धनकुटेली चित्रकलाको विरासत जोगाउँदै डिल्लीकृष्ण आले – Nepal Press

धनकुटेली चित्रकलाको विरासत जोगाउँदै डिल्लीकृष्ण आले

‘धनकुटा प्रदेशको राजधानी बन्न सकेन । तर, कलाको राजधानी बनाउन सक्छौं’

इटहरी । राणाकालको बडाहाकिम बस्ने पूर्वको प्रमुख मुकाम । पञ्चायतकालमा क्षेत्रीय प्रशासकको मुकाम । र, अहिले पनि धेरै प्रदेशिक कार्यालयहरुको मुकाम हो धनकुटा । यही धनकुटाको चित्रकला विरासत पनि पुरानै हो । धनकुटामा पञ्चायतकालताकै एकल चित्रकला प्रदर्शनहरु भएका थिए । मुकेश मल्लको चित्रकला प्रदर्शन हुन्थे । सामूहिक त कति भए कति ।

तर, पछिल्लो समयमा एकल चित्रकला प्रदर्शनको स्तरमा पुग्न धनकुटाले धेरै कुर्नुपर्‍यो । डिल्लीकृष्ण आलेले यसको रिक्तता पुरेका छन् । उनी अहिले नियमित धनकुटामा चित्रकला प्रदर्शनी गरिरहेका छन् ।

आलेको पछिल्लो चित्रकला प्रदर्शनी २०७९ साल जेठ १२ देखि १४ सम्म भएको थियो । धनकुटा नगरपालिका- ७ मा रहेको हाम्रो बहुमुखी पाठशालाको सभाहलमा आलेको चित्रकला प्रदर्शनी भएको थियो । प्रदर्शनीमा आलेले धनकुटाको पर्यटन झल्काउने चित्रहरु प्रदर्शनमा राखेका थिए ।

‘वाटर कलर’मा खेल्न रुचाउने आलेको प्रदर्शनीमा धनकुटाका लोपोन्मुख र संरक्षण भएका पर्यटकले रुचाउने ल्याण्डमार्कहरुको चित्र प्रदर्शन गरिएको थियो । राणाकालमा बनेको धनकुटाको ५२ झ्याले दरबार, धरान-धनकुटा सडक बन्नु अगाडिको पैदलयात्रीले भारी बिसाएर सुस्ताउने चर्चित घुमाउने चौतारी, चुवाको बोट पार्कदेखि एभोकाडो पार्कसम्म उनको चित्रकलामा अटाएका थिए ।

यस्तै धनकुटामै पर्ने भेडेटारदेखि हिलेसम्मका आकर्षक चित्र उनको प्रदर्शनमा समावेश थिए । लाखे नाच, धान नाँच हुँदै विभिन्न आदिवासी संस्कृतिको झल्को उनका चित्रहरुमा थिए ।

‘मैले धनकुटामा भएका पर्यटकीय क्षेत्रहरुको चित्र देखाउन खोजेको हो’, आलेले नेपाल प्रेससँग भने, ‘कतिपय त लोपोन्मुख छन् । घुमाउने चौतारीको अस्तित्व अन्तिम अवस्थामा छ । ५२ झ्याले दरबारको गुणस्तर पहिले जस्तो छैन ।’

गत जेठमा आलेले गरेको प्रदर्शन पहिलो हैन । यस अगाडि उनका दुई एकल चित्रकला प्रदर्शनी भएको थियो । २०७४ साउन र २०७५ साउनमा पनि उनको एकल प्रदर्शनी भएको थियो । प्रदर्शनीमा उनी बालबालिका र युवाहरुलाई प्राथमिकता दिन्छन् । उनीहरुले चित्रकला बुझेमा मात्रै भविष्य राम्रो हुने कलाकार आलेको ठहर छ । ‘बालबालिका र युवा यो देशका भोलिका सबै थोक हुन्’, आले भन्छन्, ‘उनीहरुमा चित्रकलाको जानकारी सानैदेखि विकास भएमा भविष्यमा धनकुटा र देशलाई नै फाइदा पुग्छ ।’

नेपाल र भारतका दर्जन हाराहारी चित्रकला प्रदर्शनीमा भाग लिइसकेका आले बालबालिकामा चित्रकलाको चेत भर्न उत्तिकै सक्रिय छन् । उनी विभिन्न विद्यालयहरुले बालबालिकालाई चित्रकलाका बारेमा बोल्न बोलाउँदा पुग्छन् । उनी धनकुटाका दमार माविदेखि पञ्च माविसम्म पुगिसकेका छन् । अन्तबाट पनि उनलाई बोलाइरहेको हुन्छ ।

धनकुटा- ७ मा जन्मेका आलेको चित्रकलाको रुचि बाल्यकालबाटै हो । उनी किसिम-किसिमका चित्रहरु बनाउँथे । तर, उनलाई चित्रकलामा अझ राम्रो फड्को मार्ने सूत्र दुई कलाकारले दिए । धनकुटा महोत्वसको दौरानमा धरानका कलाकार लेख मगर र संखुवासभाका कलाकार डीबी राईले सिकाएको शिल्प उनलाई अहिलेसम्म काम लागेको छ । उनी निरन्तर चित्रकलाकै सीप निखार्न र तिखार्न सक्रिय छन् । २०७२ मा जागिरे जिन्दगीलाई बिट मारेका उनी अहिले फुलटाइमर चित्रकार छन् । यसमा उनी खुशी छन् ।

‘चित्रकलाले नै आनन्द दिन्छ’, आले भन्छन्, ‘पहिचान दिन्छ ।’ उसो त चित्रकलामा उनलाई आनन्दमात्रै छैन । तनावको कथा पनि छ । २०७७ चैत ९ गतेको धनकुटा बहुमुखी पाठशालामा राखिएका उनका दर्जनौं चित्र जले । चित्रमात्रै जलेन उनको मन पनि जल्यो । ग्यास सिलिन्डर पड्केर पाठशालामा आगलागी हुँदा उनका कलाकृति पनि जलेका थिए । तर, यस घटनाले आलेलाई हतोत्साही गरेको छैन । उनी भन्छन्, ‘चित्रहरु जले । चित्र बनाउने ऊर्जा जलेको छैन ।’

चित्रकलाप्रति आफ्नो रुचिबारे आले भन्छन्, ‘मेरो पेन्टिङ रियालिटिमा जान्छ । एउटा बनाएर सक्न दुईदेखि तीन घण्टासम्म लाग्छ । छिट्टै सुके त्योभन्दा छिटो पनि हुन्छ ।’

धनकुटामा जन्मेर, धनकुटामै चित्रकलाको कर्म गरिरहेका आलेलाई धनकुटामै बसेर चित्रकलाका कामहरुमा सक्रिय हुन मन छ । उनलाई धनकुटामा अन्तर्राष्ट्रियस्तरको चित्रकला प्रदर्शनी गर्न मन छ । आफ्नै एकल प्रदर्शनी पनि हरेक वर्ष गर्न मन छ । यी सबै काम गर्नलाई उनीसँग जाँगर छ, ऊर्जा छ । तर, उनी अपनत्व खोजिरहेका छन् स्थानीय वासिन्दा र स्थानीय सरकारको ।

‘धनकुटा प्रदेशको राजधानी बन्न सकेन । तर, कलाको राजधानी बनाउन सक्छौं’, आले भन्छन्, ‘त्यसो गर्न युवाहरुलाई कलामा तान्न आवश्यक छ । कलामा तान्न र कलाको विकास गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय चित्रकला कार्यशाला र प्रदर्शनी आवश्यक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर