उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै हङकङमाथि नेपालको फराकिलो जीत – Nepal Press

उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै हङकङमाथि नेपालको फराकिलो जीत

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत दर्ता गर्‍याे ।

हङकङलाई हराउन नेपालले बलिङ, ब्याटिङ र क्षेत्ररक्षण तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ र धारिलो फिल्डिङ गर्दै हङकङलाई ११४ रनमा अलआउट गर्यो । हङकङका ओपनर अंशुमान रथले सर्वाधिक ३४ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।

बलिङमा नेपालका अविनाश बोहराले तीन विकेट लिए । यस्तै, ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले २–२ विकेट बाँडेका थिए ।

११५ रनको सहज लक्ष्य लिएर मैदानमा उत्रेको नेपाल सुरुबाटै आक्रमक अन्दाजमा प्रस्तुत भयो ओपनिङ जोडी आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई विष्फोटक सुरुवात दिलाएपछि नेपालले पछाडि फर्केर हेर्नु परेन ।

ओपनिङ जोडीले हङकङका बलरमाथि पूर्णरुपमा हावी भएर खेलेका थिए । नेपालले पाँच ओभरमा विना विकेट क्षति ६८ रन बनाएको थियो । छैटौं ओभरको तेस्रो बलमा कुशललाई स्पिनर यासिम मुर्तजाले एलबीडब्लुको शिकार बनाए । लगत्तैको ओभरमा अर्का स्पिनर एसान खानले आफ्नै बलमा आसिफलाई क्याच गरे ।

आसिफ र कुशलबीच पहिलो विकेटका लागि ५.२ ओभरमा ७० रनको साझेदारी भएको थियो । कुशल १९ बलमा २ छक्का र ३ चौकासहित ३२ रन बनाएर आउट भए । आसिफले १८ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ४० रन जोडे ।

ओपनरहरु आउट हुँदासम्म नेपाल असाध्यै सहज अवस्थामा आइसकेको थियो । जितको औपचारिकता कप्तान रोहित पौडेल र सन्दीप जोराले पूरा गरे । रोहितले २० बलमा तीन चौकासहित २५ रन र सन्दीपले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाएका थिए ।

आजको जितसँगै नेपाल सेमिफाइनलको बलियो दावेदार बनेको छ । यसअघि नेपालले मलेसिया र कतारलाई पराजित गरेको थियो । नेपाल अंकतालिकाको शीर्षस्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *