बाढीपीडितका ६ वर्ष- हटेन त्रिपालमूनिको बास, छैन सरकारको आश – Nepal Press

बाढीपीडितका ६ वर्ष- हटेन त्रिपालमूनिको बास, छैन सरकारको आश

सुर्खेत । २०७१ साउन २९ गते सुर्खेत जिल्लाभर भारी वर्षापछिको बाढीले ठूलो क्षति पु¥यायो । ६ वर्षअघि बाढीले घरखेत बगाएपछि विस्थापित भएका सुर्खेतका १ हजार ४५ परिवार अहिलेसम्म पनि पालबाट घरमा फर्किएको छैन ।

पुस महिनाको मध्यमा जाडो बढिरहेको छ । बाढीपीडित गरिव नागरिकलाई चिसोबाट जोगाउन न राज्य गम्भीर बनेको छ न उनीहरु न्यानो कपडा किन्ने हैसियदमा छन् ।

रातभरिको शीतले पाल चुहिने गरेको छ । बालबालिकामा निमोनियाको उच्च जोखिम छ । स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेसम्म नागरिकको दुःखलाई नजरअन्दाज गरिरहेका छन् । २०७१ सालमा आएको बाढीमा परी एकसय ३४ जनाको मृत्यु भएको थियो । जसमध्ये ९६ जना अझै वेपत्ता छन् ।

बराहताल गाउँपालिकाको वडा नं. २ गिरीघाटमा बस्दै आएकी पार्वती कामीको जीवनमा भेरीको बाढीले बज्रपात भयो । जीवनमा सबैभन्दा ठूलो विपत्ती व्यहोर्नु प¥यो । घर, खेत, आठ वर्षीया नातिनी, ७० वर्र्षीया सासुआमा र भान्जालाई गुमाइन् । तर आफूले भने रातभर किमुको रुखमा चढेर ज्यान जोगाइन् ।

बाढीमा बग्दाबग्दै बाँचेकी पार्वतीलाई अहिलेसम्म पनि बाँच्नकै लागि संघर्षरत छिन् । ६ वटा जाडो त्रिपालमै काटेकी पार्वती भन्छिन्, ‘न हर्ष छ, न कसैले केहि देलान भन्ने आशा नै बाँकी छ । यस्तो जाडोमा बच्चाहरुलाई कसरी रोग र भोकबाट जोगाउने भन्ने चिन्ताले अरु सोच्न भ्याइन्नँ ।’

पञ्चपुरी नगरपालिकाको तिखाकुनामा पालको छाप्रो बनाइ बस्दै आएका सर्जन थापालाई पनि सरकारप्रति विश्वास उडिसकेको छ । ‘मत माग्ने समय नजिकै आएको भन्ने सुनेको छु, पहिला चुनावमा घर बनाइदिने आश्वासन पुरा नगरेका नेताहरु यो वर्ष कस्तो आशा देखाएर मत माग्ने हुन थाहा छैन,’ उनी भन्छन्, ‘तर यो कठ्यांग्रिने जाडोमा जसरी हाम्रो मन चिसिएको छ, चुनावमा मत माग्न आउने नेतालाई बैशाखको टन्टलापुर घाममा त्यसै चिसो बनाएर पठाउने हो ।’

न घर रह्यो, न जग्गा जमिन बाँकी रह्यो । लामो समयको लकडाउनले ज्यालादारीका काम गर्न पनि पाइएन । यस्तोमा उनीहरुको दुःख झनै बढेको छ ।

वीरेन्द्रनगर नगरपालिका–७ महिला विकास केन्द्रमा पालमूनि बस्दै आइरहेकी विमला दमाईलाई यो वर्षको जाडोले ठूलै दशा निम्त्याएको महसुस भएको छ । ‘लकडाउनका कारण आम्दानी नभएको यो समयमा आएको जाडो मौसममा एउटा सिरक पनि किन्न सकिएन,’ विमला भन्छिन्, ‘६ वर्ष भइसक्यो हाम्रो त्रिपालमा जाडोयाममा तातो आएन ।’ मजदूरी गरेर पेट पाल्ने विमलाका लागि यो वर्षको जाडो कतै अभिसाप बनेर आउने हो की भन्ने चिन्ताले ग्रस्त बनाएको छ ।

चिसो मौसमले झनै चिन्तामा पार्छ, विमलालाई । चिसो मौसममा लगाउने न न्यानो कपडा छ, न त्रिपालले शीत थेग्यो छ । उनी भन्छिन्, ‘हाम्रा पालमा भ्वाङ परिसके, सरकारको मन कडा रहेछ, अलिकति पग्लीएको भए हामीलाई राहत हुन्थ्यो कि ?’

यसरी त्रिपालमै चिसो रात कटाउनेहरुको संख्या सानो छैन । विस्थापितमध्ये वीरेन्द्रनगर नगरपालिकामा ३ सय २२, पञ्चपुरीमा २ सय १४, बराहताल गाउँपालिकामा २ सय ५९, चौकनेमा ६, भेरीगंगामा १ सय ९८, गुर्भाकोटमा ३४ र लेकवेशीमा १२ परिवार हाल विभिन्न अस्थायी शिविरहरुमा बसिरहेको सरकारी तथ्यांक छ ।

यता, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी भने चालू आर्थिक वर्षमा कोरोनाका कारण बाढी पीडितको व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको कारण प्रक्रिया लम्बिएको बताउँछन् ।

‘हामीले अघिल्लो आर्थिक वर्षमा ६ करोड भन्दा बढी रकम बाढीपिडितको घर निर्माणका लागि पालिकालाई हस्तान्तरण गरिसकेका छौं । पालिकाले अनुगमन गर्ने, भवन निर्माण भए नभएको हेर्ने र भुक्तानी दिने काम गरेका छन् । अधिकांश जग्गा भएकाहरुले घर निर्माण थालेर पहिलो किस्ता वापतको रकम लिइसकेका छन्,’ उनले भने, ‘जग्गा नभएका पीडितहरुका लागि समस्या भएको छ । जग्गाको खोजी कार्य सरकारले गरिरहेको छ । त्यो हुने वित्तिकै यो समस्या पनि समाधान हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर