शैक्षिक कार्यक्रम विकास गर्न खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच सम्झौता – Nepal Press

शैक्षिक कार्यक्रम विकास गर्न खेलकुद मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । खेलकुदसम्बन्धी शैक्षिक कार्यक्रमको विकास गर्ने लक्ष्यसहित युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा आज मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

मन्त्रालयको तर्फबाट निमित्त सचिव शिवप्रसाद रेग्मी र विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा. भोला थापाले हस्ताक्षर गरेका छन् ।

भविष्यमा खेलकुद विज्ञान, व्यवस्थापन र शिक्षालाई सँगसँगै लैजान साझेदारी गर्ने उद्देश्यसहित सम्झौतामा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ । सम्झौतामा मुख्य गरी विश्वविद्यालयमा खेलकुद सम्बद्ध अध्ययन तथा अध्यापनका लागि छोटो अवधिको कोर्स सँगै स्नातक, स्नातकोत्तर र विद्यावारिधिका निम्ति सम्भाव्यताको खोजी गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं विश्वविद्यालयसँग मिलेर रोप्ने खेल शिक्षाको बीउले कुनै दिन देशले गर्व गर्ने गरेर फल दिने विश्वास व्यक्त गरे ।

उपकुलपति थापाले खेलकुद विषयलाई आधुनिक उच्च सोचको पाटो बनाउन र यसमार्फत सम्रग व्यक्तित्व विकासमा मन्त्रालयसँगको सम्झौता महत्त्वपूर्ण हुने बताए ।

सम्झौताले शैक्षिक संस्थाहरुमा खेलकुद सम्बद्ध परियोजनाहरूको विकास गर्ने र खेलकुद क्षेत्रमा अनुसन्धान वृद्धि गर्ने र अन्य अवसरको खोजी गर्ने उद्देश्य बोकेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *