ऋणको ब्याजदर २ वर्षयताकै सस्तो – Nepal Press

ऋणको ब्याजदर २ वर्षयताकै सस्तो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर दुई वर्षयताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले बैंकहरुको ब्याजदर करिब २ वर्षयताकै सस्तो देखाएको हो ।

पछिल्लो पटक बैंकहरुको औसत आधारदर २०७८ माघमा ८.४९ प्रतिशत थियो । त्यसपछि आधारदर बढ्ने क्रममा रह्यो । त्यसको एक वर्षपछि २०७९ पुसमा १०.८५ प्रतिशतसम्म औसत आधारदर पुग्यो । बैंकपिच्छे नै फरक फरक आधारदरका कारण कुनै कुनै बैंकको ऋणको ब्याजदर अचाक्ली महँगो भयो ।

ऋणको ब्याजदर महँगो हुँदा लगानी गर्न नसकिने भन्दै व्यवसायीहरु घटाउनुपर्ने लबिङमा उत्रिए । २०७९ फागुनसम्म आइपुग्दा बैंकहरुको औसत आधारदर ८.७७ प्रतिशतमा झर्‍यो । यो दुई वर्षयताको सस्तो आधारदर हो । ऋण प्रवाहमा आधारदरलाई महत्वपूर्ण इन्डिकेटरको रुपमा हेरिन्छ ।

स्रोत: नेपाल राष्ट्र बैंक

उसो त बैंकहरुले बैशाखका लागि आफ्नो वेबसाइटमा आधारदर प्रकाशित गरिसकेका छन् । बैशाखका लागि २० वटा वाणिज्य बैंकको औसत आधारदर ८.८५ प्रतिशत रहेको देखिन्छ । उनीहरुको सूचनाअनुसार आधारदर सबैको १० प्रतिशतभन्दा कम देखिन्छ ।

सबैभन्दा बढी आधारदर हिमालयन बैंकको ९.८५ प्रतिशत छ । सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७.२९ प्रतिशत छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिस्पर्धी र पारदर्शी गर्न अभिप्रेरित गर्ने उद्देश्यले आर्थिक वर्ष २०६९/७० को मौद्रिक नीतिबाट आधारदर लागू गर्न थालिएको हो । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्छ । यस्तो ब्याजदर स्थिर वा परिवर्तनशील हुनसक्छ ।

कर्जाको ब्याजदर निर्धारणमा विभिन्न तत्व समावेश भएका हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागू हुने तथा स्पष्टसँग पहिचान गर्न सकिने कर्जाको ब्याजदर निर्धारणका तत्वहरु समावेश गरिएको दर नै आधार ब्याजदर हो । तसर्थ, आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार दरमात्र हो ।

नेपालका बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम ५ प्रतिशत ब्याजदर थपेर ऋणको ब्याजदर तय गर्दै आएका छन् ।

खराब कर्जा ८ वर्षयताकै उच्च

बैंक तथा वित्तीय संस्थाको खराब कर्जा करिब ८ वर्षयताकै उच्च भएको छ । खराब कर्जाले बैंकहरुको वित्तीय स्वास्थ्य सही छैन भन्ने देखाउँछ । पछिल्लो पटक सबैभन्दा उच्च खराब कर्जा २०७२ असारमा थियो । त्यतिबेला बैंक तथा वित्तीय संस्था (वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी) को औसत खराब कर्जा ३.१४ प्रतिशत थियो ।

त्यसपछि घट्दै गएको खराब कर्जा २०७९ को असोजमा १.३१ प्रतिशत थियो । फागुन मसान्तसम्मको वित्तीय विवरणको आधारमा अहिले बैंकहरुको औसत खराब कर्जा ३.७३ प्रतिशत छ । जसमा वाणिज्य बैंकको ३.६३, विकास बैंकहरुको. ३.६१ र वित्त कम्पनीको ९.१८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने भन्दै सोविरुद्ध भएको आन्दोलनले तिर्न सक्नेहरुले पनि मिनाहा हुन्छ कि भन्ने आशमा ऋण तिरेका छैनन् । लघुवित्तविरुद्ध उठेको आन्दोलनले बैंकहरुसमेत प्रभावित छन् ।

बैंक तथा वित्तीय संस्थाले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमै उठाउन सकेन भने त्यस्तो कर्जा खराबमा गणना हुन्छ । यसलाई नन-पर्फमिङ लोन (एनपीएल) पनि भनिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर