कांग्रेस महाधिवेशन कार्यतालिका प्रभावित, क्रियाशील कार्यकर्ता छानविन समितिले काम सकेन – Nepal Press

कांग्रेस महाधिवेशन कार्यतालिका प्रभावित, क्रियाशील कार्यकर्ता छानविन समितिले काम सकेन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका पुनः प्रभावित हुने भएको छ । महाधिवेशन कार्यतालिका अनुसार असार २० गते अर्थात आज क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यता विवाद टुंग्याएर सदस्यता सूची केन्द्रीय समितिलाई बुझाउनुपर्ने थियो ।

तर छानबिन समितिले अहिलेसम्म ३० जिल्लाको सदस्यता विवाद समाधान गरेर अन्तिम रुप दिएको छ । बाँकी ४७ जिल्लाबारे निर्णय लिनै बाँकी छ । त्यसमध्ये कतिपय जिल्लामा समायोजन विवादका कारण क्रियाशील वितरणको काम जारी नै छ ।

सदस्यता छानबिन समितिले गौशालास्थित नेपाल–भारत मैत्री भवनमा बसेर काम गरिरहेको छ । कार्यतालिका अनुसार आज क्रियाशील सदस्यताको सूची केन्द्रीय समितिमा बुझाउन सक्ने अवस्था नरहेको समितिका सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

‘विवाद समाधानको विधि र मापदण्डबारे पदाधिकारी बैठकले नै ढिलो गरी निर्णय गरेकोले केही समय लाग्ने देखियो । ३० जिल्लाका सकेका छौं, सबै टुंग्याउन अझैं हप्ता दसदिन लाग्छ होला,’ पौडेलले नेपाल प्रेससँग भने ।

उनले पदाधिकारी बैठकको निर्णय अनुसार सदस्यता उजुरीबारे छानबिन गर्दै टुंगो लगाइएको बताए । ‘पार्टीमा जुन सहमति बनेको छ त्यसकै आधारमा काम भइरहेको छ । जहाँ विवाद बल्झन्छ, टुंग्याउन गाह्रो पर्छ त्यो विषय पुनः शीर्ष तहमा जानेछ,’ पौडेलले भने ।

कांग्रेस केन्द्रीय समितिको २०७७ फागुन ६ गतेको बैठकले रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानबिन समिति बनाएको थियो । समितिमा केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना, प्रदीप पौडेल, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् ।

महाधिवेशन कार्यतालिका अनुसार आज छानबिन समितिले केन्द्रीय समितिलाई, असार ३० भित्र केन्द्रीय समितिले निर्वाचन समितिलाई सदस्यता बुझाउनुपर्नेछ ।

केन्द्रीय सभापतिले हस्ताक्षर गरेर सदस्यता सूची निर्वाचन समितिलाई बुझाउने समय असार ३० सम्म भएकोले सो अवधिसमेत छानबिन समितिले उपयोग गरेर असार ३० भित्र सदस्यता टुंग्याउने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर