भाषिक बहस: शहीदलाई किन बनाइँदैछ पातलो ? – Nepal Press

भाषिक बहस: शहीदलाई किन बनाइँदैछ पातलो ?

काठमाडौं । ‘शहीद’ का सपना पूरा भए वा भएनन् ? सम्भवतः आज दिनभर राजनीतिक मञ्चहरूमा यसबारे धेरै विमर्श होलान् । तर शहीद दिवसका दिन बहसमा आउने अर्को प्रश्न छ, शहीदमा मोटो ‘श’ कि पातलो ‘स’ प्रयोग गर्ने ? मामूली विषय लागे पनि भाषा र व्याकरणमा चासो राख्नेहरूका निम्ति यो रोचक विषय हो ।

यो प्रश्नको भाषिक र व्याकरणीय मात्रै होइन राजनीतिक उत्तरको पनि खोजी जरूरी छ ।

आगन्तुक शब्दमाथिको अपनत्व

‘शहीद’ नेपाली भाषामा आगन्तुक शब्दको रूपमा रहेको छ । अरबी फारसी भाषाबाट आएको शहीद शब्दको महत्व भने नेपालमा गहिरो छ । शहीद शब्दप्रति आम नेपालीको सम्मान मात्रै छैन, अपनत्व पनि जोडिएको छ ।
प्रजातन्त्रका लागि जीवन बलिदान गरेका शहीदहरूको स्मरणले मात्रै पनि हरेक नेपालीको छाती गर्वले फुल्छ ।

शब्द आगन्तुक भए पनि यसको सारमा नेपालीपन देखिन्छ । शहीद जस्तै विदेशी भाषाबाट नेपाली भाषामा समावेश भएका आगन्तुक शब्दहरू हजारौं छन् । तर शहीदको जति ‘वजन’ अरू शब्दले राख्दैनन् । त्यसैले त शहीदको ‘श’ मोटो कि पातलो भन्नेमै वर्षौंदेखि बहस जारी छ ।

शहीदको ‘श’ दुब्लाएपछि…

हिजो–आज शहीदलाई ‘सहीद’ वा ‘सहिद’ लेखिएको पाइन्छ । नेपाली भाषामा समयक्रम अनुसार परिमार्जन वा लेखन सहजताका दृष्टिकोणले शहीदको सट्टा ‘सहीद’ वा ‘सहिद’ लेख्न थालियो । कतिपय भाषाकर्मीहरू मोटो ‘शहीद’ का पक्षधरहरूलाई परम्परावादी वा संकीर्ण भन्न पछि पर्दैनन् । तर पनि मोटो ‘शहीद’ का पक्षधरहरू सेलाएका छैनन् ।

नेपाली वर्णविन्यासमा संस्कृतको प्रभावका विषयमा विद्यावारिधि नै गरेका भाषा बचाउ अभियानका संयोजक गाउँले बलदेव शहीदमाथि राजनीतिकभन्दा व्याकरणीय अपमान धेरै भएको बताउँछन् । १९९८ मा चक्रपाणि चालिसेद्वारा लिखित बगली कोश नेपाली भाषाको पहिलो लेख्य शब्दकोशका रूपमा चिनिन्छ ।

सो शब्दकोशमा शहीदको ‘श’ मोटो र ‘ही’ दीर्घ थियो । भाषाविद् गाउँले बलदेव कुनै पनि भाषाको पहिलो शब्दकोशको शब्द परिवर्तन गर्न नपाइने दाबी गर्छन् ।

‘लेख्यभाषामा आएर शब्दकोशमा परिसकेका शब्दहरू परिवर्तन गर्न पाइँदैन । नयाँ शब्द ज्यादै चल्यो भने थप्न पाइन्छ तर शहीदको श पातलो बनाउन पाइँदैन’, बलदेवले नेपाल प्रेससँग भने ।

शब्द आगन्तुक र नेपाली अपनत्व भए पनि शहीदको ‘श’ दुब्लाउनुमा राजनीतिक कारण रहेको बलदेवको बुझाइ छ ।

‘मरेर गएका शहीद विचराहरूले केही गर्न सक्दैनन् भनेर पातलो स लेख्दिने काम भयो । शाह र शेरचनको श पनि मोटै हुने अनि मरेर गएका शहीदको श चैं पातलो लेख्न कसरी मिल्छ ? शाहहरूको पनि त ‘श’ दुब्लाएर ‘स’ हुनुपथ्र्यो नि ! आखिर शाह पनि त आगन्तुक नै हो’, बलदेवले भने ।

उनले शेरबहादुरदेखि शेरधनसम्मका ‘श’ मोटै रहने तर शहीदको ‘स’ मात्रै दुब्लाउने कुरा स्वीकार्य नरहेको बताए ।

‘देश र जनताको लागि प्राण त्याग गर्नेभन्दा कोही महान् छ यो संसारमा ? शहीद भनेको त सम्मान बुझाउने शब्द हो नि ! यो सम्मानलाई जथाभावी गर्न पाइँदैन’, बलदेवको बुझाइ छ ।

शब्दले के फरक पर्छ ?

लेखन सहजताका लागि मोटोभन्दा पातलो ‘स’ लेख्ने प्रचलन बढ्दो छ । नेपाली भाषाका अन्य शब्दहरूमा पनि क्रमशः मोटो वा पातलो भन्ने अलमल भित्रन थालेको छ । शब्द वा अक्षरलाई सामान्य सहजताको रूपमा मात्रै हेर्दा शहीदको ‘श’ दुब्लाएर ‘स’ हुनु ठूलो कुरा लाग्दैन ।

मोटो वा पातलो लेख्ने कुराले शहीदको अपमान हुन्छ र ? बलदेवको उत्तर थियो– तपाईं भोलि चोली र फरिया लगाएर न्यूरोडतिर जानोस् न, मान्छे त तपाईं नै हो फरक पर्छ कि पर्दैन ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.