राज्यको प्राथमिकतामा उद्यमशीलता : मन्त्री भण्डारी – Nepal Press

राज्यको प्राथमिकतामा उद्यमशीलता : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्यमशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताएका छन् ।

काभ्रेपलान्चोकको सीमा क्षेत्र भक्तपुरको सूर्य विनायक नगरपालिका-१० मा अवस्थित एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा भारतको आइसिटी ग्रुपद्वारा निर्मित फर्च्युन रिसोर्ट एन्ड वेलनेस स्पाको आज एक समारोहबीच उद्घाटन गर्दै उनले उद्योगजन्य उद्यमशीलतामा उत्पादनका आधारमा सरकारले अनुदान तथा सहुलियत दिने बताए ।

‘उद्योगजन्य, खानी तथा खनिज जन्य क्षेत्र, उद्यमशीलता, साना–मझौला उद्यमको विकास आजको आवश्यकता हो, कृषि उपजका क्षेत्रहरूलाई पनि समेटेर उद्यमशीलतामा जोड दिऔँ, उत्पादनका क्षेत्र पहिचान गरौँ, सरकारले उत्पादनको आधारमा अनुदान तथा सहुलियत दिनेछ’, मन्त्री भण्डारीले भने ।

उनले नेपालमा खाद्यान्न आयातलाई प्रतिस्थापन गर्न नेपालमै आवश्यक खाद्यान्न उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए । मन्त्री भण्डारीले भने, ‘उद्यमशीलता विकासले रोजगारी सृजना हुन्छ, काम गर्ने अवसर प्राप्त हुन्छ र सरकारको आन्तरिक राजश्व वृद्धिमा पनि टेवा पुग्नेछ ।’

मन्त्री भण्डारीले बाह्य लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताए । ‘निजी होटेल, रिसोर्ट निर्माणले पर्यटकीय गन्तव्य बढ्दछन्, पर्यटन ‘हब’का रूपमा विकास हुँदा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिन्छ’, उनको भनाइ थियो। नेपालका अन्य क्षेत्रमा पनि लगानी गर्न सरकार प्रोत्साहन गर्ने उनको धारणा थियो ।

जल सम्पदाको अपार धनी नेपालमा ऊर्जाको विकास नै समृद्धिको आधार भएको मन्त्री भण्डारीको भनाइ थियो । उनले सरकारले उद्यमशीलताका माध्यमबाट राष्ट्रिय पुँजी निर्माण गरी रोजगारी सृजना गर्न सके मात्र ‘सुखी नेपाली र समृद्ध नेपाल’को आकाङ्क्षा पूरा हुने बताए ।

   


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर