रुपन्देहीमा बेलबास-बेथरी सडक नौ वर्षदेखि अलपत्र, स्थानीयले बनाए संघर्ष समिति – Nepal Press

रुपन्देहीमा बेलबास-बेथरी सडक नौ वर्षदेखि अलपत्र, स्थानीयले बनाए संघर्ष समिति

रुपन्देही । रुपन्देहीमा उत्तर-दक्षिण जोड्ने मुख्य मार्गको रुपमा रहेको बेलबास-बेथरी सडक निर्माण अलपत्र परेपछि दबाब दिन स्थानीयले संघर्ष समिति गठन गरेका छन् ।

स्थानीय राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिहरुको भेलाले विजय ढकालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । संघर्ष समितिमा श्याम विक, लेखनाथ गैरे, मनक श्रेष्ठ, गोपाल गुरुङ, रुजेन्द्र गुरुङलगायत छन् ।

स्थानीयले सडक निर्माण पूरा नगरेसम्म नहरपुर-बेताहानी खण्डमा टिप्पर चल्न नदिने निर्णय गरेका छन् । संघर्ष समितिले सडक किनारका नाली र कुलाको काम पूरा गर्न, सडक बीचमा रहेका बिजुलीका पोल तत्काल हटाउन माग गरेको छ ।

बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्म २१ किलोमिटर सडक विस्तारका लागि २०७३ सालमा ठेक्का सम्झौता भई काम भए पनि अझै सम्पन्न हुन सकेको छैन । चार लेन सडक निर्माण गर्न तीन प्याकेजमा एक अर्ब ६७ करोडमा ठेक्का सम्झौता भएको थियो ।

दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भइसकेको छ । तर, उत्तरतर्फको खण्ड अझै पूरा हुन सकेको छैन ।

२०७६ असार मसान्तसम्म सम्पन्न गर्नेगरी बुटवल-बेतानी साढे ८ किलोमिटर प्याकेजको निर्माण गर्ने ठेक्का बज्रगुरु कान्छाराम जेभीले लिएको थियो । तर, उसले अझैसम्म काम सम्पन्न गरेको छैन । यो सडक खण्डमा साढे ८ किलोमिटरमध्ये ३ किलोमिटर लामो समयदेखि कालोपत्रे हुन सकेको छैन ।

यो सडक खण्डमा अर्घाखाँची सिमेन्ट उद्योगमा चुनढुंगा पु¥याउने टिपर बढी चल्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *