भारतका ब्रेन मास्टर सिन्हाले जिते अन्तर्राष्ट्रिय बुद्धिचालको उपाधि – Nepal Press

भारतका ब्रेन मास्टर सिन्हाले जिते अन्तर्राष्ट्रिय बुद्धिचालको उपाधि

रुपन्देही । अंग्रेज सेनालाई जितगढी किल्लामा पराजित गर्ने कर्णेल उजिर सिंह थापाको स्मृतिमा पाँच दिने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।

बुटवल उपमहानगरपालिका बेलबासमा सम्पन्न क्लासिकल चेस खेलमा ८ अंक जोड्दै भारतीय १९६८ रेटेड खेलाडी सुधिरकुमार सिन्हा प्रथम भएका छन् ।

सिन्हाले पूरा खेल अपराजित रहँदै आकर्षक ट्रफिसहित नगद २ लाख १ हजार प्राप्त गरेका छन् । यससँगै सो प्रतियोगिताको अन्तिम समयसम्म पहिलो स्थान ओगटिरहेका रुपेश जैसवाल दोश्रो स्थानमा चित्त बुझाउन बाध्य बनेका छन् । रुपेशले ८ अंकमै रहेर पनि अपराजित रहँदै नगद पुरस्कार १ लाख १० हजार प्राप्त गरेका छन् ।

प्रतियोगिता संयोजक माधवप्रसाद प्रधानका अनुसार डाइरेक्ट इन्काउण्टर, प्रोग्रेसिभका आधारमा खेलाइएको प्रतिस्पर्धामा रुपेशले आफ्नै नेपाली खेलाडीहरुको नतिजावाट प्रभावित हुनुपरेको छ ।

सुधिरसँग दोश्रो वोर्डमा खेलिरहेका कृष्ण थापाले बराबरी खेले मात्र पनि रुपेशले उपाधि जित्ने पक्कापक्की थियो । उक्त खेलमा कृष्ण थापाले कालो गोटीवाट सिसिलियन डिफेन्स क्लोज भारियसनवाट सुधिरलाई जवाफ दिएका थिए ।

दशौं चालमा अनुभवी कृष्णको पाउन आइसोलेट हुन पुगे । २९ औं चालमा दुई पाउन डाउन भए पनि एण्टी बिसपका कारण खेल अनिवार्य बराबरमा देखिन्थ्यो ।

तर ३३ औं चालमा आएर कृष्णले जानी अञ्जानी आर सि सेभेन चाल्न पुगे जसको तुरुन्त फाइदा लिँदै सुधिरले बिसप डि फाइभ चाल्दै रुक एक्सचेञ्ज लिन सफल भए र कृष्णले पराजित आत्मसाथ गरे ।

उता तेस्रो वोर्ड सजिन महर्जन र सुरज महर्जनबीच घमासान चलिरहेको थियो । सजिनले जिते रुपेशको पहिलो हुने आश थियो । सेतो गोटिवाट इफो डि सिक्स, डिफो नाइट एफ सिक्स, नाइट सि सिक्स सिसिक्स खेल प्रारम्भ भएको थियो ।

सजिनले २१ औं चालमा प्रोटेक्सनमा रहेको इफो पाउन इफाइभमा सित्तै बलिदान दिए र बराबरी नै देखिने खेलको २३ औं चालमा परित्याग गरे । उनी आफू जिते तेश्रो हुने थियो । तर भाग्यमानी सुरज महर्जन एकल ७.५ अंक जोडेर तेश्रो स्थानमा उभिदै नगद ६० हजार हात पार्न सफल बने ।

प्रतियोगितामा नेपालका तिर्थ बिकले चौथो स्थान हासिल गरी ४० हजार र भारतका रिशव निशादले पाँचौ स्थान रु. ३० हजार पुरस्कार जितेका छन् । छैटौं देखि दशौं स्थानसम्मका राघव श्रीवास्तव, कृष्ण थापा, सजिन महर्जन, प्रखर त्रिपाठी र विपुल शुभमषी प्रत्येकले २०/२० हजार प्राप्त गरेका छन् ।

त्यसैगरी एघारौंदेखि पन्ध्रौंसम्मका वृष्टि मुखर्जी, मिथिलेष श्रीवास्तव, आशिष फूँयाल, विनायक र पुरुषोत्तम चौलागाईं प्रत्येकले १५/१५ हजार नगद प्राप्त गरेका छन् । एवं सोह्रदेखि बिसौ स्थानमा एम.डि.जमाल उद्दिन, आशुतोष, दिलिप त्रिपाठी, रोशन कुमार र संजय काफ्ले प्रत्येकले १३/१३ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

मंगलबार भएको पुरस्कार वितरण एवं समापन समारोहका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका मेयरले खेलराज पाण्डेले ७१ जना खेलाडीहरुलाई १० लाख १ हजार नगद पुरस्कारवाट सम्मान गरेका छन् ।

पाण्डेले कर्णेल उजिर सिंहको नाममा हरेक वर्ष प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । कार्यक्रमका संयोजक माधवप्रसाद प्रधानले अन्तर्राष्ट्रिय आर्विटरसहित सिनियर राष्ट्रिय आर्विटरहरुलाई सम्मान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *