बाढी पीडितको उद्धार गर्न पाए हुन्थ्योः अध्यक्ष बस्नेत – Nepal Press

बाढी पीडितको उद्धार गर्न पाए हुन्थ्योः अध्यक्ष बस्नेत

सुर्खेत । सुर्खेत जिल्लाको पश्चिममा पर्ने बराहताल गाउँपालिकामा तीन वर्षअघि एकाध वडा बाहेक अन्यमा सडक पुगेको थिएन । पुगेका वडाका सडकको अवस्था पनि दयनीय नै थियो ।

खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रको अवस्था कमजोर थियो । दुईवटा वडामा बाहेक अन्यत्र बिजुली बलेको थिएन । कृषिमा आम किसानहरू व्यावसायिक रूपमा लागिसकेका थिएनन् ।

त्यही बीचमा चुनाव भयो । चुनावमा लामो समय शिक्षण पेशामा भिजेका अनुभवी तेजबहादुर बस्नेत नेपाली कांग्रेसबाट चुनाव लडे । उनले चुनावताका शिक्षा क्षेत्रको विकास गर्ने, स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउने, रोजगारी सिर्जना गर्ने, सडक निर्माण गर्नेलगायतका धेरै प्रतिबद्धता जनाए । फलतः उनले चुनाव पनि जिते ।

दश वटा वडा रहेको बराहताल गाउँपालिकामा आजसम्म के काम भयो, चुनावताका गरिएका प्रतिबद्धता कति पूरा भए भन्ने बारेमा नेपाल प्रेसले बस्नेतसँग कुराकानी गरेको थियो । प्रस्तुत छ, कुराकानीको सारसंक्षेप उनकै शब्दमाः

चुनावमा शिक्षा, खानेपानी, रोजगारी, बेसहारा, असहायका लागि अलग्गै व्यवस्था गर्छौं भनेका थियौं । हामीले अहिले यहाँ विद्यार्थीलाई छात्रवृत्ति वृद्धि गरेका छौं । बाबुआमा नभएका, दलित, असहाय, विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने चलन छ । बाबु पनि भएको, आमा पनि भएको, तर आमा अर्कैसँग गएको वा बाबुले अर्की आमा ल्याएको अवस्थामा विद्यार्थीलाई समस्या पर्ने गरेको हामीले देख्यौं । यस्ता १५ जनाभन्दा बढी विद्यार्थीलाई नियमित रूपमा नेपाल सरकारले तोके बमोजिमको छात्रवृत्ति दिइरहेका छौं ।
विद्यालय मर्ज अभियान शुरू गरेका छौं । यसो गर्नुको मुख्य कारण के हो भने, टोलटोलमा विद्यालय खोल्ने तर दक्ष जनशक्ति राख्न नसकिने अवस्था आयो । स्थानीय तथा पालिकाले शिक्षक राख्न नसक्ने अवस्था आएपछि नजिकका विद्यालयमा ती विद्यालयलाई मर्ज गर्ने अभियान शुरू गरेका छौं । मर्ज गर्ने विद्यालयलाई हामीले सहुलियत दिने काम गर्दै आइरहेका छौं ।
जनमावि बड्डिचौरले दुई विद्यालयलाई मर्ज गरेको छ । त्यसका लागि विद्यालयलाई गाडी खरीद गर्नका लागि हामीले पैसाको व्यवस्था गरेका छौं ।
हाम्रो पालिकामा ५६ वटा विद्यालय छन् । विद्यालय मर्ज गर्ने अभियान वडा नं. १ बाट शुरू गरेर १० नम्बरमा पुगेर अभियान टुङ्ग्याउँछौं । १२ वटा विद्यालय मर्ज हुन्छन् । यसका फाइदा भनेको शिक्षकको संख्या थप्नु परेन । विद्यालय गाभ्दा दक्ष शिक्षक राख्न सकिन्छ ।
बरु सडकको पहुँच भएका विद्यालयमा साधनको व्यवस्थापन मिलाउने, यातायातको व्यवस्था नभएको स्थानमा एक मिटर चौडा बाटो बनाउने, दिवा खाजा दिने जस्ता काम गर्छौं । यसका अलावा हामीले हरेक वर्ष तीनदेखि चार वटा विद्यालय भवन निर्माण गर्दै आइरहेका छौं । साथै; शौचालय, खानेपानीको व्यवस्थापन गर्दै आइरहेका छौं ।
प्राविधिक शिक्षालयमा बीएस्सी एजी अध्यापन गराउने योजना बनाएका छौं । मावि दमारमा अभ्यास भइरहेको छ । प्राविधिक शिक्षालय स्थापना गर्ने प्रक्रियामा जाँदा लामो समय लाग्ने रहेछ । भने जसरी फ्याट्ट गर्न नसकिने रहेछ ।

१० वडामा ११ स्वास्थ्य केन्द्र, ६० पुगेका गैरदलित महिला स्वयंसेविकालाई ५०० भत्ता
स्वास्थ्य क्षेत्रमा १० वटै वडामा स्वास्थ्य केन्द्र खोलेका छौं । पाँच वटा पुराना स्वास्थ्य केन्द्र थिए । बाँकी पाँच वटा थप गरेका छौं । वडा नं. ७ मा एक थप गरेका छौं । योसहित ११ पुगेका छन् । हरेक केन्द्रमा भवन बनाएका छौं । वडा नं. ५ मा सुत्केरी सेवा शुरू हुँदैछ ।
नेपाल सरकारले दिएको नम्स अनुसार हरेक केन्द्रमा औषधि दिइरहेका छौं । स्थानीय तहबाटै कर्मचारी राखेका छौं । अहेव, अनमी एक–एक पर्ने गरी नियुक्त गरेका छौं ।
६० वर्षपछि दलित महिला स्वयंसेविकालाई राज्यले नै वृद्ध भत्ता दिन्छ तर अन्य जातिको हकमा यो लागू भएको हुँदैन । जीवनभर स्वयंसेविकाले गरेको त्याग अनुसार त्यसको सम्मान गर्नका लागि यही वर्षदेखि त्यस्ता स्वयंसेविकालाई महिनाको ५०० भत्ता दिने निर्णय गरेका छौं ।
यहाँका नागरिक बिरामी हुँदा उपचारका लागि टाढा लैजानुपर्दा भोग्नु परेको समस्यालाई ध्यान दिएर दुई वटा एम्बुलेन्स खरीद गरेका छौं । ती एम्बुलेन्सले सुत्केरी हुन नसकेका महिलालाई वीरेन्द्रनगरसम्म निःशुल्क रूपमा लैजाने व्यवस्था गरेका छौं ।
स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाको संख्या अत्यधिक कम थियो । हामीले सुत्केरी भत्ता २८०० पु¥याएका छौं । अहिले अधिकांश महिला स्वास्थ्य संस्थामा नै सुत्केरी हुन आउनुहुन्छ । जनचेतनामूलक कार्यक्रमहरू पनि हामीले संचालन गरेका छौं । यसको अलावा प्राथमिक स्वास्थ्य केन्द्रका लागि अक्सिजन खरीद गरेका छौं ।

वडा नं. ३ बाहेक अन्यत्र सडक पुर्‍यायौं
वडा नं. ३ को वडा कार्यालयमा बाहेक अन्यत्र सबै वडा कार्यालयमा सडक पहुँच पुगेको छ । वडा नं. ६ को इखिनीलगायतका भित्री बाटाहरू धनिकाँडा, तेलपानी बनाउँदा तीन वर्ष वितेको छ । दर्नाकोट थारी, धनिगाड बनेकाँडा श्रीचौर, रानीघाट तेलपानी, ज्यामिरे कुटालगायत क्षेत्रमा ४०० किलोमिटर भन्दा बढी कच्ची सडक निर्माण गरेका छौं । अब ती सडकको स्तरोन्नति गर्छाैं । कालोपत्रे गर्न हाम्रो सामथ्र्यले नभ्याए पनि ती सबै सडकलाई ग्राभेल गर्छौं ।

सिंचाइमा लिफ्ट प्रविधिको प्रयोग
कुनाथरी, बेल्चौरमा सिंचाइ आयोजना सम्पन्न हुने क्रममा छन् । तरंगामा ६ करोडको लिफ्टिङ सिंचाइ आयोजना निर्माण भइरहेको छ । वडा नं.२ रानीघाट पाग्म, वडा नं. ८ को दमार, वडा नं. ६ बुटीमा पक्की सिंचाइ नहर बनाइरहेका छौं । यी सबै आयोजना एक–दुई वर्षमा सम्पन्न हुनेछन् । यसले यहाँका किसानको आयआर्जन वृद्धि गर्नुका साथै समृद्ध बराहताल निर्माण गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ ।

सात वडामा उज्यालो
म निर्वाचित हुँदा वडा नं.२ र ९ मा मात्रै बिजुली थियो । अहिले वडा नं. ९, १०, ८, ५, १, २ मा बिजुली बलेको छ । वडा नं. ४ मा काम भइरहेको छ । ६, ७ र ३ मा बाँकी छ । वडा नं. ३ मा सोलार उज्यालो कार्यक्रम छ । ६० लाखको उक्त योजना अबको केही समयमा नै सकिन्छ ।
कृषि क्षेत्रमा तरकारी उत्पादनका लागि पकेट क्षेत्र तोकेका छौं । मासु उत्पादन क्षेत्र छुट्याएका छौं । दूध उत्पादन क्षेत्र, बाख्रा प्रोत्साहन कार्यक्रम लागू गरेका छौं । यसका लागि आवश्यक सहयोग, अनुदानका कार्यक्रम पालिकाभरि लागू गरेका छौं ।
कृषकले उत्पादन गरेको वस्तु खेर नजाओस् भनेर बजारीकरणको व्यवस्था पनि गरेका छौं । पहिले अधिकांश स्थानमा फोन लाग्दैनथ्यो । अहिले सबै स्थानमा फोन लाग्छ ।

बराहताल चिनाउन हामीले दश वटा पर्यटकीय क्षेत्र

बराहताल चिनाउन हामीले दश वटा पर्यटकीय क्षेत्रलाई गन्तव्यको रूपमा छानेका छौं । बराहताल, पाइथापे ढुंगा, चमेरी गुफा, बौद्ध विहार, कालिका मन्दिर, बटु भैरवलगायतका पर्यटकीय क्षेत्रको विकास गर्ने योजनामा हामी छौं ।
अहिले बराहताललाई ध्यान दिएका छौं । आठ करोडको डीपीआर निर्माण गरेका छौं । बजेटको व्यवस्थापनमा हामी जुटेका छौं । तालसम्म पुग्ने पहुँच मार्ग खोलेका छौं । अन्य संरचना पनि विस्तारै निर्माण गर्दै जानेछौं ।

वडा नं. ४ मा बृहत् खानेपानीको उद्घाटन
वडा नं. ४ मा बृहत् खानेपानीको उद्घाटन भएको छ । ७०० घरपरिवार यो आयोजनाबाट लाभान्वित भएका छन् । वडा नं. १० मा सम्पन्न, ९ मा सुचारु, ६ मा आउने वर्षमा खानेपानी, ८ र ५ मा खानेपानी योजना सञ्चालनमा छन् । बराहतालमा खानेपानीको समस्या खासै छैन । एकाध टोल छुटेका होलान् ।
शुद्धीकरण गर्नका लागि नाप्ने यन्त्रहरू ल्याएका छौं । सबै पानीका मुहानहरूमा शुद्धता परीक्षण गरेका छौं । खानेपानीका कारण कोही बिरामी नपरुन् भन्नेमा हामी सचेत छौं ।
मैले निर्वाचनताका गरेका प्रतिबद्धता अनुसार सबै कामको शुरुआत गरेको छु । कहिलेकाहीं सबै व्यक्तिलाई सन्तुष्ट बनाउन सकेनछु जस्तो लाग्छ । सबैलाई सन्तुष्ट बनाउन सकिंदो पनि रहेनछ ।

अबको मेरो सपना भनेकै भेरी नदीमा पुल बनाउने हो । रानीघाटमा ठेक्का परे पनि पुल बनेको छैन । हारगुहार गर्दा पनि पुल निर्माण कार्य अघि बढाउन सकिएन । तरंगा र चेपांग क्षेत्रमा पुल बनिदिएको भए हुन्थ्यो जस्तो लाग्छ ।
खेतीयोग्य जमीन पर्याप्त भए पनि सिंचाइ खट्किएको छ । तल बगिरहेको भेरीबाट माथि पानी ल्याउन सकेको भए हुन्थ्यो जस्तो लाग्छ । अहिले ४०० भन्दा बढी बाढी पीडितहरू पालिकामा छन् । उनीहरूको व्यवस्थापन गर्न सकें भने चुनाव जितेको सार्थक हुन्थ्यो । चुनावमा गरेका प्रतिबद्धता पूरा हुन्थे ।

२०७१ सालमा आएको बाढीले उनीहरूलाई सडकमा ल्याएको छ । उनीहरू जाडोयाममा कठ्यांग्रिन बाध्य छन् । त्यसबाट उनीहरूको उद्धार गर्ने चाहना छ ।
यसका अलावा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको प्याकेजमा नै विकास गर्न पाए अति राम्रो हुनेथियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर