टी-२० विश्वकप: श्रीलंका र आयरल्यान्ड विजयी – Nepal Press

टी-२० विश्वकप: श्रीलंका र आयरल्यान्ड विजयी

काठमाडौं । आईसीसी टी–२० विश्व कपअन्तर्गत सोमबार भएका खेलमा श्रीलंका र आयरल्यान्ड विजयी भएका छन् । अबुधावीस्थित जायद क्रिकेट स्टेडियममा भएको सोमबारको पहिलो खेलमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको थियो ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ६ रनको योगफल तयार गरेको थियो । नेदरल्यान्ड्सका लागि म्याक्सवेल प्याट्रिक ओ’डाउडले अर्धशतकीय इनिङ खेल्नुबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

ओपनर ओ’डाउडले ४७ बलमा ७ चौकासहित ५१ रन जोडेका थिए । त्यस्तै, कप्तान पिटर सेलारले २१ बाहेक अन्य ब्याटरले ११ रनभन्दा धेरै जोड्न नसक्दा ६ जना ब्याट्सम्यान शून्यमा पेभेलियन फर्केका थिए ।

आयरल्यान्डका लागि कर्टिस क्याम्परले सर्वाधिक ४ तथा मार्क अडेरले ३ र जोस लिटिलले १ विकेट लिए ।

दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको आयरल्यान्डले १५.१ ओभरमा मात्र तीन विकेट गुमाएर १ सय ७ रनको ल्क्ष्य पूरा गर्‍यो ।

आयरल्यान्डका लागि पाउल स्टर्लिङले अविजित ३० तथा गेराथ डिलानीले ४४ रनको योगदान गरे । नेदरल्यान्ड्सका लागि फ्रेड क्लाससेन, ब्रान्डोन ग्लोभेर र पिटर सेलारले एक/एक विकट लिए ।

सोमबार नै भएको दोस्रो खेलमा श्रीलंकाले नामिवियालाई ७ विकेटले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले १९.३ ओभरमा सबै विकेट गुमाएर ९६ रनको योगफल तयार गरेको थियो ।

श्रीलंकाको कसिलो बलिङसामु टिक्न नसकेको नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक २९ तथा कप्तान गेर्हार्ड एरामुसले २० रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

श्रीलंकाका लागि महेश थेक्शहनाले सर्वाधिक ३, लहिरु कुमारा र वानिन्दु दी सिल्भाले २/२ तथा चमिका करुणारत्ने र धुसमान्था चमिराले १/१ विकेट लिए ।

दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले १३.३ ओभरमा ३ विकेट गुमाएर १ सय ७ रनको लक्ष्य पूरा गर्यो ।

ओपनरद्वयलाई १८७ रनमा गुमाएको श्रीलंकाका लागि अभिस्का फर्नान्डोले ३० र भानुका राजपाक्क्षले ४२ रनको अविजित इनिङ खेले ।

नामिबियाका लागि रुबेन थ्रुम्पेल्मान, जेजे स्मिथ र बर्नार्ड स्कोल्ट्जले १/१ विकेट लिए ।

विश्वकपको पहिलो चरण अन्तर्गत मंगलबार हुने खेलका स्कटल्यान्ड र पपुवा न्युगिनी तथा ओमान र बंगलादेश भिड्दैछन् ।

पहिलो चरणको दुई समूहका चार टोलीले सुपर–१२ मा स्थान बनाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *