गौतम बुद्ध क्रिकेट रंगशालाका लागि रत्ननगर नगरपालिकाको १० लाख सहयोग – Nepal Press

गौतम बुद्ध क्रिकेट रंगशालाका लागि रत्ननगर नगरपालिकाको १० लाख सहयोग

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि रत्ननगर नगरपालिकाले १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

रंगशाला निर्माणका लागि नगरपालिकाले १७ लाख रुपैयाँ सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा १० लाख प्रदान गरेको हो ।

नगरपालिकाको तर्फबाट १५ लाख, जनप्रतिनिधिको तर्फबाट एक लाख र कर्मचारीको तर्फबाट एक लाख गरी १७ लाख आर्थिक सहयोग गर्ने घोषणा गरिएअनुसार सहयोग रकम हस्तान्तरण गरिएको नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले धुर्मुस सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनालाई बुधबार १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख वनले कोरोना महामारीका कारण रंगशाला निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरणमा ढिलाइ भएको स्वीकारे । उनले भने, ‘चितवनमा अन्तर्राष्ट्रिय गौरवको आयोजना बनिरहेको छ । यो अन्तर्राष्ट्रिय महत्वको विषय भएकाले सहयोग जारी राख्नेछौँ ।’

चितवन मुलुकको तेस्रो पर्यटकीय गन्तव्य भएकाले रंगशालाले जिल्लामा खेलकूदको माध्यमबाट पर्यटनको विकास हुने उनको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत कुँवरले बाँकी सात लाख पनि छिट्टै हस्तान्तरण गरिने जानकारी दिए । रासस 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *