जटही नाकामा भारतबाट फर्कने बढे, नदेखेजस्तो गर्न वाध्य स्वास्थ्यकर्मी (भिडियोसहित) – Nepal Press

जटही नाकामा भारतबाट फर्कने बढे, नदेखेजस्तो गर्न वाध्य स्वास्थ्यकर्मी (भिडियोसहित)

जनकपुरधाम । धनुषास्थित जटही नाकाहुँदै दैनिक सयौं मानिस भारतबाट नेपाल आइरहेका छन् । भारतमा कोरोना संक्रमण अधिक भएपछि सुरक्षित हुन उनीहरु नेपाल आएको बताउँछन् । तर, उनीहरुकै कारण नेपाली समुदायमा संक्रमण बढ्ने भन्दै स्थानीय भयवित भएका छन् ।

भारतबाट फर्कने मात्रै होइनन्, नगराइन नगरपालिका वरपरका मानिसहरु एक लिटर तेल लिन पनि भारत पुग्ने गरेका छन् । भारतबाट सामान खरिद गरेर नेपालतिर आउँदै गरेका एक वृद्धले भने, ‘कोरोनाको त डर त लाग्छ, तर के गर्नु सामान किन्न जानैपर्ने वाध्यता छ ।’

नाकामा हेल्प डेस्क स्थापना गरिएको छ । जहाँ एकजना स्वास्थ्यकर्मी बसेका छन्, तर उनी भारतबाट आउने मानिसलाई नदेखेझैं गर्छन् । भारतबाट फर्किनेको चेकजाँच पनि भइरहेको छैन ।

वैशाख ९ गतेबाट यहाँ हेल्प डेस्क सञ्चालनमा रहेको अहेब निकेन्द्रकुमार साहले जानकारी दिए । उनले भारतमा सात दिनभन्दा बढी बसेर फर्किनेहरुको मात्र चेकजाँच गरिरहेको बताए । बजारबाट समान लिएर आउने/जाने व्यक्तिलाई चेकजाँच नगर्ने गरेको उनको भनाइ छ ।

‘कोरोना त एकछिनमै लाग्न सक्छ’, सिअहेब साहले भने, ‘तर भारत गएर ६ दिनसम्म बसेर फर्केकालाई चेकजाँच गर्न भनेको छैन ।’ भारतबाट फर्किनेमा कोरोनाको लक्षण देखिए आरडिटी परीक्षण गर्न भनिएको छ । तर अहिलेसम्म कसैमा पनि लक्षण नदेखिएको सिअहेब साहले बताए ।

उनका अनुसार सात दिनभन्दा बढी भारतमा बसेर वैशाख ९ गतेयता १५९ जना मात्र फर्केका छन् । तर भारतबाट फर्किनेको लर्को हेर्दा यो तथ्यांकलाई सही मान्न सकिदैन । कामको शैली हेर्दा नामका लागि मात्र हेल्प डेस्क सञ्चालन गरिएको छ ।

जटही नाका पुग्न सशस्त्र प्रहरीको वेश क्याम्प पार गर्नुपछ । मानिसको आवतजावत रोक्न प्रहरीले बाँस तेर्साएर बाटो बन्द गरेको छ । तर पनि मोटरसाइकल, साइकल र टेम्पो सीमा नाकासम्म पुग्छ । भारतबाट नेपाल भित्रिएका यात्रुलाई टेम्पाले ओसार्छ ।

बसलाई भने नाकासम्म पुग्ने अनुमति छैन । बसले यात्रु ओर्सादा पनि कुनै स्वास्थ्य मापदण्ड पालना गरिएको पाइँदैन ।

बसमा चढेका यात्रुले मास्क समेत लगाउँदैनन् । मास्क लगाएकाहरुले पनि चिउँडो मात्रै छापेको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर