मेयर भरत थापामाथि भ्रष्टाचार मुद्दा लागेपछि दीपेन्द्र के खनाललाई नैतिक संकट, के हुन्छ उनको बायोपिक ? – Nepal Press

मेयर भरत थापामाथि भ्रष्टाचार मुद्दा लागेपछि दीपेन्द्र के खनाललाई नैतिक संकट, के हुन्छ उनको बायोपिक ?

काठमाडौं । दीपेन्द्र के खनालले निर्देशन गरेको बायोपिक चलचित्र ‘मेयर’ को धमाधम छायांकन भइरहेको छ । तर, जोमाथि बायोपिक बनेको हो, उही व्यक्ति भ्रष्टाचारका अभियुक्त बनेका छन् ।

खनालले सुरुमा बायोपिक चलचित्र ‘मेयर’ को घोषणा गर्दा धेरैले काठमाडौंका मेयर बालेन्द्र शाहमाथि बन्न लागेको अड्कल काटेका थिए । तर, यो चलचित्र बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनमाथि आधारित थियो, जुन खनालले सार्वजनिक रुपमै स्वीकारिसकेका छन् ।

मेयर थापाले आफ्नै नामबाट सञ्चालनमा ल्याएको ‘भरत ताल’ अहिले तराईकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । योबाहेक बायोपिक नै बनाउनुपर्ने गरी उनको ठोस योगदान देखिएको छैन । प्रतिष्ठित निर्देशक खनाल के कति कारणले उनीमाथि चलचित्र बनाउन तम्सिएका हुन् भन्ने पनि खुलेको छैन ।

आज मेयर थापाविरुद्ध अकुत सम्पत्ति आर्जनमा अख्तियारले मुद्दा दायर गरेपछि यो चलचित्रका मेकरलाई ठूलै झट्का लागेको हुनुपर्छ । अख्तियारले थापालाई ५ करोड ३३ लाख ५३ हजार १८१ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा हालेको हो ।

यो मुद्दाले थापाको छवि एकाएक धुमिल बनेको छ । अब निर्देशक खनालमाथि नैतिक संकट पर्नेछ । उनले चलचित्रलाई निरन्तरता दिन्छन् कि फैसला नआउञ्जेल थाँती राख्छन् भन्ने चासोको विषय हो । यस विषयमा जिज्ञासा राख्न खनाललाई पटक पटक सम्पर्क प्रयास गर्दा उनको फोन उठेन ।

मेयर चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेले भरत थापाको मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रमा वर्षा राउत, ऋचा शर्मा, हरिहर शर्मा, अनुप बराल, रवीन्द्र झा, सञ्जोग रसाइलीलगायतले अभिनय गरेका छन् । चलचित्रको छायाँकन अहिले सर्लाहीमै भइरहेको छ ।

मेयर थापा माओवादीबाट निर्वाचित भएका हुन् । उनी गत स्थानीय चुनावमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।


प्रतिक्रिया

One thought on “मेयर भरत थापामाथि भ्रष्टाचार मुद्दा लागेपछि दीपेन्द्र के खनाललाई नैतिक संकट, के हुन्छ उनको बायोपिक ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *