तिहारका भाइमसलाः पोहोरभन्दा केको मूल्य बढ्यो, केको घट्यो ? (सूचीसहित) – Nepal Press

तिहारका भाइमसलाः पोहोरभन्दा केको मूल्य बढ्यो, केको घट्यो ? (सूचीसहित)

काठमाडौं । तिहारमा अत्यधिक माग हुने उपभोग्य वस्तुहरूमा विभिन्न खाले मसला पनि पर्छन् । दिदीबहिनीले दाजुलाई दिने यस्ता मसलालाई ‘भाइमसला’ भन्ने गरिन्छ । यस वर्ष अन्य उपभोग्य वस्तुहरूको तीव्र मूल्यवृद्धि भए पनि भाइमसलाको मूल्य प्राय स्थिर छ ।

भाइमसलामा दालचिनी, मिश्री र मखना, काजू, किसमिस, नरिवल, पेस्ता, बदाम, ल्वाङ, सुकमेल, छोकडा, अन्जिर आदि पर्छन् । खुद्रा व्यापार संघका सचिव अमुलकाजी तुलाधरले भाइमसलाको मूल्य अघिल्लो वर्षको भन्दा नबढेको बताए ।

उनले भने, ‘यस वर्ष केही भाइमसलाको मूल्य घटेको र केहीको बढेको छ । तर, धेरैजसोको चाहिँ स्थिर छ ।’

अघिल्लो वर्ष ४ हजार ८ सय रुपैयाँ प्रतिकेजी पर्ने सुकुमेल यसपाली प्रतिकेजी २ हजार ६ सयमा झरेको छ । सरकारले आयातमा प्रतिबन्ध लगाएको छोकडाको प्रतिकेजी ६० रुपैयाँ मूल्यवृद्धि भएको छ । अघिल्लो वर्षको तिहारमा छोकडा प्रतिकेजी २ सय रुपैयाँ थियो भने यस वर्ष २ सय ६० रुपैयाँ पुगेको छ । व्यापारीले पहिले नै ल्याएर राखेको भएर पनि केजीमा नै ६० रुपैयाँ मूल्यवृद्धि भएको हो ।

खुद्रा व्यापार संघका अनुसार भारतबाट आउने दालचिनी प्रतिकेजी ५ सय ५० रुपैयाँ रहेको छ । अघिल्लो वर्ष पनि यही मूल्य थियो । ओखर र काजुको मूल्य पनि पहिलेकै मूल्य कायम रहेको छ । ओखर नेपाली बजारमा प्रतिकेजी ५ सय रूपैयाँमा पाइन्छ भने काजुको प्रतिकेजी १ हजार ५ सय रूपैयाँ पर्छ ।

ल्वाङको मूल्य भने यस वर्ष वृद्धि भएको छ । अघिल्लो वर्षभन्दा ल्वाङको मूल्य प्रतिकेजी २ सय रुपैयाँले बढेको हो । अघिल्लो वर्ष प्रतिकेजी १ हजार मूल्य रहेको ल्वाङ यसवर्ष १ हजार २ सय पुगेको छ ।

बदाम पनि अघिल्लो वर्षकै मूल्यमा पाइन्छ । यसको मूल्य प्रतिकिलो १ हजार २ सय रूपैयाँ रहेको छ ।

नरिवलमा भने मूल्यवृद्धि भएको छ । अघिल्लो वर्षभन्दा यस वर्ष प्रतिकेजी ३० रुपैयाँले मूल्यवृद्धि भएको हो । अघिल्लो वर्ष ५ सय रुपैयाँ प्रतिकेजीमा पाइने नरिवल यसवर्ष ५ सय ३० रूपैयाँ पुगेको छ ।

किसमिसको भने मूल्य स्थिर छ । किसमिस अघिल्लो वर्ष प्रतिकेजी ५ सय रुपैयाँ केजी रहेको थियो । यस वर्ष पनि सोही मूल्यमा पाइन्छ ।

भाइमसलाको रुपमा प्रयोग हुने अन्जिरको पनि मूल्यमा खासै फरक परेको छैन । अघिल्लो वर्षको तुलनामा यस वर्ष केजीमा ३० रुपैयाँ मूल्य वृद्धि भएको छ । अघिल्लो वर्ष प्रतिकेजी १ हजार ७ सय मूल्य रहेकोमा यसवर्ष १ हजार ७ सय ३० रुपैयाँमा बिक्री भइरहेको छ ।

मिश्रीको पनि पुरानै मूल्य रहेको छ । अघिल्लो वर्षजस्तै यस वर्ष पनि २ सय नै मूल्य रहेको खुद्रा व्यापार संघले जनाएको छ । काजूको मूल्यमा भने प्रतिकेजी ५० रुपैयाँ वृद्धि भएको छ । अघिल्लो वर्ष १ हजार ४ सय ५० रुपैयाँ मूल्य रहेको काजू यसवर्ष १ हजार ५ सय रुपैयाँमा बिक्री भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *