फरक क्षमता र अशक्तलाई सिंहदरबार प्रवेशमा सहज : श्रममन्त्री अर्याल (भिडिओ) – Nepal Press

फरक क्षमता र अशक्तलाई सिंहदरबार प्रवेशमा सहज : श्रममन्त्री अर्याल (भिडिओ)

काठमाडौं । श्रम मन्त्रालयले अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको छ ।

मंगलवार मन्त्रालयमा पत्रकारसम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम मन्त्रालयको सिफारिसमा गृह मन्त्रालयसँगको सहकार्यमा अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको बताए ।

उनले सबै नेपाली नागरिकलाई सिंहदरबार प्रवेश गर्न पाउने नैसर्गिक अधिकार भएकाले सोही अधिकार प्राप्तिको लागि अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको दाबी गरे । मन्त्री अर्यालले सोमवारदेखि लागू हुनेगरी कालो नम्बर प्लेट भएका सार्वजनिक सवारीलाई निर्वाधरुपमा सिंहदरबार छिर्न पाउने व्यवस्था गरिएको बताए ।

उनले अशक्त तथा फरक क्षमता भएका व्यक्तिलाई बोकेर सिंहदरबार छिर्ने सार्वजनिक सवारी अब सिंहदबारमा नरोकिने जानकारी दिए । उनले आफ्नो छुट्टै सावरी साधन नभएका अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार छिर्न बञ्चित हुन नपर्ने बताए । मन्त्री आर्यालले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरेर राखिएको छुट्टै डेस्क हटाएको बताए ।

उनले अबदेखि विद्यार्थी भिसा, पर्यटन भिसा, व्यवसायिक भिसा र वैदेशिक रोजगारीको भिसामा जानेहरूको लाइन एउटै हुने बताए । मन्त्री अर्यालले सोमवारदेखि नै लागू हुनेगरी वैदेशिक रोजगारीमा जानेहरुका लागि छुट्याइएको विभेदकारी डेस्क हटाएको बताए । उनले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरी राखिएको डेस्कले विदेशमा रोजगारीका लागि जाने नेपालीहरुको आत्मबलमा ठेस पुगेको बताए ।

‘सिंहदरबार आफैँमा देशको नीति नियम र कानून बनाउने र प्रधानमन्त्री लगायत सम्पूर्ण मन्त्रालय रहेका छन् । केही फरक क्षमता भएका तथा अशक्त व्यक्तिहरू सिंहदरबारको गेटबाट भित्रसम्म हिँड्न सक्नुहुन्न । उहाँहरुसँग रातो र सेता नम्बर प्लेटका सवारीहरु नहुन सक्छ’, उनले भने, ‘उनीहरु भाडाका सवारीहरु चढेर सेवा लिन आउनुपर्ने हुन्छ । उनीहरुले सिंहदरबारबाट सेवा लिन पाउने नैसर्गिक अधिकार हो जस्तो लाग्छ । तर, सिंहदरबार गेटबाट सार्वजनिक सवारी भित्र छिर्न नपाउने व्यवस्था थियो । यो व्यवस्थालाई हटाउँदै गृह मन्त्रालयसँगको समन्वयमा अशक्त र फरक क्षमता भएका व्यक्तिहरूलाई बोकेर सार्वजनिक सवारी सोमवारदेखि लागू हुनेगरी सिंहदरबार भित्रै छिर्ने व्यवस्था गरिएको छ ।’

मन्त्री अर्यालले श्रम मन्त्रालयमा रहेको कल सेन्टरलाई नेपालभित्र र बाहिर रहने श्रमिकसँग सम्बन्धित भएकाले समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने उद्देश्यले २४ घण्टा श्रम सहायता केन्द्रको रुपमा रुपान्तरण गरेको बताए । उनले श्रमिकका गुनासो र समस्या सुन्नको लागि ६ महिनाभित्र श्रमाधान मोवालइल एप र श्रमसम्बन्धी सम्पूर्ण कार्यको टाइम कार्ड लागू गरिने बताए ।

श्रमसम्बन्धी आएका गुनासोहरु ६ महिना भित्र समाधान गर्ने गरी मन्त्रालय कार्ययोजना बनाएको बताए । उनले ६ महिनामा पनि समस्या समाधान नभए कारणसहित कर्मचारीहरुसँग जानकारी लिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर