‘बद्री बहादुर’ ले पानी भन्न नपाएपछि जयकिसनलाई प्रश्न- सन्न्यास घोषणा कहिले गर्नुहुन्छ ? – Nepal Press

‘बद्री बहादुर’ ले पानी भन्न नपाएपछि जयकिसनलाई प्रश्न- सन्न्यास घोषणा कहिले गर्नुहुन्छ ?

जयकिसनको जवाफ- फिल्म नचले सन्न्यास लिन्छु भनेको थिएँ, ९० वटा हलमा चल्यो त

काठमाडौं । युट्यूबमा भाइरल अभिनेता जयकिसन बस्नेतले आफ्नो पछिल्लो फिल्म ‘बद्री बहादुर’ रिलिजपूर्व घोषणा गरे– यो फिल्म राम्रो चलेन भने म कलाकारिताबाटै सन्न्यास लिन्छु । उनको मुख्य भूमिका रहेको यो फिल्म तीन दिनमै फ्लप भएको छ ।

शुक्रबार रिलिज भएको फिल्मले न उल्लेख्य शो पायो, न दर्शक नै तान्न सक्यो । ‘धेरै हाँस्न नसक्ने दर्शकले नहेर्नुहोला’ भन्ने फण्डा पनि काम लागेन । चार दिनमा फिल्मले कति व्यापार गर्यो भन्ने निर्माण पक्षले सार्वजनिक गरेको छैन । हलहरुमा प्रदीप भट्टराई निर्देशत ‘महाजात्रा’ को ‘महायात्रा’ जारी रहँदा बद्रीबहादुले पानी भन्न पाएन ।

फिल्म नचलेपछि धेरै दर्शकलाई कौतुहल होला, के अब जयकिसनले कलाकारिताबाट सन्न्यास लिन्छन् ? यही प्रश्न हामीले उनलाई सोध्यौं-

फिल्म त फ्लप भयो, सन्न्यास घोषणा कहिले गर्नुहुन्छ ?

जयकिसनले फिल्मले गतिलो व्यापार गर्न नसकेको स्वीकार गरे । तर, सन्न्यास नलिने बताए । बरु आफ्नो अघिल्लो घोषणालाई यसरी ट्वीस्ट गरे, ‘मैले फिल्म चलेन भने सन्न्यास लिन्छु भनेको थिएँ । फिल्म त चल्यो नि । ९० वटा हलहरुमा एकैपटक चल्यो । अब किन सन्न्यास लिनु ?’

भनेपछि तपाईंले सबैलाई मुर्ख बनाउनुभएको हो ?

त्यस्तो पनि होइन । खासमा पूरा भिडिओ कसैले पनि हेरेको छैन । सानो क्लीप काटेर भाइरल बनाइयो । पत्रकार सम्मेलनमा मलाई पत्रकारले नै तपाईंजस्तो मान्छेले फिल्म चलाउन एउटा फण्डा निकाल्नुपर्यो भनेर सुझाव दिएका थिए । एउटा कडा बाइट चाहियो भनेपछि मैले सोधेँ, ‘त्यसो भए यसो भनौं त ।’ उनीहरुले ठीक हुन्छ भनेर हौस्याए । त्यसपछि मैले पनि भनिदिएँ । ‘सन्न्यास लिन्छु’ भनेपछि हाँसेको थिएँ । तर, हाँसेको चाहिँ काटेछन् ।

फिल्मले खासमा कति व्यापार गर्यो भन्न मिल्छ ?

त्यो त मलाई कसरी थाहा हुन्छ । निर्मातासँग सोध्नुस् । म त कलाकार मात्र हो । खासै चलेन भन्ने सुनेको छु ।

तपाईंको मुख्य भूमिका हुँदा पनि दर्शक किन हलसम्म तानिएनन् होला ?

म को हो र ? अनमोल केसी हो र ? मैले मात्रै कसरी फिल्म चलाउन सक्छु ?

तपाईंलाई सामाजिक सञ्जालको अनमोल केसी नै भन्छन् नि धेरैले ?

युट्यूबको क्रेज आफ्नो ठाउँमा छ । तर, यो ५ वर्ष पहिले बनाएको फिल्म हो । चलेन त चलेन । मैले के गर्न सक्छु ।

तपाईंले सन्न्यास लिन्छु भनेपछि सामाजिक सञ्जालमा त धेरैले खुशी व्यक्त गरेको देखियो । जयकिसनले सन्न्यास लिएकै राम्रो भन्ने खालका कमेन्ट धेरै आएका थिए । तपाईंप्रति किन यसरी वितृष्णा बढेको होला ?

त्यो सबै परिचालित कमेन्टहरु हुन् । तपाईंलाई थाहा छ कि छैन १ हजार रुपैयाँमा तीन सय कमेन्ट किन्न पाईंँदो रहेछ । केही मान्छेहरुले मेरोविरुद्ध कमेन्ट लेख्नकै लागि पैसा खर्च गरिरहेको सूचना पाएको छु । तीन जना त समातिसकेँ । अफिसमा ल्याएर बाघेजापु हानेपछि आफैंले सबै ओकलिहाले नि ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *