सार्वजनिक सवारीमा जोरबिजोर लगाउँदै चितवनमा निषेधाज्ञा थप – Nepal Press

सार्वजनिक सवारीमा जोरबिजोर लगाउँदै चितवनमा निषेधाज्ञा थप

चितवन । सार्वजनिक सवारीलाई जोर-बिजोर प्रणालीमा सञ्चालन गर्ने गरी चितवनमा एक हप्ता निषेधाज्ञा थपिएको छ । भोलि राति १२ बजेदेखि लागू हुने गरी असार ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो ।

चितवनका सीडीओ प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा जिल्लाभित्र सार्वजनिक सवारी चलाउन दिइने उल्लेख छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने, चालक सहचालकले अनिवार्य मास्क र भाइजर लगाउनुपर्ने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, सवारीसाधनलाई दैनिक निसंक्रमण गर्ने सर्त पालना गरेपछिमात्रै जोर-बिजोर प्रणालीमा सवारी चलाउन पाउने आदेशमा उल्लेख छ ।

अत्यावश्यक सवारी, खाद्यान्न, निर्माण सामाग्री ढुवानी गर्ने, मालवाहक सवारीसाधन, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन कार्यमा प्रयोग हुने सवारी भने चल्न पाउने छन् । राजमार्ग भई अन्य जिल्लामा जाने सवारीहरु पनि चल्न पाउने छन् । यसअघि चितवनमा बढीमा ३ जनासम्म यात्रु राखेर चलाउन पाइने गरी अटोरिक्सा र ट्याक्सी सञ्चालनमा १६ गतेनै खुकुलो पारिएको थियो । पसलहरु विहान ११ बजेदेखि साँझ ७ बजेसम्म खुल्न पाउने भएका छन् । यसअघि आलोपालो र समयसीमा तोकेर पसल खोल्ने व्यवस्था थियो । खाजाघर, रेष्टुरेण्ट, मिठाई पसलबाट टेकअवे र होमडेलिभरी विहान ११ बजेदेखि साँझ ७ बजेसम्म गर्न पाइने उल्लेख छ । तर, सिनेमा, पार्टी प्यालेस, व्युटिपार्लर, सैलुन खोल्न पाइने छैन । सभा, सम्मेलन, जात्रा, महोत्सवमा भने रोक लगाइएको छ ।

यसअघि चितवनमा असार १६ देखि सबै सरकारी कार्यालय खोल्ने गरि आदेश जारी गरेको थियो । सो आदेशमा मालपोत कार्यालय, नापी कार्यालय तथा यातायात व्यवस्था कार्यालय जस्ता बढी भीडभाड हुने कार्यालय आलोपालो खुल्दै आएका थिए । चितवनमा नवौँ पटक निषेधाज्ञाको आदेश जारी गरिएको हो । वैशाखमा १५ र ३१ गते, जेठमा १२ , १९ र २६ गते, असारमा २, ९ र १६ गते आदेश जारी गरिएको थियो ।

चितवनमा कोभिड संक्रमणको अवस्था के छ ?

स्वास्थ्य कार्यालय चितवनले असार १८ गते सार्वजनिक गरेको १६ महिनाको तथ्यांकमा जेठदेखि संक्रिय संक्रमितको संख्या घटेको दखिन्छ । वैशाखमा ४ हजार १ सय ८२ जना संक्रमित भेटिँदा ५० जनाको ज्यान गएको थियो । जेठमा ३ हजार ८ सय ९० जना संक्रमित बन्दा ८८ जनाको ज्यान गएको थियो । असारमा १ हजार ३ सय ६६ जना संक्रमित बन्दा ३४ जनाले ज्यान गुमाएका थिए ।

अघिल्लो चैतदेखि असार सम्मको तथ्यांक केलाउँदा गत साउनदेखि संक्रमणदर बढेर कार्तिकमा उच्चविन्दुमा पुगेको थियो । त्यो बेला कार्तिकमा २ हजार १ सय ५८ जना संक्रमित बन्दा ४४ जनाले ज्यान गुमाएका थिए । त्यसपछि भने संक्रमण दर ओरालो लागेको थियो । ०७७ फागुनमा ९६ जना संक्रमित बन्दा ३ जनाले ज्यान गुमाएका थिए । चैतदेखिभने संक्रमणदर बढ्न थालेको थियो । बैशाखमा अहिलेसम्मकै उच्च विन्दुमा चितवनमा कोभिडको संक्रमण फैलिएको थियो । १६ महिनामा सबैभन्दा धेरै मृत्यु हुनेमा ६१-७० र ५०-६० उमेर समूहका धेरै छन् । युवाअवस्थाका कमको मृत्यु भएको देखिन्छ ।

निको भएर घर जाने करिब ९१ प्रतिशत छन् । पछिल्लो २४ घण्टामा भने १ सय ३५ जनामा संक्रमण पहिचान भएको छ । १ जनाको मृत्यु भएको छ । हालसम्म चितवनका २ सय ८८ जनाले ज्यान गुमाएका छन् भने कुल संक्रमितको संख्या १६ हजार ९ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा सक्रिय संक्रमित १ हजार ३ सय १ जना रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन र बाहिरी जिल्लाका कोभिडका २ सय ३० जना बिरामीको उपचार चितवनका अस्पतालहरुमा भैरहेको छ । जसमध्ये आइसीयुमा ७६ जना, एचडीयूमा ४४ जना, भेन्टिलेटर सहित एचएफएनसीमा १७ जना, साधारण आइसोलेसन बेडमा १ सय १० जनाको उपचार भैरहेको छ । बुधबारमात्रै विभिन्न अस्पतालबाट २४ जना डिस्चार्ज भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *