यी हुन् लगानी सम्मेलनमा भएका सम्झौता, ३५ देखि ४५ दिनसम्म आशयपत्र पेश गर्न समय – Nepal Press

यी हुन् लगानी सम्मेलनमा भएका सम्झौता, ३५ देखि ४५ दिनसम्म आशयपत्र पेश गर्न समय

८ सय विदेशीको सहभागिता

काठमाडौं ।  साेमबार(हिजाे)बाट तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सकिएको छ । यो सम्मेलन दुई दिन चलेको थियो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सचिव सुशील भट्टले लगानी प्रवद्र्धनका लागि अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिन नेपाल सफल भएको बताए ।

तेस्रो लगानी सम्मेलनमा प्रदर्शन गरेका परियोजनाहरूमा संसारभरका व्यवसायी, उद्यमी र लगानीकर्ताबाट अत्यधिक चासो प्राप्त भएको जानकारी दिए ।

सम्मेलनमा ८ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सय भन्दा बढीको सहभागिता थियो । सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डीङ (लगानीकर्ताको प्रतिक्रिया संकलन) ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत गरिएको थियो । आशयपत्र पेश गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको छ ।

विश्व बैंक समूह, चीन, भारत, कुवेत, युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गरी नेपालमा लगानीका अवसरहरू खोज्न चासो व्यक्त व्यक्त गरेका छन् । नेपालको दिगो विकास पहलहरूलाई समर्थन गर्ने प्रतिबद्धता पनि यी निकायहरुले जनाएका छन् ।

लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौताहरु भएका छन् । सम्मेलनको पहिलो दिन डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको थियो ।

आइतबार नै नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स, मलेसिया बीच द्विपपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको थियो । महासंघले फेडेरेसन अफ् मलेसियन म्यानुफ्याक्चरर्ससँग पनि सहकार्यका लागि सम्झौता गरेको छ ।

लगानी सम्मेलनको दोस्रो दिन सोमबार नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवद्र्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ ९वाप० र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स’ (नाप) बीच द्विपक्षिय सहकार्यसम्बन्धी समझदारी भएको छ । सम्मेलनका क्रममा साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप हङकङबीच वेलनेस रिसोर्ट तथा होटल व्यवसायमा सहकार्य सम्बन्धी सम्झौता भएको छ । कपिलवस्तुको गोरुसिंघेमा १०० मिलियन युआन लगानी (जग्गाबाहेक) मा यो परियोजना प्रस्तावित भएको छ ।

सम्मेलनका क्रममा ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच तथा नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको छ ।
मुगु जिल्लाको रारा ताल क्षेत्रमा लक्जरी रिसोर्ट निर्माणका लागि लगानी गर्न एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडबीच सम्झौता भएको छ । नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी)र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

विप्रेषण आप्रवाहको रकम जलविद्युत आयोजनामा लगानी गर्ने गरी रेमिट हाईड्रो परियोजना संचालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदहरु बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यसका साथै तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत् विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ । विभागले आजै स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत् विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटनसमेत गरेको छ ।

सम्मेलनको दोस्रो दिन समापन सत्रका अतिरिक्त सार्वजनिक–निजी साझेदारीसम्बन्धी मूल सत्रका साथै विभिन्न तीन चरणमा १० समानान्तर सत्रहरू सम्पन्न भएका थिए । सम्मेलनस्थलमा सरकारी निकाय, निजी क्षेत्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, दातृ निकायका २३ वटा स्टल (प्रदर्शनी कक्ष) राखिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर