ओली कम्युनिष्ट आन्दोलनलाई बिदा गर्नेतिर लागे, अहिलेकै अवस्थामा ७ गतेको बैठकमा जाँदैनौं : राजेन्द्रकुमार राई – Nepal Press

ओली कम्युनिष्ट आन्दोलनलाई बिदा गर्नेतिर लागे, अहिलेकै अवस्थामा ७ गतेको बैठकमा जाँदैनौं : राजेन्द्रकुमार राई

काठमाडौं । पुन:स्थापित नेकपा एमालेको चैत ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठक विधि प्रक्रिया अनुसार नभएको भन्दै माधव नेपाल पक्ष नजाने भएको छ ।

नेपाल प्रेससँग कुराकानी गर्दै सो पक्षका नेता एवं एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले एकताअघि (२०७५ जेठ २) को कमिटीलाई बैठकमा बोलाइएमात्र जाने बताए । भर्खरै थपिएका सदस्यहरूलाई पनि सहभागी गराउने गरी बैठक बोलाइएकोले अहिलेको अवस्थामा बैठकमा सहभागी नहुने उनले बताए ।

‘अदालतले जे फैसला गर्‍यो त्यसको आसयमा सबै उभिनुपर्‍यो । एकताअघिकै अवस्थामा तिमीहरू फर्क भनेर अदालतले फैसला गर्‍यो । माओवादी माओवादीतिरै भयो एमाले एमालेतिरै भयो । पार्टीलाई पद्धति र विधान अनुरूप चलाए भने त कुनै ठूलो कुरा होइन नि ।’

ओली पक्षले माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्य बनाएसँगै अबको एमाले ‘नयाँ एमाले’ भन्दै गरेको सन्दर्भमा राईले भने’ , नयाँ एमाले बनाउने भनेको नयाँ पार्टी बनाउने हो । एमाले छाडेर जानुहुन्छ भने मात्र नयाँ एमाले बनाउन सक्नुहुन्छ । ठीक छ । नयाँ साथीहरू जुनसुकै पार्टीबाट आएपनि प्रवेश गराउने जिम्मेवारी दिने काम स्वागतयोग्य छ । त्यसका लागि एकताभन्दा अगाडिको केन्द्रीय कमिटीको सबैको उपस्थितिमा बैठक बस्नुपर्‍यो । जिम्मेवारी दिन सकिन्छ नि त ।’

अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजित गर्ने, दुर्घटनामा पुर्‍याउने र सिंगो कम्युनिष्ट आन्दोलनलाई नेपालबाट बिदाबारी गर्ने दिशामा अघि बढिरहेकोले आफूहरू त्यसलाई रोक्न र जोगाउन अघि बढिरहेको राईको दाबी छ ।

राईसँगको विस्तृत अन्तर्वार्ता नेपाल टकमा केहीबेरपछि प्रकाशन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर