त्रीदेशीय सिरिज : पारसलाई चोट, नेपाली टिमको कहाँ-कहाँ खोट ? – Nepal Press

त्रीदेशीय सिरिज : पारसलाई चोट, नेपाली टिमको कहाँ-कहाँ खोट ?

काठमाडौं । कोरोनाले लामो समयदेखि नेपालको अन्तर्राष्ट्रिय क्रिकेट सुनसान थियो । एक वर्षभन्दा लामो यो सन्नाटा चिर्दै नेपालले आजदेखि घरेलु मैदानमा त्रिदेशीय टि–२० सिरिज खेल्दै छ । दुई कारणले नेपालका लागि यो प्रतियोगिता महत्वपूर्ण हुने छ ।

पहिलो त एक वर्षभन्दा लामो ग्यापमा नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको हो । योबीचमा खेलाडीले केही घरेलु प्रतियोगिता खेलेका छन् । तर, राष्ट्रिय टिमबाट खेल्दाको माहोल र दवाव बेग्लै हुन्छ । यस प्रतियोगितामा जितमार्फत नेपाल आफ्नो आगामी यात्रा तय गर्न चाहन्छ ।

दोस्रो भनेको, नेपालसँग अहिले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक डेभ वाटमोर जोडिएका छन् । उनको नेतृत्वमा नेपालको राष्ट्रिय क्रिकेट टिमले पहिलोपटक खेल्न लागेको हो । श्रीलंकालाई विश्वकप क्रिकेटको उपाधि जिताएका हाइप्रोफाइल प्रशिक्षकसँग नेपालले निकै आशा गरेको छ ।

वाटमोर साढे चार महिनाअघि नै प्रमुख प्रशिक्षक नियुक्त भएर आएका हुन् । तर, कोरोनाका कारण एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता रद्द हुँदा उनको प्रशिक्षणमा नेपालले मैदानमा उत्रिने अवसर पाएको थिएन । यद्यपि, वाटमोरले यतिञ्जेलमा नेपाली टिमको स्तर जाँचिसकेका छन् । खेलाडीको नाडी छामिसकेका छन् । अब आफूलाई प्रमाणित गरेर देखाउने चुनौती उनलाई पनि छ ।

यो प्रतियोगितामा नेपाल नेदरल्यान्ड्स र मलेसियासँग भिड्दैछ । नेदरल्यान्ड्स नेपालभन्दा केही बलियो र मलेसिया कमजोर मानिन्छ । यद्यपी, पछिल्लो टि–२० वरियतामा नेदरल्यान्ड्स नेपालभन्दा दुई स्थान पछाडि छ । विश्व वरियतामा नेपाल १५ औ र नेदरल्यान्ड्स १७ औ स्थानमा छन् । मलेसिया भने नेपाल र नेदरल्यान्ड्सभन्दा निकै पछि ३१ औं स्थानमा छ ।

पारसबिनाको ब्याटिङलाइन

त्रिदेशीय प्रतियोगिताअघि नेपाली टिमलाई गम्भिर धक्का लागेको छ । नेपालका पूर्व कप्तान तथा टिमका प्रमुख ब्याट्सम्यान पारस खड्काले चोटका कारण प्रतियोगिता गुमाएका छन् । यसले नेपालको ब्याटिङ लाइनमा ठूलो खाडल पदा गरेको छ, जसलाई पूर्ति गर्न वाटमोर र कप्तान ज्ञानेन्द्र मल्ललाई सहज छैन् ।

त्रिदेशीय सिरिजका लागि घोषित नेपाली टिममा भरपर्दा ब्याट्सम्यानको अभाव स्पष्ट देखिएको छ । पारसको अनुपस्थितिमा ज्ञानेन्द्रले अग्रपंतिको बोझ उठाउनुपर्ने छ भने मध्यक्रम दिपेन्द्रसिंह ऐरी र आरिफ सेखले धान्नुपर्ने छ । टि–२० विशेषज्ञका रुपमा विनोद भण्डारी र कुशल मल्ल छन् । कुशल भुर्तेलले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् भने घरेलु प्रतियोगितामा राम्रो रेकर्ड भएका आसिफ सेख पनि टिममा छन् । यद्यपि, उनीहरु दुवै धेरै भरपर्दा होइनन् ।

ओपनिङ जोडी को ?

ओपनिङ जोडी परम्परागतरुपमा नै नेपाली क्रिकेटका लागि टाउको दुखाइ बन्दै आएको छ । प्रतियोगिताको अघिल्लो दिनसम्म पनि ओपनिङ जोडीको टुंगो लागो लागेको छैन ।

टिममा ओपनरका रुपमा खेल्न सक्ने तीन ब्याट्यम्सान ज्ञानेन्द्र मल्ल, आसिफ सेख र कुशल भुर्तेल छन् । उनीहरुमध्ये ज्ञानेन्द्रले आपनिङ गर्ने लगभग तय भए पनि उनलाई आसिफ र कुशलमध्ये कसले उलनाई साथ दिने भन्ने तय भइसकेको छैन । दिपेन्द्रलाई ज्ञानेन्द्रसँग ओपनिङ गराउने विकल्प भए पनि त्यसले मध्यक्रममा ठूलो रिक्तता पैदा गर्न सक्छ ।

सन्दिपमा निर्भर बलिङ

नेपाल विगतमा बलिङमा निकै बलियो मानिन्थ्यो । तर, पछिल्लो समयमा नेपालको बलिङ स्तर खस्केको छ । खासगरि, फास्ट बलिङ ।

नेपालसँग सुपरस्टार स्पिनर सन्दिप लामिछाने छन् । फास्ट बलिङको नेतृत्व सोमपाल कामीले गर्ने छन् । तर, उनीहरु पछाडिको बलिङमा अनुभवको कमि देखिन्छ । करण केसी, अविनाश बोहोरा र कमलसिंह ऐरी फास्ट बलरको रुपमा टोलीमा समावेश गरिएका भने स्पिनतर्फ सुशन भारी र साहब आलम रहेका छन् । पछिल्लो समय साहबले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यस्तै, आवश्यक पर्दा दिपेन्द्र सिंह ऐरी, आरिफ सेख र कुशल मल्लले बलबाट पनि योगदान गर्न सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *