यमनमा नयाँ सरकार आएलगत्तै विमानस्थलमा भयानक आक्रमण, प्रधानमन्त्री सुरक्षित – Nepal Press

यमनमा नयाँ सरकार आएलगत्तै विमानस्थलमा भयानक आक्रमण, प्रधानमन्त्री सुरक्षित

एजेन्सी । यमनको दक्षिणी शहर अदनस्थित विमानस्थल नजिकै भएको विस्फाेटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ, ५० भन्दा बढी घाइते भएका छन् ।

सुरक्षा अधिकारीहरुका अनुसार नयाँ सरकारका सदस्यहरु लिएर साउदी अरबबाट आएको विमान जब विमानस्थलमा अवतरण भयो त्यतिबेलै ठूलो आवाजसहितको विस्फाेट भएको हो ।

विस्फाेटमा मारिने मानिसहरु विमानस्थलका सहायक कर्मचारीदेखि अधिकृतसम्म थिए । प्रधानमन्त्री अब्दुल मल्लिक सइदले भनेका छन् कि उनी र उनकाे मन्त्रिमण्डल सुरक्षित छ ।

सूचनामन्त्रीले यो आक्रमणको जिम्मेदार हुती विद्रोही समूह भएको भन्दै यसलाई कायरतापूर्ण चरमपन्थी आक्रमण भनेका छन् । सूचनामन्त्री इरियानीले ट्वीट गरेका छन्, ‘हामी सबैलाई यो निश्चित बनाउन चाहन्छौं कि सबै मन्त्रिपरिषद सदस्य सुरक्षित हुनुहुन्छ र विमानस्थलमा इरान समर्थित हुती विद्रोहीको चरमपन्थी हमलाले हाम्रो जिम्मेवारीमा कुनै आँच आउने छैन । हाम्रा जीवन अन्य यमनीको तुलनामा अधिक मूल्यवान हुने छैन ।’

नयाँ मन्त्रीहरुको स्वागतका लागि विमानस्थलमा ठूलो भीड जम्मा भएको थियो । विस्फाेटको आवाजसहितको मुस्लो आएसँगै सबै तितरवितर भए । केही समयपछि त्यहाँ गोली चलेको आवाज पनि सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यमनको समाचार वेबसाइट अल मसदरका अनुसार विस्फाेटमा परी श्रम मन्त्रालयका एकजना सहसचिवको मृत्यु भएको छ । युवा तथा खेलकुद मन्त्रालयका उपमन्त्री मोनेर अल वजिह, यातायात उपमन्त्री नसिर सरिफलगायतका मानिसहरु घाइते भएका छन् ।

प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यलाई विशेष सुरक्षा घेरामा राखिएको थियो र सुरक्षित बाहिर निकालिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर