पीएम कप सेमिफाइनलः फाइनल पुग्न पुलिसलाई २०४ रनको लक्ष्य – Nepal Press

पीएम कप सेमिफाइनलः फाइनल पुग्न पुलिसलाई २०४ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा टस हारेर ब्याटिङ थालेको एपिएफ क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २०४ रनको विजय लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिसका कप्तान मन्जित श्रेष्ठले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०३ रनको योगफल तयार गरेको हो ।

एपिएफका लागि ओपनर सुवाष खकुरेल १९ तथा आशिफ शेखले १ रनमा आउट भए । त्यस्तै कप्तान शरद भेसावकरले १८ रनको योगदान गरे । एपिएफका लागि ४४ रनको योगदान गरेका शंकर रानाले ९६ बलमा ४ चौका प्रहार गरेका थिए । त्यस्तै, सन्दीप जोराले ३४ रनको योगदान गरे ।

यस्तै ५६ बलको सामना गरेका भुवन कार्कीले २ छक्का र १ चौकासहित ४२ रनको योगदान गरे । कमल ऐरीले १९ रन जोडेका थिए । अविजनाश बोहरा ११ र सूर्य तामाङ १ रनमा अविजित रहे ।

पुलिसका लागि आरिफ शेखले १० ओभरमा ३१ रन खर्चेर १ मेडनसहित ३ विकेट लिए । त्यस्तै, दिपेन्द्रसिंह ऐरीले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले १० ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । त्यस्तै, सागर ढकालले १० ओभरमा १ मेडनसहित १ विकेट लिए ।

आजको खेलमा जित हासिल गर्ने टोलीले १७ गते हुने फाइनलमा भोलि हुने आर्मी र बाग्मती प्रदेशको विजेतासँग खेल्ने छ । एपिएफ समूह ‘ए’को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाल पुलिस क्लब समूह ‘बी’को उपविजेताको रूपमा अन्तिम चारमा स्थान बनाएको हो ।

माघ २ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख हासिल गनेछन् । त्यस्तै, सेमिफाइनलिस्टले प्रतिटिम ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *