त्रिभुवन विमानस्थलमा जाँचपास एक्सरे स्क्यानिङ मिसिन नबनाइएपछि कार्गो व्यवसायीले पठाएनन् सामान  – Nepal Press

त्रिभुवन विमानस्थलमा जाँचपास एक्सरे स्क्यानिङ मिसिन नबनाइएपछि कार्गो व्यवसायीले पठाएनन् सामान 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मिसिन नभएको भन्दै कार्गो व्यवसायीहरुले सामान निकासी गर्न बन्द गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे (स्क्यानिङ) मिसिन बिग्रिएको डेढ महिना बढी हुँदा पनि नबनाएको भन्दै आइतबारबाट सामान निकासी गर्न बन्द गरेका हुन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा व्यवसायीहरुले भेला भइ नेपाल पारवहन तथा गोदाम लिमिटेडले एक्सरे (स्क्यानिङ) मिसिनको सञ्चालन गर्दै आइरहेको र डेढ महिना हुँदा पनि बिग्रिएको मेसिन बनाउन नलागेको भन्दै उनीहरुले आफूहरुको काम बन्द गरेको बताए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्गो व्यवसायी खेमराज सुवेदीले नेपाल पारवहन तथा गोदाम लिमिटेडले बिग्रिएको मेसिनको मर्मतसम्भार पनि नगरेको र नयाँ थप्ने कुरामा पनि चासो नदिएको बताए । उनले सामान जाँचपास गराउनलाई धेरै समस्या भएकाले बाध्य भएर सामान पठाउन नसकेको बताए ।

उनले सामान पठाइसकेपछि केही समस्या आए को जिम्मेवारी हुन्छ ? भन्दै प्रश्न गरे । उनले सामान निकासीमा विमानस्थलमा पारवहन गोदामको चरम लापरवाही भएको आरोप लगाए । उनले दुई दिनदेखि व्यापारीका सामान ल्याएर थन्क्याएको र मेसिन नहुँदा जाँचपास नभएको भन्दै आइतबारबाट पूरै काम ठप्प पारेको बताए ।

उनले मेसिन नभएसम्म व्यवसायीहरुले कुनैपनि चुनौति लिएर सामानहरु क्लियरिङ र फर्वाडिङ नगर्ने घोषणा गरे । लिमिटेड मर्मतसम्भारका लागि ३० लाख रुपैयाँ पर्ने र नयाँ किन्न पनि बजेट नरहेको भन्दै भाग्ने काम गरिरहेको बताए । उनले तीन निकायहरु पारवहन गोदाम, भन्सार र सिभिल एभिएसन । एकले अर्कोलाई आरोप देखाएर बसिरहेको बताए ।

उनीहरुले व्यापारीहरुले व्यापार गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् । व्यापारको वातावरण नबनाइदिए तालाचाबी दिन आग्रह गर्दै त्यसपछि विदेश वा घर जाने भन्ने बारेमा निर्णय लिने चेतावनी दिए ।

यस्तो छ व्यवसायीको भनाइः

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा जुन सामान निकासी जाँचपासको क्रममा यो एक्सरे मिसिन जुन स्क्यानिङ गरिन्छ, सामान जाँच पास गर्दा । त्यो बिग्रिएको आज डेढ महिना भयो । यो नेपाल पारवहन तथा गोदाम लिमिटेडले यसको यसलाई सञ्चालन गर्दै आएको छ ।

यो आज डेढ महिना बितिसक्दा पनि यसको मर्मतसम्भार नयाँ थप्ने यावत कुराहरु नगरेको हुँदा हामीलाई सामान जाँचपास गराउनलाई धेरै नै समस्या भयो । त्यसले गर्दा हामीलाई यहाँ सेन्सेटिभ ठाउँ हो । यहाँबाट क्लियर भएको सामान जहाजमा जान्छ । भोलि तलमाथि भए यसको जिम्मेवारी को हो ? यो पारवहन गोदामको चरम लापरवाहीको आज पराकाष्ठा यहाँ देखिहाल्नु भयो ।

हामीले दुई दिनदेखि व्यापारीका सामान ल्याएर थन्क्याएको छ । जाँचपास भएको छैन । हामीले काम गर्ने अवस्था सिर्जना भएको छैन । सरकारले लगानी सम्मेलन भनेर ढोंग पिटिरहेको छ, व्यवसायीहरुको हालत र सामानको हालत यो छ । कुनैपनि सामान हाम्रो रिस्कमा हामी क्लियरिङ नगर्ने, फर्वाडिङ पनि नगर्ने भनेर यो मिसिन जबसम्म बन्दैन, तबसम्म ।

उहाँहरुलाई पटक पटक यो मिसिन बनाउ, इन्टरनेशनल एयरपोर्ट हो, यहाँ सबैको आँखा जान्छ, हाम्रो सुरक्षा थ्रेटमा ठूलो चुनौति छ भन्दा ३० लाख पर्छ, हामीसँग बजेट छैन, हामी मर्मतसम्भार गर्न सम्भव छैन, नयाँ हाल्न पनि सम्भव छैन भनेर तर्किनुभएको छ । पारवहन गोदाम, भन्सार र सिभिल एभिएसन तीन वटा निकाय तीन तिर भएको छ । एकले अर्कोलाई आरोप देखाएर बसेका छन् । सामान निकासी गर्न नसक्ने भन्दै हामीले हिजोबाट काम बन्द गरेका छाैं ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर