सुकुम्बासी बस्तीमा आगलागी: घरसँगै जले आशाका सपना – Nepal Press

सुकुम्बासी बस्तीमा आगलागी: घरसँगै जले आशाका सपना

काठमाडौं । ‘मेरो सबै संसार सकियो’ निधारमा हात लगाउँदै आशा परियार रुँदै बर्बराइरहेकी थिइन् । उनको वरिपरि बाक्लै भीड थियो । वरपरका मानिस उनलाई सम्झाउँदै भनिरहेका थिए, ‘नरुनुस् । जे हुनु भै’गयो । सांसदले पनि सहयोग गर्छु भनेका छन् । मन बुझाउनुस् ।’

तर, आशाको मन निराशाको कुहिरोले ढाकेको थियो । धुवाँ पुतपुताइरहेको घरतर्फ हेर्दै उनी भनिरहेकी थिइन्, ‘अब कहाँ बस्ने, के खाने, के गर्ने केही टुंगो छैन ।’

बिहान ११ बजे घर अगाडि गाडामा चट्पटे बेचिरहेकी थिइन्, आशा । घरको भुइँ तलामा नाति खेलिरहेको थियो । अचानक घरमा केही पड्केको जस्तो आवाज आयो । के भयो, उनले चालै पाइनन् ।

‘ए दिदी माथि धुवाँ उडिरहेको छ, के भयो घरमा ?’ छिमेकी अस्मिता तामाङ अत्तालिंदै आशाको घर अगाडि आइन् । ‘पछि हेर्दा त जलिसकेछ । म त अचेत भएछु, धन्न नातिलाई बोकेर भाग्न भ्याएछु’ आशा सोमबार घटेको दुःखान्त घटना सुनाउँछिन् ।

वरिपरिका छिमेकीले थाहा पाएपछि सबै जनाले पानी खन्याउन थाले । तर, आगो झन्झन् दन्कियो । ‘केही समयपछि दमकल आयो । प्रहरीहरू आए । आगो निभाउन सहज भयो’ छिमेकी अस्मिता भन्छिन् । आगो नियन्त्रणका लागि काठमाडौं, ललितपुर महानगरसहितका पाँच वटा दमकल प्रयोग गरिएका थिए ।

आगो त निभ्यो तर आशाको मन भने झन् जलिरहेको थियो । ३५ हजार नगद पैसा केही दिन अघि दराजमा राखेकी थिइन् । पाँच तोला सुन, पाँच तोला चाँदी दराजमै थियो । घरभरि सामान अटाई नअटाई थियो । ‘सबै जल्यो । अब त अहिले लगाएको कपडा बाहेक केही बाँकी रहेन’ आशा पुनः सुँकसुकाउँछिन् ।

आशाका पति दलबहादुर ज्यामी काम गर्छन् । उनी बिहानै काममा निस्केका थिए । ‘उहाँलाई त अहिलेसम्म थाहै छैन । फोन गर्न मोबाइल पनि छैन’ आशा सुनाउँछिन् ।

आशाका दुई भाइ छोरा र बुहारी पनि घरमा थिएनन् । यसपालि एसईई दिएको सानो छोरा भने बाहिरतिर निस्केको थियो ।

एक महीना नबित्दै आशाको परिवारमा दुईवटा ठूला घटना घटे । नाति बितेको एक महीना पनि पुगेको छैन । ‘नातिलाई निमोनिया भएको थियो । एक महीना अस्पताल बस्दा डेढ लाख भन्दा बढी खर्च भयो । नाति बाँच्ला भन्ने आश थियो, बचाउन सकिएन’ आशा सुनाउँछिन् ।

आशाको परिवार सर्लाहीबाट काठमाडौं आएको १० वर्ष भयो । ‘यही सानो घर पनि पाँच वर्षअघि दुःख पाएरै बनाएका थियौं । अब त त्यो पनि रहेन’ आशा सुस्केरा हाल्छिन् ।

काठमाडौंको बानेश्वरस्थित शान्तिनगरमा रहेको सुकुम्बासी बस्तीमा सोमबार अचानक आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । ग्याँस लिक भएर शुरू भएको आगोले अन्य घर तथा झुपडीमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । दमकलको सहायताले आगो करीब एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।




प्रतिक्रिया

One thought on “सुकुम्बासी बस्तीमा आगलागी: घरसँगै जले आशाका सपना

Leave a Reply to Bijaya Adhikari Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर