स्थानीय तहमा कर्मचारी कामकाजमा खटाउने कार्य मन्त्रीस्तरीय निर्णयबाट स्थगित – Nepal Press

स्थानीय तहमा कर्मचारी कामकाजमा खटाउने कार्य मन्त्रीस्तरीय निर्णयबाट स्थगित

काठमाडौं । सरकारले स्थानीय तहमा कामकाजमा कर्मचारी खटाउने कार्य स्थगित गरेको छ । आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीस्तरीय निर्णयबाट स्थानीय तहमा कार्यरत कर्मचारीलाई अन्तर स्थानीय तहमा कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभए सम्मका लागि स्थगित गरेकाे हो ।

सम्पुर्ण स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण भइ नसकेको, कामकाज तथा सरुवालाई व्यवस्थित गर्ने सफ्टवेयर निर्माण हुने क्रममा रहेकाले यस्तो निर्णय गरिएको मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले जनाएको हो ।

यस्तै शाखाका अनुसार रिक्त रहेका पदमा पदपूर्तिका लागि कतिपय स्थानीय तहले लोक सेवा आयोगमा माग गरेको पाइएको र कतिपय स्थानीय तहबाट विगतमा जारी भएका सहमति पत्रबाट अहिले सरुवा तथा कामकाजमा नखटाइदिन अनुरोध आएकाले पनि यस्तो निर्णय भएको जनाइएको छ ।

कर्मचारी समायोजना ऐन, २०७५ को दफा १२ तथा नेपाल सरकारको गत जेठ ६ गतेको निर्णय अनुसार लोक सेवा आयोगबाट सिफारिस भई विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीको गुनासो सम्बोधन गर्ने क्रममा एक महिना अघि माघ २९ गते सरकारले अन्तर स्थानीय तहमा कामकाजमा खटाउने निर्णय गरेको थियो ।

उक्त निर्णय कार्यान्वयनलाई थप व्यवस्थित, सहज, सरल र प्रभावकारी बनाउन फागुन ६ गते मन्त्रीस्तरीय निर्णयबाट लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ती भएका कर्मचारी व्यवस्थापन मापदण्ड २०७७ स्वीकृत भएको थियो ।

त्यसै मापदण्डको बुदाँ नम्बर ९ बमोजिम मापदण्ड स्वीकृत हुनु अघि सम्बन्धित स्थानीय तहको दोहोरो सहमतिसहित मन्त्रालयमा प्राप्त भएका निवेदनको हकमा मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि कामकाजमा खटाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर