्षेत्रको अनुभव छ । मेरा पनि उद्योग छन् । मैले हाम्रो देशको अर्थतन्त्रलाई राम्ररी बुझेको छु । अब नेपालमा औद्योगिक क्रान्ति हुनुुपर्ने समय आएको छ । देशमा जति धेरै उद्योगधन्दा स्थापना भए त्यति नै देश समृद्धितर्फ जान्छ ।

नेपालमा उद्योगधन्दा, कलकारखाना खुले भने मात्र व्यापार घाटा कम हुन्छ । अनि देश अत्मनिर्भरतातर्फ जान्छ । उद्योग स्थापनासँगै देशमा रोजगारी पनि वृद्धि हुन्छ । अहिले मैले ७७३ वटै स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाको लागि काम अगाडि बढाएको छु ।

साना–साना छरिएर रहेका उद्योगहरूलाई एकीकृत गरेर सबै स्थानीय तहमा उद्योग ग्राम बनाउने र त्यहाँ पानी, बत्ती र सडकको व्यवस्था गर्ने काम अगाडि बढिरहेको छ ।

देशमा कसरी रोजगारी बढाउने भन्ने नै हो । कोरोनाको कारणले थला परेको अर्थतन्त्रलाई माथि उठाउँदै देशलाई आर्थिक विकास गराउनमा नै म लाग्नेछु ।

देशको अर्थतन्त्रलाई कसरी चलायमान बनाउने, औद्योगिक विकास गर्ने, बजेट निकासी जाम हुन नदिने र भएको बजेटलाई फ्रिज हुन नदिने नै मेरो मुख्य लक्ष्य हो ।

तपाईं अचानक उद्योग राज्यमन्त्री पदबाट हटाइनुभयो, हट्दैछु भन्ने पूर्व जानकारी थियो ?

म सहमतिमा नै हटेको हुँ । मन्त्री पद सधैंका लागि होइन । पार्टीका लागि म जे पनि गर्न तयार छु । मेरो पार्टीको निर्देशनअनुसार नै मैले राजीनामा दिएको हुँ । १३ महिनाको छोटो अवधि म राज्यमन्त्री हुँदा जे–जे गरें त्यसैको प्रतिफलको कारण म अहिले यो ठाउँमा छु ।

तपाईं अर्थशास्त्री त होइन, प्रधानमन्त्रीको आर्थिक सल्लाहकार किन र कसरी हुनुभयो ?

हाम्रो प्रधानमन्त्री पनि अर्थशास्त्री, इन्जिनियर वा कृषि विज्ञ हुनुहुन्न, तर पनि उहाँ हाम्रो प्रधानमन्त्री हो । अर्थशास्त्री नै हुनुपर्छ भन्ने छैन । मेरा पनि पाँचवटा उद्योग छन् । अर्थशास्त्रीले मात्रै सबै काम गर्न सक्छ भन्ने हैन ।

विषयविज्ञहरू नै मन्त्री भएको तपाईंले देख्नुभएको छ ? के डाक्टर मात्रै स्वास्थ्य मन्त्री भएका छन् ? कृषिमन्त्री कृषि विज्ञ हुन् ? खेलकुद मन्त्रीलाई खेल्न नै आउँदैन, तैपनि खेलकुद मन्त्री हुनुहुन्छ हैन र ? म व्यावसायिक क्षेत्रमा लामो समयदेखि लागेको मान्छे, मलाई वास्तवमा नेपालको अर्थतन्त्र कस्तो हुनुपर्छ भन्ने ज्ञान छ । त्यही ज्ञानका कारण म यो पदमा आएको हुँ ।

सल्लाहकारको रूपमा प्रधानमन्त्रीलाई कस्ता सुझाव दिंदै हुनुहुन्छ ?

देशमा सञ्चालन भइरहेका विकासका योजनाहरूलाई द्रूत गतिमा अगाडि बढाउन सल्लाह दिइरहेको छु । अधुरा योजनाहरूलाई पूरा गर्ने, बजेट निकासा गर्ने, औद्योगीकरणतिर जाने जस्ता विषयमा नै सुझाव दिने गरेको छु ।

नेपालको उद्योग–व्यापार क्षेत्र धरासायी हुनुका कारण के–के होलान् ?

व्यापार–व्यवसाय सन्तुलित रूपमा चलायमान हुनका लागि देशमा उद्योग–धन्दा खोल्ने वातावरण हुनुपर्छ । नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने उद्योगधन्दा जसरी स्थापना र सञ्चालन हुनुपथ्र्यो त्यो हुनसकेको छैन । देशमा राजनीतिक स्थायित्व नै छैन । अहिले पनि नेपाली जनताले पाँच वर्षका लागि सरकार बनाएका थिए । तर, आफ्नै समूहले यो सरकारलाई पनि टिक्न दिएनन् ।

स्थायी सरकार नभएको कारणले नै उद्योगी र व्यापारीहरूको मनोबल गिरेर गएको छ । देशमा विकास हुनका लागि स्थायी सरकारको नै आवश्यकता पर्छ । अहिले स्थायी सरकार छैन ।

देशको विकास र समृद्धिभन्दा पनि आफ्नो पद र पैसाको लागि राजनीतिक नेताहरू लागिरहेका छन् । त्यसैले पनि देशको उद्योग र व्यापारको विकास हुनसकेको छैन ।

अहिले सत्तारुढ पार्टीमा आएको विभाजनलाई कसरी लिनुभएको छ ? प्रचण्ड समूहले तपाईंलाई बोलाएन ?

पार्टीमा अहिले विवाद र विभाजन हुनुहुँदैनथ्यो, तर भयो । पार्टी पनि फुट्यो । यो सबैका लागि दुःखद कुरा हो । पार्टीमा पदको लडाईं भएको हो । बलियो पार्टी थियो । पार्टी फुट्दा सबैलाई चिन्तामा पारेको छ ।

देश विकास गर्न प्रधानमन्त्रीले चाहनुभएको हो । तर आफ्नै पार्टीभित्र काम गर्न नदिनका लागि खुट्टा तान्ने काम भयो । केही कमि-कमजोरीमाथि छलफल गरेर अगाडि जानुपर्ने ठाउँमा विवादमा मात्रै ल्याउने काम पार्टीभित्रबाट भयो ।

प्रधानमन्त्रीलाई गलत आरोप लगाउने काम मात्रै भयो । लगाइएका आरोपहरूलाई प्रमाणित गर्ने कुनै प्रमाण नै भएन । प्रधानमन्त्रीले पदको लोभ नगरी निर्वाचनमा जान्छु भनेर अगाडि बढ्नुभएको हो । उहाँलाई पदको लोभ भएको भए दुई वर्ष पदमा बस्न सक्ने समय थियो । चुनावमा जानु देशका लागि पनि दुर्भाग्यपूर्ण हो । मलाई प्रचण्डले बोलाउनु वा नबोलाउनुले कुनै फरक पर्दैन ।

कोरोनाले थलिएको देशको व्यापार-व्यवसाय तथा उद्योगलाई कसरी माथि उठाउन सकिएला ?

कोरोना महामारीले देशको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । अब देशमा रहेका उद्योगधन्दालाई अगाडि बढाउनै पर्छ । साना तथा मझौला उद्योग व्यवसाय कोरोनाबाट अझ बढी प्रभावित बनेका छन् । ती उद्योगलाई सहुलियत दरमा ऋण उपलब्ध गराएर भए पनि माथि उकास्नुपर्छ । साथै, जीर्ण भएका उद्योगधन्दाहरूलाई कच्चा पदार्थ, बिजुली, पानी, सडक आदिको व्यवस्था गरेर ती उद्योगलाई सबल बनाउनुपर्ने छ । त्यस्तै, पूँजी नभएका उद्योगधन्दालाई पूँजीको व्यवस्था गरेर ती व्यवसायलाई माथि उठाउने योजना छ ।

त्यस्तै, उत्पादन भएका बस्तुलाई बजार व्यवस्थापन गर्ने, विदेश निकासी हुने वस्तुमा सहजीकरण गर्ने, निर्यात केन्द्रलाई सक्रिय बनाउनेलगायतका काम अहिले गरिरहेका छौं ।

सल्लाहकार बनेपछि प्रधानमन्त्रीसँग कत्तिको संवाद हुन्छ ?

अहिले सल्लाह भइरहेको छ । हामीले दैनिक रूपमा छलफल गरिरहेका हुन्छौं । मैले पनि प्रधानमन्त्रीलाई सल्लाह दिइरहेको छु । उहाँबाट पनि धेरै कुरा सिक्ने मौका पाएको छु ।

उद्योग-व्यवसाय र निजी क्षेत्रप्रति प्रधानमन्त्रीको धारणा कस्तो पाउनुभएको छ ?

राजनीतिमा एउटा उद्योगी नै थिएनन् । उहाँले मलाई आर्थिक सल्लाहकारका रूपमा ल्याएर निजी क्षेत्रको कुरा सुनिरहनुभएको छ । प्रधानमन्त्रीले निजी क्षेत्रलाई धेरै विश्वास गर्नुभएको छ । मलाई प्रधानमन्त्रीले नै यहाँ ल्याएर निजी क्षेत्रको समस्या के–के हुन् र कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गरिरहनुभएको छ ।

प्रधानमन्त्रीले उद्योगधन्दा, कलकारखाना तथा आर्थिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ भनेर लागिरहनुभएको छ । निजी क्षेत्रको विकास गर्नका लागि प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।

तपाईं एउटा उद्योगी अचानक कसरी मन्त्री बन्न पुग्नुभयो ? केपी ओलीलाई कसरी रिझाउनुभएको थियो ?

मसँग के छ र त्यस्तो प्रधानमन्त्रीलाई रिझाउन सक्ने चिज ? म आफैं पनि २० वर्ष अघिदेखि राजनीतिमा होमिएको मान्छे हुँ । उहाँले मलाई प्रष्ट, भिजन भएको र सकारात्मक सोच भएको कारणले रोज्नुभएको हो ।

उहाँले निजी क्षेत्रको व्यक्तिलाई आर्थिक सल्लाहकारको रूपमा छान्नु नै निजी क्षेत्रको समस्या चाँडो समाधान हुन् र देश आर्थिक समृद्धितर्फ जाओस् भन्ने मनसायले नै हो ।

मन्त्री हुँदा आफ्नो उद्योगलाई फाइदा पुग्ने गरी के–कति निर्णय गर्नुभयो ?

म मन्त्री हुँदा आफ्नो उद्योगलाई फाइदा पुग्ने कुनै निर्णय गरेको छैन । मैले मन्त्रालय र सबै विभागहरूमा मेरो नाम लिएर कामका लागि आएमा हुने काम मात्रै गर्नु भनेको थिएँ ।

मैले मेरा मातहतका कर्मचारीलाई पनि मेरो नाम लिएर कोही आएमा मन्त्रालय वा विभागमा कुनै काम नगर्नु भनेर निर्देशन दिएको थिएँ ।

उद्योगीहरू पैसा कमाउनका लागि मात्र मन्त्री बन्ने गर्छन् भन्ने आरोप लाग्छ । तपाईं मन्त्री पदमा हुँदा कति पैसा कमाउनुभयो ?

पैसा कमाउनका लागि मन्त्री भएको हैन । निजी क्षेत्रका समस्या के के हुन् र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर निजी क्षेत्रबाट मन्त्री भएको हुँ ।
मैले निजी क्षेत्रको समस्या समाधानका लागि काम गरेकाले नै म अहिले प्रधानमन्त्रीको सल्लाहकार भएर आएको छु ।

उद्योग व्यवसायीका समस्याहरू के-के छन् त ? सरकारले कसरी सम्बोधन गर्छ ?

उद्योग, व्यवसायका समस्या भनेको बजार, सडक, बिजुली, पानी, उत्पादन मूल्यलगायत धेरै छन् । सरकारले ७७३ स्थानीय तहमा नै औद्योगिक ग्राम स्थापना गरेर सम्बोधन गर्नुपर्छ ।

निजी क्षेत्र माथि नउठी सरकार बलियो हुँदैन । सरकारले निजी क्षेत्रलाई माथि उठाउन आवश्यक पूर्वाधारलगायतका कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

तपाईंले निजी क्षेत्रलाई माथि उठाउने भनिरहँदा सेज झाडी बनिसकेको छ ! निजी क्षेत्र सरकारी कार्यालयमा जाँदा झन्झट भोग्नुपर्ने अवस्था छ नि ?

हामीले सेज विशेष आर्थिक क्षेत्रलाई व्यवस्थित बनाएर अगाडि बढाउने काम गरिरहेका छौं । उद्योग विभागको एकल विन्दु सेवा केन्द्रलाई सक्रिय बनाउने योजनाका साथ काम भइरहेको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा पनि व्यवस्थित तरिकाले काम अगाडि बढाइएको छ । अब सेवाग्राहीले विना झन्झट सजिलै सेवा लिन सक्ने व्यवस्थाको विकास भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर