राष्ट्रसंघीय प्रतिवेदनको निष्कर्ष : तालिबानले घरघर गएर तलासी लिइरहेका छन् – Nepal Press

राष्ट्रसंघीय प्रतिवेदनको निष्कर्ष : तालिबानले घरघर गएर तलासी लिइरहेका छन्

काबुल । संयुक्त राष्ट्रसङ्घको एक दस्तावेजका अनुसार तालिबानले नेटो फौज र पूर्ववर्ती अफगान सरकारका लागि काम गरेका मानिसहरूको खोजी कार्यलाई तीव्र बनाएको छ । तालिबानले घरघरै गएर त्यस्ता व्यक्तिहरूको खोजतलास गरेको र उनीहरूका परिवारका सदस्यहरूलाई धम्क्याएको राष्ट्रसंघीय प्रतिवेदनले दावी गरेको छ ।

तर, यसैसाता काबुलमा आयोजित पत्रकार सम्मेलनमा तालिबान प्रवक्ताले देशभित्र र बाहिर आफ्ना दुस्मन नरहेको र अफगानहरूलाई कुनै पनि बदला नलिने बताएका थिए । तर, राष्ट्रसंघको यस्तो प्रतिवेदनपछि तालिबानप्रति संशय पैदा भएको छ । अहिले पनि सन् १९९० ताकाको तालिबानमा सामान्य मात्र परिवर्तन आएको जस्तो देखिएकाले त्रास पैदा भएको छ।

तालिबानले विदेशी फौज र पूर्ववर्ती सरकारका ूसहयोगीहरूूलाई तारो बनाएको भन्ने चेतावनी राष्ट्रसङ्घका लागि गोप्य सूचना सङ्कलन गर्ने आरएचआईपीटीओ (रिप्टो) नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य दस्तावेजमा दिइएको हो।

‘तालिबानद्वारा तारो बनाइएका व्यक्तिहरू अहिले उच्च सङ्ख्यामा रहेका छन् र तिनलाई धम्की दिइएको कुरा स्पष्ट छ’ उक्त प्रतिवेदन बनाउने समूहको नेतृत्व गर्ने क्रिश्चियन नेलेमेनले बीबीसीसँग भनेका छन् । उनले तालिबानको सूचीमा रहेकाहरू एकदमै धेरै खतरामा रहेको र अफगानिस्तानमा आमहत्या हुनसक्ने चेतावनी पनि दिएका छन्।

तालिबानले गत आइतवार काबुल कब्जा गरेको थियो। उसले विदेशी सेनाले देश छाडेपछि अफगानिस्तानभरि नियन्त्रण कायम गर्न थालेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर