रुपन्देही सुपर लिग: फाइनलमा वेस्टर्न भर्सेज होराइजन – Nepal Press

रुपन्देही सुपर लिग: फाइनलमा वेस्टर्न भर्सेज होराइजन

रुपन्देही । साविक विजेता लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई पराजित गर्दै वेस्टर्न क्रिकेट क्लब भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न सेमिफाइनलमा वेस्टर्नले खुकुरीलाई ५ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । साविक विजेतालाई हराएर उच्च मनोबलसहित उपाधिबाट एक कदम टाढा पुगेको वेस्टर्नले शनिबार फाइनलमा न्यू होराइजन क्रिकेट क्लबको सामना गर्नेछ ।

बिहीबार सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेस्टर्नले ४३.१ ओभरमा सबै विकेट गुमाएर १५० रनको योगफल बनाएको थियो । वेस्टर्नका लागि राहुल कुमारले ९२ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ८२ रनको योगदान गरेका थिए ।

यस्तै, भुवन पाण्डे र एकेन्द्र कुँवरले ११/११ रनबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ खुकुरीका अजयकुमार लोनियाले ४, दुर्गेश गुप्ताले ३, श्रीकान्त केवटले २ र शैलेष श्रीवास्तवले १ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको खुकुरीले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै १४५ रन मात्रै बनाउन सक्यो । खुकुरीका लागि निश्चल चौधरीले ३३, प्रज्वल थापाले १३, शैलेश श्रीवास्तव र सजाद आलमले ११/११ रन जोडेर पेभेलियन फर्किँदा दुर्गेश गुप्ता १० रनमा अविजित रहे ।

बलिङमा वेष्टर्नका अभिषेक गौतमले १० ओभरमा ३ मेर्डन राख्दै २७ रन खर्चेर ६ विकेट लिए । उनी खेलको ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । यस्तै, हरिजत सिंह, विवेक पराजुली, एकेन्द्र कुँवर र देव खनालले समान १/१ विकेट लिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *