भारतमा कोरोनाको नयाँ लहर, नेपालका सीमा नाका ह्वाङ्गै – Nepal Press

भारतमा कोरोनाको नयाँ लहर, नेपालका सीमा नाका ह्वाङ्गै

लकडाउनको तयारी छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं । देशमा कोरोनाका त्रास घटेर जनजीवन सामान्य हुँदै गएका बेला आइतबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकाल्दै संक्रमणलाई लिएर सचेतता अपनाउन आग्रह गर्‍याे । यसले फेरि जनमानसमा चर्चा सुरु भएको छ, कतै लकडाउन हुने त होइन ?

मन्त्रालयले विज्ञप्तिमा देशभर भीडभाड हुने कुनै गतिविधि नगर्न, सामाजिक र भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले हात धुन तथा सेनिटाइजर प्रयोग गर्न अनुरोध गरेको छ । जनताले बिर्सँदै गएका यी सचेतताका कुराहरु अहिले मन्त्रालयले किन सम्झायो त ? यसको कारण हो भारतमा सुरु भएको कोरोनाको नयाँ लहर ।

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ र धेरै शहरहरु पहिलेजस्तै लकडाउनमा जाने तयारीमा छन् । भारतमा आइतबार २४ घण्टाको अवधिमा ४६ हजार ९ सय ५१ नयाँ संक्रमित फेला परेका थिए । सन् २०२१ सुरु भएपछि एकैदिनमा देखिएको सबैभन्दा उच्च संख्या हो ।

खुल्ला सिमाना भएको निकट छिमेकी देशमा यसरी कोरोना फैलिएपछि नेपालमा असर देखिने नै भयो । नेपालमा गत पुसदेखि घट्न थालेको कोरोना संक्रमण चैत सुरु भएदेखि क्रमशः बढिरहेको छ ।

पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्ने हो भने परीक्षण कमै भए पनि कोरोना संक्रमण दर भने बढेको छ । दैनिक २ हजारदेखि ३५ सयसम्म परीक्षण हुँदा कोरोना १ सयको हाराहारीमा नयाँ विरामी भेटिन थालेका छन् । गत पुसमा यो संख्या ५० भन्दा पनि तल झरेको थियो ।

फागुन २९ गते ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि क्रमशः चैत १ गते ५३ जना, २ गते ७९, ३ गते ११४, ४ गते ९४, ५ गते १०६, ६ गते १२५, ७ गते ७९, ८ गते ७७ र १०५ जनामा कोरोना पुष्टि भएको छ । यो एक हप्ताको तथ्थाङकले पनि कोरोना संक्रमण बढ्दै गइरहेको देखाउँछ ।

टेकु अस्पतालका चिकित्सक डा. अनुप बास्तोला पछिल्लो समय युरोपेली देश मात्र होइन, छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको नयाँ अध्याय शुरु भएकोले त्यसको असर नेपालमा पनि पर्न सक्ने बताउँछन् । उनले नेपालमा कोरोना संक्रमणको डरलाग्दो संकेत गरे ।

‘झट्ट सुन्दा र हेर्दा धेरैलाई यो फेरि बन्देज किन लगाउनुपर्ने भन्ने लाग्दो हो । अहिले कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्दै हामी जसरी फुक्काफाल हिँडिरहेका छौं र जोखिम कम हुँदै गएको महसुस गरेका छौं, यस्तो बेला फेरि किन सावधानी अपनाउनु भन्ने लाग्नु स्वभाविक हो । तर, यसको कारण छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले भर्खरैको एउटा घटना सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘हालै मेरो जानकारीमा आएको एउटा घटनाले झस्काएको छ । गत फागुन ७ गते एउटा होटलमा ५० जना जतिको जमघट भयो । जमघट ५ घण्टासम्म चल्यो । त्यसको एक सातापछि त्यही भेटघाटमा पुग्नु भएका एक व्यक्ति ज्वरो, खोकी र सास फेर्न समस्या भएपछि टेकू अस्पतालमा भर्ना हुनुभयो ।

उहाँमा कोरोना भाइरस पोजिटिभ देखिनुका साथै निमोनिया भइसकेको थियो । पाँच दिनको उपचारपछि ती व्यक्ति निको भएर घर फर्किनु भयो । तर, अत्याउने किसिमको तथ्यांक त यो आयो कि, त्यो जमघटमा पुगेपछि पीसीआर गरेका ४० मध्ये १९ जनामा कोरोना भाइरसको संक्रमण देखियो । जसमध्ये ७ जना अस्पताल भर्ना हुनुभयो ।

त्यो जमघटमा पुग्नुभएका मेरै एकजना आफन्त पनि निमोनिया देखिएपछि टेकू अस्पतालमै ४ दिन उपचार गराएपछि निको हुनु भयो । उहाँलाई एक दिन मात्र ९९ डिग्री फरेनहाइड ज्वरो आयो, खोकी पटक्कै थिएन तर १२ दिनपछि निमोनिया देखियो ।’

५ घण्टा एउटा जमघटमा भेला भएका ५० मध्ये १९ जना संक्रमित हुनु र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य कुरा नभएको उनी बताउँछन् । कोरोना भाइरसको संक्रमण फरक ढंगले हुँदैछ कि भन्ने आशंका बढाएको डा. बास्तोलाको भनाइ छ ।

सीमा नाका ह्वाङ्गै

भारतको महाराष्ट्र, गुजरात, उत्तरप्रदेश लगायतका शहरमा काम गर्न पुगेका नेपालीहरु कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि धमाधम नेपाल फर्कन थालेका छन् । यी शहरमा कतै लकडाउन त कतै नाइट कर्फ्यूहरु भइराखेको छ । नेपाल भारतको सीमा नाका अहिले मूलतः खुल्लै छ ।

महेन्द्रनगरको गड्डाचाैकी, कैलालीको गौरीफन्टा, बाँकेको जमुना नाका, कपिलबस्तुको कृष्णनगर, भैरहवाको बेलिहिया नाकाबाट सयौं नेपाली भारतको कोरोना फैलिएको शहरबाट नेपाल फर्कने गरेका छन् । आइतबार विभिन्न नाकाबाट १८ सय जना नेपाल प्रवेश गरेका छन् भने शनिबार १२ सय जना आएका छन् ।

भारतबाट नेपाल आइपुगेका एक व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको छ । यद्यपि यो भाइरस भेरियन्ट (नयाँ प्रजातिको भाइरस) भए नभएको पुष्टि भएको छैन । ती व्यक्तिमा सामान्य ज्वरो मात्रै थियो । अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था नभएकाले ती व्यक्ति अस्पतालको समन्वयमा आइसोलेनमा छन् ।

नेपालीहरु फर्केर आउन सक्ने नाकाहरुमा जोखिम बढ्न सक्ने भएकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सीमामा १४ वटा हेल्थ डेक्सहरु सञ्चालन शुरु गरेको छ । इपिडिमियोलोजीले विभिन्न नाका भएर आउने यात्रुहरुको स्क्रिनिङ गर्ने र आवश्यक परेको ठाउँमा एन्टिजेन परीक्षण पनि शुरु गरिसकेको छ । कन्ट्रयाक्ट हिस्ट्री राखेर त्यहाँबाट आउनेहरुलाई क्वारेन्टाइनको नियम बुझाएर घर पठाउने काम भइराखेको छ ।

भेरियन्ट प्रमाणित भएका बेलायत, जर्मनी, ब्राजिल लगायतका देशबाट विमानस्थल हुँदै नेपाल आएकाहरुको हकमा भने छुट्टै नियम बनाइएको छ । इपिडिमियोलोजीले यसपटक भने कोरोना पोजेटिभ भएका सबैलाई अस्पताल भर्ना नगर्ने निर्णय गरेको छ । लक्षण हेरेर मात्रै अस्पताल भर्ना गर्न सकिनेछ । महाशाखाले स्थापना गरेको विभिन्न नाकाको हेल्थ डेक्समा स्क्रिनिङलाई चुस्त बनाउन थालेको महाशाखाको दाबी छ ।

हेल्थ डेक्स रहेका नजिकका अस्पतालहरुलाई पत्रचार गरिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का प्रमुख डा. कृष्ण पौडेलले बताए ।

तयारी धेरै बाँकी छ

नेपालमा कोरोना भाइरसको दोस्रो लहर आउन नदिन नाकामा आन्तरिक तयारीहरु धेरै गर्नुपर्ने महाशाखाका प्रमुख डा पौडेल बताउँछन् ।

उनी भन्छन्, ‘अहिले कोरोना धेरै फैलिएको ठाउँबाट नेपालीहरु फर्केर आउन सक्छन् भनेर हामीले हेल्थ डेक्सहरु सञ्चालन गरिरहेका छौं । तर अझै धेरै कामहरु गर्नुपर्ने छ ।’

स्थानीय पालिकाहरुसँग समन्वयमा समुदायमा टेस्टिङको दायरा बढाउने, क्वारेन्टाइनको व्यवस्था मिलाउने, अस्पतालहरुलाई तयारी अवस्थामा राख्नुपर्ने लगायत अभिभारा रहेको डा. पाण्डे बताउँछन् ।

उनी भन्छन्, ‘सबै मिलेर समाना गर्ने हो भने पक्कै पनि महामारीलाई जित्न सकिन्छ । त्यही हिसाबले हामी तयारी गरिरहेका छौ ।’

भारतले नयाँ भेरियन्ट भनेर घोषणा गरिनसकेकाले सीमानाका बन्द गर्न तत्काल नगरिने डा. पाण्डे बताउँछन् ।

‘अहिले सीमानाकामा निगरानी बढाउने हो, बन्द गरिहाल्ने अवस्था छैन । तर परिस्थितिलाई हेरे नयाँ रणनीति लिनुपर्ने हुन सक्छ,’ उनले भने ।

सीमा नाकाबारे निर्णय आवश्यकताअनुसार माथिल्लो निकायले गर्ने भएकाले इडीसीडीले भने त्यहाँबाट आउनेहरुको परीक्षण, स्क्रिनिङ गर्ने काम नै मुख्य रहेको उनको भनाइ छ ।

इडीसीडीले विमानस्थलबाट आउनेको लागि नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ । बिमानस्थलबाट आएका व्यक्तिलाई भेरियन्ट पुष्टि भए छुट्टै नियम बनाइएको छ । १० दिन कडा क्वारेन्टाइनपछि मात्रै हेल्थ डेक्सबाट रिलिज गराइन्छ ।

जनस्वास्थ्य मापदण्ड निर्विकल्पः भाइरोलोजिस्ट

जनस्वास्थ्यविद्हरु नयाँ प्रजातिको भाइरसविरुद्ध लड्ने निर्विकल्प उपाय भनेको जनस्वास्थ्य मापदण्ड पालना नै भएको बताउँछन् । टेकु अस्पतालका चिकित्सक एवं भाइरोलोजिस्ट शेरबहादुर पुनले नयाँ भेरियन्ट देखिए पनि जनस्वास्थ्य मापदण्ड निरन्तर र फरक नहुने बताए ।

‘भेरियन्ट नामक कोरोना भाइरसको चेन ब्रेक गर्नको लागि सामाजिक दुरी, मास्क र हात धुने कुराहरु नै मुख्य छन्,’ उनले भने ।

नयाँ प्रजातिको भाइरस दु्रत गतिमा फैलन सक्ने उनी बताउँछन् । कोरोनालाई जित्न निर्विकल्प भनेको भ्याक्सिन नै रहेको उनको भनाइ छ ।

‘भ्याक्सिन धेरैभन्दा धेरै समुदायमा पुर्‍याउन सकियो भने मात्र अलिकति नियन्त्रणमा आउने सम्भावना हुन्छ,’ उनले भने ।

डा. पुन लकडाउन गरेर कोरोना भाइरस नियन्त्रण नहुने बताउँछन् ।

‘अब लकडाउन बन्दाबन्दी भनेको चाहिँ एकदमै अनियन्त्रित भएर अब नियन्त्रण गर्न नसक्ने अवस्था आयो भने हो,’ उनले भने, ‘त्यो चेन ब्रेक गर्नलाई उपयुक्त हुन्छ । तर त्यो भन्दैमा निमिट्यान्नै हुँदैन । यसले केही हदसम्म सहज बनाउँछ ।’

स्वास्थ्य मन्त्रालय भन्छः मापदण्ड पालना गरौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेकाले जनस्वास्थ्य मापदण्ड पालना गर्न जोड दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले छिमेकी मुलुकमा बढेपछि नेपालमा बढ्नु स्वभाविक नै भएको बताए ।

उनले भने, ‘हामीसँग हुने भनेकै जनस्वास्थ्यको मापदण्ड हो । एक-अर्काबीचको दुरी कायम गर्ने परम्परागत विधि नै हो । त्यसैको पालना नै महत्वपूर्ण हुन्छ । अहिलेको र योभन्दा नयाँ प्रकारका भाइरस आउँदा पनि हाम्रो हातमा हुने यही हो ।’

राज्यको तर्फबाट गराउने भनेको निगरानी बढाउने, उपचारको व्यवस्थापन गर्ने टेस्टिङ, औषधि व्यवस्थाको प्रवन्ध गर्ने आदि रहेको उनी बताउँछन् ।

उनले थपे, ‘धेरै किसिमका भ्याक्सिनहरु बनेका छन् । कोहीले कुनैमा काम गर्ने छ, कुनैमा काम नगर्ने छ । त्यसैले मापदण्ड त पालना गर्नैपर्छ ।’

सहप्रवक्ता अधिकारीले लकडाउन गर्ने कुनै तयारी नरहेकोसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर