महिला हिंसा न्यूनीकरण गर्न सबैको योगदान जरुरी छः राष्ट्रपति भण्डारी – Nepal Press

महिला हिंसा न्यूनीकरण गर्न सबैको योगदान जरुरी छः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने हिंसाका घटना न्यूनीकरण गरी हिंसामुक्त समाजको निर्माण गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताएकी छन् ।

राष्ट्रपति भवन, सितलनिवासमा विभिन्न संवैधानिक आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका सचिवसहित नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्न बिहिबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरण गर्नका लागि नीतिगत र कानुनी व्यवस्थाका साथै समाजको मानसिकतामा परिवर्तन ल्याउन पहल गर्नुपर्नेमा जोड दिइएन ।

“हाम्रा राजनीतिक संघर्षको परिणामस्वरुप संरचनामा परिवर्तन आएको छ”, राष्ट्रपतिले भनिन्, “महिलालाई समाजले हेर्ने दृष्टिकोणमा अझ सकारात्मक परिवर्तन ल्याउन थप प्रयास जरुरी देखिएको छ ।”

महिलालाई सम्मान दिने असल सामाजिक परम्परा पनि छन् । तिनको रक्षा गर्दै छुवाछूत, अन्धविश्वास र कुरीति हटाउने नयाँ सामाजिक अभियान सुरु गर्न राष्ट्रपतिले सम्बद्ध सबैलाई आह्वान गरिन् ।

कार्यक्रममा आफ्नो विचार राख्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले छलफलमा व्यक्त भएका सुझावलाई मन्त्रालयले एकीकृत गरी नीतिगत सुधार र सामाजिक अभियानको नेतृत्व गर्ने प्रतिबद्धता जनाइन ।

केही समय अघि कञ्चनपुर र हालसालै वैतडी जिल्लामा किशोरीमाथि भएका जघन्य हिंसा र हत्याका घटनामा राष्ट्रपतिको चासो र चिन्ता रहेकाले नीतिगत, कानुनी र व्यवहारिक सुधारको पहल गर्न राष्ट्रपति कार्यालयले सरोकारवालासँग छलफलको आयोजना गरेको हो ।

“समाजमा हुने हिंसात्मक घटनाप्रति सम्माननीय राष्ट्रपति धेरै संवेदनशील हुनुहुन्छ ।” राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले भने, “त्यही संवेदनशीलताकै कारण कार्यक्रम आयोजना गरिएको हो ।”

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष तथा सदस्य, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोगका सदस्य, संयुक्त राष्ट्रसंघीय सिड कमिटीका उपाध्यक्ष बन्दना राणासहित महिला अधिकारकर्मी तथा क्रियाशील महिला सञ्चारकर्मीको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर