विदेशी आर्थिक गुप्तचरले पत्ता लगाएका थिए- हेलो टेलिकममा ‘प्रचण्डको शेयर’ – Nepal Press
कुकुल्याण्ड किताब

विदेशी आर्थिक गुप्तचरले पत्ता लगाएका थिए- हेलो टेलिकममा ‘प्रचण्डको शेयर’

टेलिया सोनेरा नेतृत्वको दुई भेट प्रचण्डसँग, सामान्य देखाउन विपक्षी दलका नेतासँग भेट

काठमाडौं । देखाइएको हुन्छ एक चिज, वास्तविकता हुन्छ अर्कै । हुन्छ एक थोक, भएको देखिन्छ अर्को । हो, यसै अवस्थालाई बुझाउने अंग्रेजी शब्द छ ‘कुकुल्याण्ड’ । यो शब्दले अहिले पुस्तकाकार ग्रहण गरेको छ । बेलायती पत्रकार टम बर्गिसले यसको लेखन गरेका छन् ।

टम कालो धन मामिलामा खोज पत्रकार तथा विश्वविख्यात खोजमूलक लेखक हुन् । उनले लेखेको किताब ‘क्लिप्टोपिया’ बहुचर्चित छ । यो किताब कालो धनले दुनियाँलाई शासन गरिरहेको बारेमा छ । उनको दोस्रो किताब ‘दि लुटिङ मसिन’ हो । यो किताब चैँ अफ्रिकाको धनदौलतमा मोजमस्ती गर्ने खलनायकहरुको बारेमा छ ।

यिनै लेखकले हालसालै बजारमा ल्याएको किताब हो कुकुल्याण्ड । कुकुल्याण्डमा उनले दिएको ट्याग लाइन ‘जहाँ धनीले सत्य किन्छन्’ भन्नेछ । धनीले सत्य किन्ने कुकुल्याण्डको सवालको कथामा रुस, कजाकिस्तान, उज्बेकिस्तानदेखि नेपालसम्मको टेलिकम लगानीको लहरो छ ।

महोमद आमेर्सी नामका बेलायतका टेलिकम साहुले कसरी विश्वभरका राजनीतिक सत्ता र शक्तिमा भएकाहरुले पैसा लगाएर मनग्य कमाए भन्ने लहरो तान्ने सवालमा किताब लेखिएको सहजै अनुमान गर्न सकिन्छ । यो किताबको तारिफ धेरै अब्बल आएका छन् ।

‘यदि अर्वेल जीवित हुन्थे भने यस खालका किताबहरु लेख्ने थिए’ भनेर प्याट्रिक र्‍याडेन किफले तारिफ गरेका छन् । बेन जुडाले लेखक टम बर्गिसलाई एक पुस्ताको एक पत्रकार भनेका छन् । कुकुल्याण्ड पुस्तकलाई चैँ दशकको पुस्तक भनेका छन् ।

३०७ पेजको किताबले विश्वमा चर्चा पाएको छ । युरोप र एसियाली क्षेत्रमा अझ चर्चा पाएको छ । १७ अध्यायको किताबमा अध्याय ७ नेपालको बारेमा छ । पेज ७९ देखि १०६ सम्म नेपालको लागि अलग व्याख्या गरिएको छ । जहाँ टेलियासोनेरा अर्थात एनसेल, हेलो नेपाल, ज्ञानेन्द्रका ज्वाइँ, प्रचण्ड, व्यापारी अजय सुमार्गी र यी अनुहारमा जोडिएको टेलिकम लगानीको राजनीतिक तथा आर्थिक लहरोको मुद्दा कोट्याइएको छ ।

सुमार्गीः ज्ञानेन्द्रका ज्वाइँका अपुताली व्यवस्थापन सहयोगीदेखि प्रचण्डका आर्थिक सहयोगी

चुनढुंगा उद्योगी सुमार्गीका पिताको मोटरसाइकल दुर्घटनामा ज्यान गएपछि अजय सुमार्गीको परिवारलाई आर्थिक तनाव हुन्छ । खान लगाउनकै दुःख नभए पनि राम्रो आर्थिक हैसियत भने नभएको टमले लेखेका छन् । तर, सुमार्गीले पछि धेरै राम्रो सम्पत्ति कमाए ।

‘सुमार्गीले धन कसरी कमाए ?’ पुस्तकमा टमले सोध्छन् । र, आफैं उत्तर दिन्छन्, ‘धनी भेटाएर ।’ पुस्तकको पेज ८३ मा यस्तो भनिएको छ । सोही पेजमा हेटौंडाका सुमार्गीले तत्कालीन राजा ज्ञानेन्द्रका ज्वाइँलाई साथी बनाएर मृतक वीरेन्द्र परिवारको जायजेथा उनका परिवारका बाँकी जीवितलाई पठाएर काम सुरु गरेको बताइएको छ । त्यही साइनोले ज्ञानेन्द्रका ज्वाइँले पाएको टेलिकमको इजाजत र सुमार्गी प्रतिनिधि भएको लेखिएको छ ।

माओवादीसँग सुमार्गीको सम्बन्ध उत्तिकै भएको र सत्तामा आएपछि त्यो देखिने गरी भएको लेखले उल्लेख गरेका छन् । माओवादीबारेमा पुस्तकको पेज ८३ मा भनिएको छ, ‘माओवादी सत्तामा आएदेखि गरिबी निवारणमा लागे, पहिलो गरिबी निवारण आफ्नैकाे गरे ।’

युद्धमा बैंक लुटिएको कुरा, माओवादीका भएका र कृत्रिम दुवै लडाकुलाई मासिक रकम दिइएको भूपू लडाकुलाई दिइएको रकमबाट पनि तानतुन पारेको कुरा ल्याउँदै माओवादीसँग विशाल ‘ब्लाङ्क क्यास’ भएको बताइएको छ । माओवादीको त्यही क्यास प्रयोगमा सुमार्गी राम्रा पात्र भएको र प्रचण्ड र सुमार्गी सम्बन्ध रक्सीबाट भएको भन्दै पेज ८५ मा लेखिएको छ, ‘प्रचण्डलाई ह्विस्की मनपर्ने, सुमार्गीबाट त्यसको खोलो बग्ने ।’

सन् २००६ सम्म ज्ञानेन्द्रका ज्वाइँसँग सम्बन्धमा रहेका सुमार्गी सन् २००९ बाट प्रचण्डसँग भएको पेज ८६ मा भनिएको छ । प्रचण्डको सबैभन्दा निकटहरुका पनि निकट सुमार्गी भएको कुरा पेज ९७ मा भनिएको छ ।

विदेशी गुप्तचरले सुमार्गी चिन्यो, प्रचण्डको शेयर हेलो नेपालमा भएको नतिजा पायो

टेलिया सोनेराले नेपालमा लगानी गर्नुभन्दा अगाडि नेपालमा पश्चिमा देशका आर्थिक गुप्तचरहरु पठाएको किताबमा लेखिएको छ । किताबको पेज ८४ मा सोही गुप्तचर प्रतिवेदनले नेपाली साझेदार बनाउन सुमार्गी योग्य हुने औंल्याएको छ । किनभने उनको राम्रो राजनीतिक पहुँच भएको लेखकले लेखेका छन् । उनी प्रचण्ड र माओवादीमाथि अवैध धनदौलत खन्याउने सुमार्गी थिए भन्दै प्रतिवेदनमा भनिएको छ ।

किताबको पेज ९६ र ९७ कन्ट्रोल रिक्स नामक खोजबिन गर्ने विश्वस्तरीय आर्थिक गुप्तचरी गर्ने संस्थाको आगमन भयो र अनुसन्धानबाट प्रचण्डको हेलो नेपालमा शेयर भएको विश्वास गरेको प्रतिवेदन बनाइएको लेखकले उल्लेख गरेका छन् ।

टेलिया सोनेरालाई सुमार्गीको हेलो नेपाल किन्न प्रचण्डको लबिङ, कैयौं गुणा महँगोमा खरिद

किताबमा प्रचण्डको सुमार्गीको कम्पनीमा शेयर भएकोमात्रै होइन सुमार्गीको लागि प्रचण्डले लबिङ गरेकोसमेत लेखिएको छ । किताबको पेज ८६ मा प्रचण्डले टेलिया सोनेराका लगानीकर्ताहरुलाई नेपालमा चलेका तीनमा एक किन्न र त्यो सुमार्गीको किन्न सुझाएको लेखिएको छ । पेज ८३ मा त सन् २००९ मा प्रचण्डले आफैं फोन गरेर सुमार्गीको मोबाइल नेटवर्कको लबिङ गरेको भनिएको छ । माओवादी सञ्चारमन्त्री हुँदा सुमार्गीले लाइसेन्स पाएको प्रसंग उल्लेख छ किताबमा ।

प्रचण्डको सीधा लबिङ र प्रचण्डसँग सुमार्गीको बलियो साइनो देखेर टेलिया सोनेराले हेलो नेपालमा लगानी गरेको किताबमा उल्लेख छ । हेलो नेपाल सञ्चालन भएको पहिलो एक वर्षमा ८९ हजारमात्रै ग्राहक जोडिए । त्यो बजारको एक प्रतिशतमात्रै जोडिएर हेलो नेपाल ६ करोड डलरभन्दा धेरैको कम्पनी नभएको बताइएको छ । तर, सोही कम्पनीलाई चार गुणा धेरै दिँदै थियो भन्दै पुस्तकको पेज ८७ मा भनिएको छ, ‘किनभने सुमार्गीले दिने कुरा धेरै थिए ।’

टेलिया सोनेराले दिएको रकम भर्जिन आइल्याडमा भएको सुमार्गीको खातामा पुग्यो

टेलिया सोनेराले दिएको सुमार्गीको रकम उनको ब्रिटिस भर्जिन आइल्याण्ड पुगेको बताइएको छ । किताबको पेज ८८ मा सुमार्गीको कम्पनी नकिनेमा एनसेलविरुद्ध सुमार्गी जाने भन्दै तेरो किभिसारी नामका टेलिया सोनेराका युरेसिया प्रमुखले मेल लेखेको बताइएको छ । उनले मेलमा सुमार्गीलाई तत्काल ३ करोड डलर चाहिएको भनेको छ । सोही डलर भर्जिन आइल्याण्डमा पुगेको लेखिएको छ । सुमार्गीले सम्पत्ति थुपारेको भनिएको आइल्याण्डको कुरा कोट्याउँदै पेज ८८ मा केही महिनापछि ४ करोड ४० लाख डलर दिएको भनिएको छ ।

टेलिया सोनेराको उच्च नेतृत्वको प्रचण्ड भेट, सामान्य देखाउन विपक्षी नेता पनि भेटे

सन् २०११ मा टेलिया सोनेराको टोली नेपाल आयो । मुख्य उद्देश्य प्रचण्ड भेट्नु थियो । तर, प्रचण्डमात्रै भेट्दा असामान्य देखिने भएकाले विपक्षी दलका नेता पनि भेटेको पेज ८९ मा उल्लेख छ । पहिलो भेट प्रचण्डको कार्यालयमा सरकारी अधिकारीहरुसँग र दोस्रो भेट चैँ उनको निवासमा भएको बताइएको छ ।

उज्बेकिस्तानमा लगानीकर्ताको भ्रष्टाचार मुद्दामा लफडा भएपछि टेलिया सोनेरा सुमार्गीसँग सम्झौता रद्द गर्ने योजनामा पुग्यो । तर, सुमार्गी आफूले भ्रष्टाचार नगरेको भन्दै लण्डन पुगे । सन् २०१३ जुलाई ३१ मा उनले लण्डन पुगेर आफूसँगको सम्झौता रद्द गरेमा राम्रो नहुने धम्की दिएका थिए । त्यसपछि टेलिया सोनेराले सुमार्गीलाई ६ करोड डलर नाफा हुनेगरी हेलो नेपालको आफ्नो शेयर उनैलाई बिक्री गरेको किताबको पेज १०३ मा उल्लेख छ ।


प्रतिक्रिया

3 thoughts on “विदेशी आर्थिक गुप्तचरले पत्ता लगाएका थिए- हेलो टेलिकममा ‘प्रचण्डको शेयर’

    1. माओबादी हाेईन खाओबादी भ्रष्ट लुटेराहरुका हुल मात्र हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *