ग्याङस्टरको निरन्तर निशानामा सलमान खान, घर बाहिर कसले चलायो गोली ? – Nepal Press

ग्याङस्टरको निरन्तर निशानामा सलमान खान, घर बाहिर कसले चलायो गोली ?

सलमानलाई अनमोल बिस्नोइको धम्की- अर्को पटक गोली खाली घर र पर्खालमा चल्दैन

काठमाडौं । भारतीय अभिनेता सलमान खानको बान्द्रास्थित निवास बाहिर आइतबार बिहानै गोली चल्यो । गोली चल्दा उनी घरभित्रै थिए र सुरक्षित रहे । तर, यो घटनाले सलमानमाथिको सेक्युरिटी थ्रेटलाई अझै गाढा बनाएको छ ।

मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले बिहान करिब ५ बजेतिर सलमानको गेट बाहिर ५ राउन्ड गोली चलाएका थिए । यो घटनालाई लिएर मुम्बई प्रहरीमा एफआईआर दर्ता भएको छ र प्रहरीले अनुसन्धान सुरु गरेको छ । खानको घरको पर्खालमा गोलीका डोबहरु भेटिएका छन् । घटनाको दृश्य सीसीटीभी फुटेजमा कैद भएको छ, जसमा हेलमेट लगाएका व्यक्तिहरुले हवाई फायर गरेको देखिन्छ ।

ग्याङस्टर लरेन्स बिस्नोइका भाइ अनमोल बिस्नोइले यो गोली प्रहारको जिम्मेवारी लिएका छन् । यसअघि पञ्जाबी गायक सिद्धु मुसवालाको हत्यामा ‘वान्टेड’ रहेका विस्नोइले आजको फायरिङ सलमानमाथिको पहिलो र अन्तिम चेतावनी भएको बताएका छन् ।

‘अब आइन्दा गोली खाली घर र पर्खालमा लाग्दैन’, उनले अभिनेतालाई धम्क्याउँदै फेसबुकमा लेखेका छन् । प्रहरीको फरार सूचीमा रहेका अनमोल अहिले क्यानडामा लुकिरहेको अनुमान छ । मुम्बई प्रहरीले उनको फेसबुक पोस्टमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

यो घटनापछि सलमान र उनको परिवार त्रासमा छ । सरकार र प्रहरीले आफूहरुलाई सुरक्षा दिन्छ भनेर उनीहरु आश्वस्त छैनन् । बरु प्रहरीले नै आक्रमणकारीलाई संरक्षण दिइरहेको आशंका खान परिवारमा छ । भारतको मोदी सरकार बलिउडका खान हिरोहरुप्रति सकारात्मक छैन ।

यसअघि सन् २०२३ को मार्चमा सलमानका म्यानेजरलाई धम्कीयुक्त इमेल आएको थियो । उक्त इमेलपछि जेलमा रहेका ग्याङस्टर बिस्नोइ, क्यानडा बस्ने बिस्नोइका सहयोगी गोल्डी ब्रार तथा मोहित गार्ग नामका व्यक्तिविरुद्ध एफआईआर दर्ता गरिएको थियो । उक्त इमेलमा तिहार जेलमा रहेका बिस्नाइले सलमानलाई ज्यान मार्ने धम्की दिएको एउटा अन्तर्वार्तालाई उद्धृत गरिएको थियो ।

मोहितको आईडीबाट आएको इमलमा ब्रारले सलमानसँग कुरा गर्न चाहेको उल्लेख थियो । रवि बिस्नोइको धम्कीपूर्ण अन्तर्वार्तालाई उल्लेख गर्दै इमेलमा यदि अभिनेताले यो विषयलाई बन्द गर्न चाहेको खण्डमा ब्रारलाई फेस टु फेस भेट्न सुझाव दिइएको थियो । यतिमात्रै होइन, यो इमेल यदि प्रहरीलाई दिएको खण्डमा अर्को चोटि परिणाम भोग्नुपर्ने चेतावनी पनि दिइएको थियो ।

सन् २०२२ जूनमा सलमानका बाबु सलिम खानले मर्निङ वाक गर्ने बान्द्रा ब्यान्डस्ट्यान्डको एक स्थानमा एउटा धम्कीले भरिएको पत्र भेटियो । उक्त पत्रमा सलमानले हत्या गरिएका गायक सिद्धु मुसेवालाकै जस्तो नियति भोग्नुपर्ने उल्लेख थियो । बिस्नोइका ग्याङस्टरले सन् २०२२ मेमा मुसेवालाको हत्या गरेको थियो । उक्त पत्रलाई लिएर पनि सलमानको तर्फबाट एफआईआर दर्ता गरिएको थियो ।

यसका अतिरिक्त पञ्जाब प्रहरीको सोधपुछका क्रममा बिस्नोइ गिरोहका एक सदस्यले सलमानको जासुसी गर्न दुई व्यक्तिहरु खटाइएको बताएका थिए ।

सलमान र बिस्नोइ ग्याङको दुश्मनी

सलमान खान र बिस्नोइ ग्याङको पुरानो दुश्मनी छ । सन् १९९८ मा सलमानमाथि ‘हम साथ साथ है’ फिल्मको सुटिङका क्रममा राजस्थानमा कालो हरिणको अवैध शिकार गरेको आरोप लाग्यो । कालो हरिणलाई बिस्नोइ समुदायले पवित्र मानेर पूजा गर्छ । त्यही घटनाले गर्दा बिस्नोइ समुदाय सलमानसँग क्रुद्ध बनेको बताइएको छ । तर, कतिपयले चाहिँ हाइ प्रोफाइल व्यक्तिहरुलाई टार्गेट बनाएर समाचारमा छाइरहने बिस्नोइ ग्याङको रणनीति रहेको बताउँछ ।

३१ वर्षीय लरेन्स बिस्नोइ पञ्जाबका ग्याङस्टर हुन् । उनीमाथि थुप्रै हत्या र असुलीको आरोप छ । मुसेवालाको हत्यापछि उनको नाम चर्चामा आएको हो । उक्त हत्याको जिम्मेवार ब्रारले लिएका थिए । आफूले बिस्नोइसँग मिलेर हत्याको योजना बनाएको उनले बयान दिएका थिए ।

सलमानले प्रहरीबाट पाएको सुरक्षा

सलमानमाथि धम्की बढेपछि मुम्बई प्रहरीले सन् २०२२ को अगष्टमा उनलाई आत्मरक्षाका लागि बन्दुकको लाइसेन्स दिएको छ । सोही वर्षको नोभेम्बरमा महाराष्ट्र सरकारले उनको सुरक्षास्तर एक्सबाट वाई प्लस क्याटेगोरीमा स्तरोन्नति गरेको थियो ।

एक्स क्याटेगोरीमा एक जना बन्दुकधारी बडिगार्ड दिइएको हुन्छ भने वाईमा दुई जना हुन्छन् । वाई प्लसमा दुई प्रहरी मोबाइल सेक्युरिटीका लागि तथा थप एक जना निवासको सुरक्षामा खटाइन्छ । तर, यति कडा सुरक्षाले पनि सलमानमाथि थ्रेट कम भएको छैन ।

आजको गोलीकाण्डपछि सलमान आफ्नो परिवारसँगै छन् । सलमानको निवास बाहिर सुरक्षा कडा बनाइएको छ । उनका पिता सलिम भने आफ्नो नियमित रुटिनअनुसार वाकका लागि घर बाहिर निस्किएका थिए ।

गोली चलेको विषयमा सलमानको कुनै प्रतिक्रिया आएको छैन । तर, सलिमले चाहिँ हल्का टिप्पणी गरेका छन् ।

उनले पत्रकारलाई भने, ‘उनीहरुले पब्लिसिटीका लागिमात्रै यो सब गरिरहेका छन् । हामीले चिन्ता लिनुपर्ने कुनै कारण छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *